मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन

म्याग्दी:मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो ।

सङ्कलित नमूनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने नेपाल पश्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।

“लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङ्ग्रा भुवाको आठ सयवटा नमूना सङ्कलन गर्दैछौँ”, उहाँले भन्नुभयो, “चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच–पाँचवटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमूना भुवा निकालिने छ ।”

चैत १३ देखि २२ गतेसम्म च्याङ्ग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा काट्न पश्मिना उद्योग सङ्घ, नार्क र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्रतिनिधिको उपस्थितिमा तालिमप्राप्त नौ जना प्रशिक्षक कृषक परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक नीना अमात्य (गोर्खाली), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोलीले चैतको ८ देखि १२ गतेसम्म स्थलगत तालिम दिनुभएको थियो ।

“पश्मिनाको गुणस्तरले यसको महत्व तथा बजार मूल्यमा असर गर्दछ”, अन्तर्राष्ट्रिय व्यापार केन्द्रका विशेषज्ञ सिचन श्रेष्ठले भन्नुभयो, “अन्य मुलुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पश्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङ्ग्राको नश्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।”

राष्ट्रिय पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख अमात्य (गोर्खाली)ले मुस्ताङमा पहिलोपटक गरिने नमूना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताउनुभयो । “च्याङ्ग्राको पश्मिना राम्रो छ भन्ने गरिन्छ । तर गुणस्तरका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो”, उहाँले भन्नुभयो, “यसैमा आधारित भएर नश्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।”

प्राकृतिकरूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।

विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताउनुभयो । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङ्ग्राको भुवा पश्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?