सुन्तला उत्पादनमा वृद्धि

चितवन, चितवनमा यस वर्ष सुन्तला राम्रो फलेपछि उत्पादन वृद्धि हुने भन्दै यहाँका किसान उत्साहित भएका छन् ।
विगतका दुई वर्षसम्म बोट सुक्ने, टुप्पा सुक्ने, दाना चाउरिने समस्याले सुन्तलाको उत्पादन सन्तोषजनक नभएकोमा यस वर्ष यो समस्या कम भएपछि उत्पादन वृद्धि हुने भएको हो । चितवनको पहाडी क्षेत्रमा राम्रो सुन्तला फल्ने गरेको छ ।

इच्छाकामना गाउँपालिकाको विभिन्न क्षेत्रमा गरी २३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र चितवन मकवानपुरका वागवानी अधिकृत धनबहादुर थापाले बताउनुभयो ।

‘चितवनको पहाडी क्षेत्रमा सुन्तला, कागती खेती हुँदै आएको छ, यस वर्ष राम्रो फल लागेको तथ्याङ्कले देखाएको छ’ थापाले भन्नुभयो ‘हरेक वर्ष सुन्तलाको बोटमा टुप्पा सुक्ने, फल नलाग्ने, फल लागे पनि रस नहुने जस्ता समस्या देखिँदै आएको थियो । ’ यस वर्ष ती समस्या केही कम भएकाले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

सुन्तलाको पकेट क्षेत्र तामिल सुन्तला पकेटका किसान हरि नेपालले भन्नुभयो ‘यस वर्ष बोटमा राम्रो फल लागेको छ, खेती गरेका किसानले राम्रो फाइदा गर्न सक्नेछन् । ’ विगतका केही वर्ष सुन्ताला कम फल्दा समस्या परेका किसानलाई यस वर्षको उत्पादनले राहत दिने नेपालले बताउनुभयो । चितवनमा फलेको सुन्तला पुसको दोस्रो हप्ताबाट मात्र बजारमा निस्कन्छ । उहाँका अनुसार तामिन क्षेत्रमा मात्रै ८० बिघा क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ । यो क्षेत्रबाट गएको वर्ष एक करोड ५० लाख रुपियाँ बराबरको सुन्तला बिक्री भएको थियो ।

नेपालले भन्नुभयो यस वर्ष दुई करोडको हाराहारीमा बिक्री हुने अनुमान गरिएको छ । दाना ठूला, रसिला भएकाले राम्रो मूल्य पाउने छन् । इच्छाकामना गाउँपालिकाको तामिन, साठीमुरे, दारेचोक ढाप, तल्लो काउलेलगायतको स्थानमा सुन्तला खेती हुने गरेको छ । दारेचोकको ढाप क्षेत्रमा मात्रै साढे दुई सय बिघामा सुन्तला खेती हुँदै आएको छ । यहाँको उत्पादन समेत वृद्धि हुने व्यावसायिक खेती गर्दै आएका किसानले बताएका छन् । इच्छाकामना गाउँपालिकाका प्राविधिक सहायक टीकाराम खतिवडाले भन्नुभयो ‘यस वर्ष रोगले सुन्तलालाई धेरै समस्या पारेको छैन, उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ । ’

तल्लो काउलेमा व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आउनुभएका भोजबहादुर रानामगरले भन्नुभयो ‘दुई वर्ष घाटा लागेको व्यवसाय यस वर्ष नाफा हुने विश्वास छ । ’ बोट सुक्ने समस्याले सताएको थियो अहिले त्यो समस्या कम छ मगरले भन्नुभयो ‘गएको वर्ष तीन गाडी बिक्री गरेकोमा अहिले १० गाडी बिक्री गर्ने तयारी छ । ’ रसिला फल लागेकाले आम्दानी सन्तोषजनक हुन लागेको छ । सुन्तला राम्रो फलेपछि व्यापारीको चहलपहल शुरु भएको उहाँले बताउनुभयो ।

बोटबाटै प्रतिकिलो ६० देखि ६५ रुपियाँसम्म बिक्री हुने गरेको किसानले बताएका छन् । यहाँको बारीबाटै ६० रुपियाँ प्रतिकिलो बजारमा जाने भएकाले खुद्रा मूल्य ७० देखि माथिनै हुने गरेको यहाँका किसानको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा दुई हजार १८१ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिहेक्टर ९.४८ मेट्रिक टन उत्पादकत्व रहेको कार्यालयले जनाएको छ ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?