पशुमा फैलिँदै लम्पीस्किन सङक्रमण

कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखापर्‍यो

देउखुरी:दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ ।

बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं ८ पाँचपोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खटिनुभएका बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका करिब दुई सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।

रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमूना सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकामा त्यहाँबाट लम्पीस्किन पुष्टि भएको विज्ञ केन्द्रका भेटेरेनरी अधिकृत भरत देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यसको थप अनुसन्धानका लागि काठमाडौँ नमूना पठाइएको बताउनुभयो ।

राप्ती गाउँपालिकाको वडा नं ५, ७, ८ र ९ का विभिन्न बस्तीमा सो रोगले पशु थलिएका छन् । यहाँ तीन सय ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं ५ को करङ्गेकोट, थकरीकोट, वडा नं ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरेको छ । अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोलालगायत स्थानमा पाँच पशु मरेका उहाँले जानकारी दिनुभयो ।

लम्पीस्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ । “पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब विस्तारै तराईतिर सर्दै गएको छ, पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भन्नुभयो, “लम्पीस्किन एक प्रकारको बिफरजस्तै रोग हो । भाइरसका कारण रोग लाग्ने भएकाले उपचार छैन । रोकथामको प्रयास गर्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु नै हो ।”

“दाङमा प्रयोगशाला छैन, सुर्खेत पठाउनुपर्छ, अहिलेसम्म यसरी नै काम चलेको छ । उता पनि नभ्याउने भएपछि केन्द्रमा पठाउने गरिएको छ । यसले गर्दा पनि उपचारमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “यहाँ रोगले ग्रस्त बनाइसकेको हुन्छ, के भएको हो भन्ने थाहा पाउन लामो समय कुर्नु परिरहेको हुन्छ ।”

घोराही उपमहानगरपालिका–१९ का पहाडी क्षेत्रमा पनि लम्पीस्किन रोगका कारण किसान समस्यामा परेका छन् भने पशुलाई सास्ती भएको छ । राप्ती गाउँपालिकाको पहाडी क्षेत्रमा देखिएको लम्पीस्किनको सङ्क्रमण वडा नं २, ३ र ४ मा पनि देखापरेको पशु सेवा शाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?