युवा पलायनको असर,वृद्धको जिम्मामा चौँरी र भेडा

गलेश्वर:म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ वयेलीका २८ वर्षीय युवा दिनेश रम्तेलको गोठमा चौँरी र भेडा छन् । भेडा र चौँरीपालनबाट सोचेजस्तो आम्दानी गर्न नसकेपछि तीन वर्षअघि साउदी गएका रम्तेल अझै गाउँ फर्किनुभएको छैन ।

त्यस्तै मुस्ताङको थासाङ गाउँपालिका वडा नं ५ कुञ्जोका २५ वर्षीय हिरा थकाली र मुस्ताङकै घरपझोङ गाउँपालिका वडा नं १ छैरोका छेम्बा गुरुङ खर्कमा चौँरी र भेडा चराउन छोडेर खाडीमुलुक लागेको पनि पाँच वर्ष भयो । हिमाली क्षेत्रका रम्तेल, थकाली र गुरुङ जस्तै सयौँ युवा परम्परागत पेसा र समुदायको परम्परालाई छाडेर साउदी अरब, कतार र युएईमा उँटको हेरचाह गर्ने तथा भवन बनाउने काममा मजदुरी गर्न बाध्य छन् ।

देशमा राजनीतिक परिवर्तन भई गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्नै लाग्दा पनि युवा जनशक्ति पलायनको अवस्थामा भने सुधार हुन नसक्दा नेपाली समाज र समुदाय उजाडिँदै जान थालेको छ ।

उदाहरणका लागि म्याग्दी र मुस्ताङका हिमाली क्षेत्रका खर्क तथा बस्ती नै हेर्दा पुग्छ । दुई दशकअघिसम्म चौँरी र भेडाका बथान लिएर हिमाली खर्क तथा बुकीमा देखिने युवा जनशक्ति अहिले खाडी मुलुकमा उँट गोठालो बन्न बाध्य छन् । युवा विदेशिएसँगै हिमाली लेक, खर्क र बुकी सुनसान हुन थालेका छन् ।

म्याग्दीबाट बर्सेनि विदेशिने युवाको लर्को लाग्ने गर्दछ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट छ हजार चारसय बढीले राहदानी लिएका जनाइएको छ ।

नेपालका पर्यटन तथा वनस्पतिविद् डा तीर्थ श्रेष्ठका अनुसार समुदायको शक्तिमा टिकेको नेपालमा यहाँको युवा जनशक्तिलाई सरकारले योजनाबद्ध तवरमा विकास कार्यमा उपयोग गर्न नसक्दा युवा जनशक्ति पलायनको समस्या तीव्र बन्दै गएको र विकासको उपलब्धी उपयोगविहीन हुन थालेको छ ।

“जसका लागि भनेर विकासका पूर्वाधार निर्माण गरियो, त्यहीँ नै देश छाडेर हिँडेपछि विकासको उपयोगिता कसरी पुष्टि हुन सक्छ र ?”, गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्वअध्यक्ष एवं सामाजिक विकासका अध्येता शिव बानियाँले भन्नुभयो, “युवा जनशक्तिलाई लक्षित गरेर गाउँ गाउँमा विकासका पूर्वाधार निर्माण गरिए, सडक बने, कृषि र पशुपालनका लागि अनुदानको व्यवस्था गरियो, अरु धेरै काम भए, तर अनुदानको रकम लिएर त्यही सडक हुँदै युवा जनशक्ति मोटर चढेर कति सहर पसे, कति विदेश हिँडे, अब विकास कसका लागि भनेर बहस गर्ने बेला आएको छ ।”

युवा पलायनको असर नेपालका हिमाली तथा पहाडी जिल्लाका ग्रामीण बस्तीमा नराम्रोसँग देखिन थालेको स्थानीयले बताएका छन् । डा श्रेष्ठका अनुसार साना किसानको निर्वाहमुखी खेती प्रणाली हराइसकेको छ । पहाडी क्षेत्रका किसानले हासिल गरेको खेतका गरा र कान्ला बनाउने मौलिक सीप अहिले बिर्सिइसकिएको छ । विदेशीले ‘नेपाल इज द ल्यान्ड अफ बिलियन टेरेसस्’ (नेपाल करोडौँ गरा–कान्लाहरूको देश हो) भन्छन् ।

समुदायले जोगाउँदै आएका रैथाने ज्ञान र सीप हाम्रो आधुनिक विकासका कारण यी हराउँदै गएका जानकारको भनाइ छ । “समुदायले जोगाएको रैथाने ज्ञान हामीले जोगाउनुपर्ने थियो, सकेनौँ, अहिले चौँरी चराउने युवा उँट चराउन जाँदा उनीहरूसँगै हाम्रो संस्कृति÷संस्कार पनि गयो, युवा विदेशिए भन्ने पीर सबैले लिएको देखिन्छ, तर रैथाने ज्ञान गयो भन्ने पीर कसैले लिएको देखिँदैन”, डा श्रेष्ठले बताउनुभयो ।

गत वर्ष २०७८÷७९ मा कार्यालयबाट चार हजार ७४ जनाले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले गत वर्षभन्दा यस वर्ष राहदानी लिनेको सङ्ख्या बढेको बताउनुभयो ।

राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक व्यक्तिको राहदानी बनाउने पनि छन् । अमेरिका, युरोप, अस्ट्रेलिया, जापानसँगै खाडी मुलुकमा रोजगार, व्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेकोे सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । अध्ययनका लागि विदेश पलायन हुने अधिकांश अध्ययनका लागिभन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । विदेश जानेमा हिमाली र पहाडी क्षेत्रका युवा बढिरहेको तथ्याङ्कले देखाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?