पशुपालनमा छैन युवाको आकर्षण

मनाङ:मनाङको नासोँ गाउँपालिका–४ का सुरेश थकाली पशु व्यवसायी हुनुहुन्छ । “पहिला याक, चौँरी धेरै सङ्ख्या पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि भन्न सकिन्छ, युवाको चाहना छैन, के गर्नु हामीले पनि घटाउँदै लगेका छौँ”, उहाँले भन्नुभयो । पहिले करिब एक सय याक, चौँरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको उहाँको भनाइ छ ।

विगतमा याक, चौँरी पाल्दै आएका थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) पालिएको छ । याक, चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उहाँले बताउनुभयो । चौँरी, याक घट्दै गएपछि झोपा पाल्न थालेको उहाँले बताउनुभयो । “पशु व्यवसायमा युवाको चासो नै पाइँदैन, पहिला ६०÷७० याक, चौँरी पालेको थिएँ, अहिले ४०÷५० झोपा पाल्न थालेको छु”, व्यवसायी थकालीले भन्नुभयो ।

पुर्खौली पेसा धान्नै मुस्किल भएको उहाँको भनाइ छ । “बिस्तारै मैले पनि व्यवसाय फेर्दै गएको छु, युवा जति पढ्न, अन्य काम तथा व्यवसायतर्फ आकर्षित हुन्छन्, अहिले पर्यटन व्यवसाय, अन्य व्यवसायतर्फ लागेका छन्, केही विदेश पलायन हुन्छन्, यसले गर्दा पुर्खौली पेसा जोगाउन सकस छ”, किसान थकालीले भन्नुभयो । पशुपालन कम हुँदै गएपछि मैले डेरी पनि खोलेर व्यवसायलाई विस्तार गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले धारापानीमा डेरी सञ्चालन गरी दूध, दही, घ्यु बिक्री वितरण गर्दै आएको बताउनुभयो । यसले पनि मौसमले पनि फरक पार्ने रहेछ कि के हो कुन्नी अहिले फेरिदै गएको अनुभव हुने गरेको उहाँले बताउनुभयो । कोही विदेश, युवा जति पढ्न तथा कामको सिलसिलामा अन्य पेसामा लाग्न थालेपछि पुर्खौली पेसालाई बचाउने उद्देश्यले आफूले व्यवसाय विस्तार गर्दै गएको उहाँको भनाइ छ । पेसाको बचाउनका लागि आफू उदाहरणीय बनाउने उद्देश्यले व्यवसायलाई निरन्तरता दिइरहेको र सन्तुष्ट पनि रहेको उहाँले बताउनुभयो ।

त्यस्तै नासोँ–३ धारापानीका श्रीमानसिं गुरुङ ड्रोना लेक लगायतका अन्य खर्कमा नै चौँरी, याकको गोठ राखेर पशुपालनमा व्यस्त हुनुहुन्छ । उहाँले पशुपालनलाई बचाइरहन समस्या भएको बताउनुभयो । पहिला जस्तो पशुपालनमा आकर्षण नै नभएको उहाँको भनाइ छ ।

“पहिलाको जस्तो गोठालो नै पाइँदैन, वैदेशिक रोजगारी र अन्य पेसामा लाग्न थालेका छन्, पशुपालन र कृषि पेसा धरापमा छ”, व्यवसायी गुरुङले भन्नुभयो, “गोठाला पाउनै मुस्किल छ, यसले गर्दा धेरै पशु पाल्न सकस छ ।”

त्यसैगरी नासोँ गाउँपालिका–६ तिल्चेका पशु व्यवसायी धर्मजङ्ग गुरुङले भीमताङ, ड्रोना लेक, हिमलुङलगायतका खर्कमा गोठ राखेर नै करिब ६०÷७० याक, चौँरी पालिरहनुभएको छ । पशुपालनलाई राम्रो गरी गर्न सकिएमा आम्दानी राम्रो रहेको उहाँले बताउनुभयो । उहाँले एक सयको हाराहारीमा याक चौँरी पालिरहेको जानकारी दिनुभयो ।

“याक, चौँरीको व्यवसाय गर्नसके त आम्दानी राम्रो हुन्छ, प्रतियाकको रु एक लाख ५० हजारसम्म मूल्य पर्छ, चौँरीको मूल्य रु एक लाखसम्म पर्छ, यति भनेको राम्रो आम्दानी हो, युवाको चाहना नै छैन, अझै भएन स्थानीय सरकारले पनि सहयोग गरेको छ, तर पनि युवाका पेसामा आउन सकेका छैनन्”, उहाँले भन्नुभयो ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक कृषक याङदुङ गुरुङ अहिले लेकतर्फ वस्तु लिएर खर्क पुग्नुभएको छ । आइस लेक, माथिल्लो खर्कमा गोठ सार्दै पशुपालन गरिरहेका उहाँले बताउनुभयो । “अहिले त न खर्कमा घाँस छ, न त बस्तु पाल्न युवाले चाहन्छन्, पशुपालन नै घटेपछि मासु घट्यो, सामान ढुवानीका लागि प्रयोगमा पनि कम हुन थाल्यो, के गर्नु जोगाउन कोही लाग्दैनन्, कुन बेला मनाङमा याक चौँरीपालन हराउँछ भन्ने लाग्न थालेको छ”, उहाँले भन्नुभयो ।

सानैदेखि यही पेसामा लागेको छाड्न मन नलाग्ने उहाँले बताउनुभयो । “यी पशुको धेरै माया लाग्छ, के गर्नु चरण घटेको छ, पशुपालन, कृषि क्षेत्रमा अहिले आकर्षण नै छैन भन्न मिल्ने छ, अहिलेका युवाले व्यवसाय नै फेरेका छन्, अब के याक, चौँरी पाल्ने र ? हामीजस्ता पाका रहिञ्जेल मात्रै याक, चौँरी रहन्छजस्तो लाग्छ, यसको संरक्षण अब युवाले गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले अहिले ६५ याक चौँरी र ७० भेडा च्याङ्ग्रा पाल्दै आउनुभएको छ ।

युवा पशुपालनबाट विमुख हुन थालेपछि स्थानीय ,प्रदेश र सङ्घीय सरकारले प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याए पनि पेसा फेर्नेको सङ्ख्या नै बढी भेटिन्छन् । “हाम्रो उमेर विस्तारै घर्कदैछ, त्यसैमाथि हामी सामाज सेवामा लागेपछि पशुपालनतर्फ समय दिन नसकिने रहेछ”, वडाध्यक्षसमेत रहनुभएका पशुपालक किसान चोल्पा गुरुङले भन्नुभयो ।

उमेर बढ्दै गएपछि अब स्वास्थ्यले पनि साथ नदिन गरेको उहाँले बताउनुभयो । खर्कसम्म पुग्नै मुस्किल हुने गरेको उहाँले बताउनुभयो । पशुपालनतर्फ प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याएको भए पनि पशुपालन घट्दो अवस्थामा रहेको उहाँले बताउनुभयो । “विगतमा हामीले हाम्रो कति याक, चौँरी, भेडाच्याङ्ग्रा छ गन्नै सकिँदैन थियो, अहिले त आँखाले देखिन्छ, खर्कभर भेडा च्याङ्ग्रा, याक चौँरी हुन्थे, अहिले कति पशु पालिएको छ भन्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले मेरो पनि पशु घटेको छ, यस्तै ५०÷६० पशुचौपाय होलान् ।”

विगतमा जिल्लामा सामान ढुवानीका लागि नै याकचौँरीको प्रयोग गरिन्थ्यो । याक, चौँरी, भेडाच्याङ्ग्राको उनबाट बनाइएको लुगा नै लगाइन्थ्यो । अहिले त कुन देशबाट आउँछ भन्ने भइसक्न थालेको छ । यहाँका पुराना मानिसले याक, चौँरी र भेडाच्याङ्ग्राको उनबाट बनेका भाङ््ग्रालगायतका कपडा उत्पादन गर्न कम भएको छ । याकचौँरीको माध्यमबाट नै मनाङमा कृषि व्यवसाय जोत्न र सामग्री ढुवानी गर्न प्रयोग गरिन्थ्यो तर, अहिले यसको प्रयोग घटेको छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले पशुपालन घटेसँगै उनका सामग्री बनाउन पनि कम भएको र ढुवानीमा पनि कम प्रयोग गर्न थालिएको बताउनुभयो । याक चौँरी कम पाल्न थालिए पछि सामग्री ढुवानी र यात्राको सहजताका लागि यस पालिकालाई सडक सञ्जालसँग जोड्न थालिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

पशुपालक किसानलाई आकर्षित र व्यवसायलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले प्रोत्साहन गर्न उन्नत प्रजातिका याकका ब्याडमा ५० प्रतिशत अनुदान दिएको छ । पशुपालनलाई निरन्तरताका लागि ल्याइएको योजनाले यहाँका पशुपालक कृषकलाई प्रोत्साहन मिल्ने स्थानीय सरकारले अपेक्षा गरेको छ ।

जिल्लामा हिउँदमा समेत आवश्यक हिउँ नपर्दा याक, चौँरी र भेडाच्याङ्ग्राको चरन क्षेत्रमा जलवायु प्रदूषणको प्रत्यक्ष प्रभाव देखिन्छ । कृषि र पशुपालन व्यवसायका लागि पानी अत्यावश्यक मानिन्छ तर यहाँ सुक्खा र खडेरी भएर मरुभूमिको अभाष हुन थालेको छ । हिउँ नपर्दा यहाँ पानीको अभावले कृषि र पुशपालनमा असहजता भएको कृषकको भनाइ छ । पानीको अभावले चरन क्षेत्र घटेको किसान बताउँछन् ।

यसले गर्दा पशुपालन र कृषि क्षेत्र प्रभावित भएको उनीहरुको भनाइ छ । हिमपात समय भएको भए बिरुवा र पशुपन्क्षीले खानेपानीको जोहो हुने थियो तर, अहिले खोला, नदीको भर पर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । पानी नै मुख्य आवश्यकता हो । मौसम प्रतिकूल हुँदा यहाँ पशुपालन घट्ने अवस्था देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।

“विगतमा भन्दा अहिले पशुपालन घटेको तथ्याङ्कमा देखिएको छ, त्यसका लागि युवालाई पशुपालनतर्फ प्रोत्साहन गर्ने कार्य, सेवा सुविधालाई सहज बनाएका छौँ”, उहाँले भन्नुभयो, “हामीले दिने प्राविधिक सेवालाई प्रभावकारीरुपमा घर घरमा नै पुगेर सकेको सेवा दिइरहेका छौँ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?