छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गलेश्वर: गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो ।

समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा अवस्थित यहाँ वर्षमा पाँच महिना हिउँ हुन्छ । हिमपातको समयमा गाउँ मानव सम्बन्धबाट विच्छेद हुन्छ । एक सय ४२ घरपरिवार बसोबास गर्छन् यहाँ । सदरमुकाम बेनी बजारदेखि करिब दुईदिनको यात्रामा पुगिने गुर्जामा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसर छन् । तर यसको सदुपयोग हुन सकेको छैन । जीविकोपार्जनको एउटै स्रोत भनेको पशुपालन र जडीबुटी हो ।

यहाँ बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायतका जडीबुटी र दुर्लभ मानिएको कार्ज स्टोन (सेतो ढुङ्गो) को खानी रहेको धौलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुहुन्छ । यहाँका जडीबुटीको राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । गुर्जागाउँको प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पर्यटकका आकर्षण हुन् । वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “तर आवश्यक प्रचार गरिदिने माध्यम हामीले पाएनौ । नेताहरु चुनावपछि गाउँ विर्सन्छन । यहाँको विकासमा कसैको चासो छैन ।”

पशुपालन, रातो च्याउ र गोल्डेन स्याउ, टिमुरको व्यावसायिक खेती, पर्यटन र खानी उत्खनन यहाँका बासिन्दाको आयआर्जनको बलियो माध्यम बन्न सक्ने देखिएको छ । भौगोलिक विकटतालाई कारण बनाएर सरोकारवाला निकाय पन्छिने प्रवृत्ति रहेको स्थानीय जसविर विकले बताउनुभयो ।

गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा पहिचानमा आएको पत्थरको खानी आवश्यक उपकरण अभाव, राज्यको अनुमति नहुनु र स्थानीयको उदासीनताले उत्खनन हुन सकेको छैन । सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने यो पत्थरको बजारमा माग छ । गुर्जा गाउँदेखि एक दिनको पैदलयात्रामा पुगिने घुर्मखोला वरपरका पहाडमा रातको समयमा बत्ती बालेझैँ गरी टल्कने यो पत्थर म्याग्दीका लागि भिल्लाका देशमा मणिजस्तै बनेको गुर्जाबाट बेनी आएर बसोबास गरेका डकर्मी डेकबहादुर विकले बताउनुभयो । पत्थर उत्खननलाई स्थानीयस्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएकाले अलपत्र परेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडअध्यक्ष झकप्रसाद छन्त्याल बताउनुहुन्छ ।

गुर्जावासी गाई, भैँसी, भेँडापालन गरी मकै, आलु र जौ उत्पादनबाट छ महिना जीविकोपार्जन गर्छन् । बाँकी समय बेसहाराको भरमा जीवन गुजारा गर्नुपर्ने बाध्यतामा छन् । एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युत्को उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भने गुर्जा उक्लेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जा गाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । जहाँ जे बाली पाक्छ, त्यहीँ नै बसोबास सार्ने परम्परा गुर्जा गाउँमा अझै छ । गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ ।

यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ । देशभित्र र विदेशमा गुर्जालाई ‘हर्बल हब’ भन्न थालिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको ८०० बेर्ना लगाएका थिए । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन् ।

गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको आधारि शिविरको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । शिविरबाटै डोल्पा, गुर्जाबाट धौलागिरि आधार शिविरसम्मपुग्न सकिने भएकाले ‘एडभेन्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?