रैथाने माटोको सुगन्ध बोकेको ‘कोदे’ को चित्तदुखाइ: अर्बौँको आयात र हराउँदै गरेका मेरा भाइ-खलक
म कोदो बोल्दैछु…
मेरो नाम कोदो हो। कतै-कतै मलाई हेपेर ‘कोदे’ पनि भन्दछन्। म हिमाल र पहाड जतासुकै पनि फल्दछु; आजकल तराईमा पनि मलाई फलाउन थालेका छन्, यसमा म निकै खुसी छु। विशेष गरी पहाडी तथा मध्य पहाडी क्षेत्रको कम वर्षा हुने, कमजोर माटो र कठिन भूगोलमा पनि म राम्रोसँग हुर्कन र फल्न सक्छु।
स्वास्थ्यका लागि म एक अचुक औषधि
म मानिस र पशु दुवैको स्वास्थ्यका लागि अचुक औषधि नै हुँ। मभित्र कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, फलाम, म्याग्नेसियम र भिटामिन ‘बी’ प्रशस्त मात्रामा पाइन्छ। विशेष गरी क्याल्सियमको मात्रा अन्य अन्नमा भन्दा धेरै हुने भएकाले म हड्डी मजबुत बनाउन मद्दत गर्दछु। त्यति मात्र होइन, म मधुमेह नियन्त्रण गर्न, पाचन प्रणाली सुधार्न, मुटुको स्वास्थ्य राम्रो राख्न, तौल नियन्त्रण गर्न र शरीरलाई ऊर्जा दिन पनि उत्तिकै उपयोगी छु।
मेरो चित्त दुखाइ र अपमानको कथा
कहिलेकाहीँ मलाई निकै चित्त पनि दुख्छ। यी मानिसहरूलाई यति धेरै फाइदा दिएको छु, तर पनि मलाई हेप्छन्। ‘ढिँडे’, ‘कोदे’, ‘लिँडे’ जस्ता शब्द प्रयोग गरेर मेरो अपमान गर्छन्। “तेरो बास गरिबको घरमा मात्र होस्” भन्थे। पहिला हामी धेरै भाइहरू सँगै मिलेर रमाउँदै बस्ने गर्थ्यौँ, तर अहिले हाम्रो वंश नै नास हुने अवस्थामा पुगेको छ। मेरा सहोदर भाइहरू सेतो कोदो, धान कोदो र घोंगे कोदोहरू अचेल लगभग हराइसके। आजकल त कुल पूजामा समेत उनीहरूसँग भेट हुन गाह्रो भइसक्यो।
मैले सुनेको छु – नेपालमा वर्षको अर्बौँ रुपैयाँभन्दा बढीको कोदो विदेशबाट किनेर ल्याइन्छ रे ! जबकि म जस्तोसुकै ठाउँमा पनि हुर्कन सक्छु। मलाई न विषादी चाहिन्छ, न रासायनिक मल नै मन पर्छ। म थोरै पानी र सामान्य मेहनतमा पनि खुसी हुन्छु।
पशु आहारमा मेरो महत्त्व
म मात्र होइन, मेरो शरीर (नाल/पराल) पनि पशुका लागि उत्तिकै लाभदायक छ। दुधालु गाई, भैँसी र बाख्राका लागि त म झनै उत्तम आहारा हुँ। मेरो सेवनले दूधको मात्रा र गुणस्तर बढाउन मद्दत गर्दछ।
फेरिँदै गरेको परिवेश
पहिले-पहिले मानिसहरूले लुकेर मलाई खान्थे तर बाहिर भन्दा “भात खाएँ” भनेर ढाँट्थे। मानिसहरूको यो ‘स्वाँठ’ स्वभाव मलाई मन पर्दैनथ्यो। तर आजकल यो बानी फेरिएको देख्दा खुसी लाग्छ। अचेल पाँचतारे होटलहरूमा पनि मानिसहरू गर्वका साथ “ढिँडो खाएँ” भनेर फूर्ति लगाउन थालेका छन्।
धनीहरूको घरमा बास पाउन थालेकोमा खुसी त छु, तर कता-कता दुःख पनि लाग्छ। जुन वर्गमा म जन्मेँ र हुर्किएँ, उनीहरू अहिले भाततिर लागेको देख्दा नमीठो लाग्छ। पुस्तौँदेखि मैले उनीहरूको सेवा गरेकै थिएँ नि।
शहरका ठूला घर र होटलमा मलाई पकाउँदा, विशेष गरी प्रेसर कुकरमा सिट्टी लगाउँदा भने मलाई हाँसो उठ्छ। काठको दाबिलोले किट वा फलामको कराहीमा मजाले पकाएको भए म बढी खुसी हुन्थेँ; सायद अहिलेकालाई त्यो सीप नै छैन।
आधुनिक परिकार र मेरो गौरव
आजकाल मबाट ढिँडो र रक्सी मात्र होइन, धेरै किसिमका आधुनिक परिकारहरू बन्न थालेका छन्। कुकिज, बिस्कुट, पाउरोटी, सुप, मम र सातु अब त मलाई नै थाहा छैन, मानिसहरूले के-के बनाएर खान्छन्!
पहिले गरिबको घरमा मात्र सीमित रहने म, आज धनी-गरिब, ब्राह्मण-जनजाति, हिमाल-तराई-पहाड र गाउँ-शहर सबैको भान्छामा सहजै छिर्न पाउँदा गर्व महसुस गर्दछु।
अन्त्यमा मेरो बिन्ती:
हाम्रा सन्तति र भाइखलकलाई जोगाउनुहोस्, हामी पनि तपाईंका सन्तति जोगाउने काममा सधैँ सहयोग गर्नेछौँ।
(लामो समयदेखि नेपाली माटो र मौलिक जीवनशैलीको उत्थानमा लाग्नुभएका तिलक ढकालज्यूको यो प्रस्तुतिले हराउँदै गएका कोदोका प्रजातिहरू जोगाउन र परनिर्भरता घटाउन हामी सबैलाई झकझक्याएको छ। )
