लगातारको हावाहुरीबाट निरास छन् फलफूल र तरकारी किसान

महोत्तरी:लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन हात नलाग्ने भएपछि किसान निरास भएका हुन् । पछिल्लो पटक शुक्रबार गएरातिको हावाहुरीले बग्रेल्ती आँप झारेका छन् ।

त्यसैगरी फर्सी, लौका, घिरौँला, झिगिँनी, काँक्रा र चिचिन्डासहितका तरकारी बालीका बेला (लहरा) हुत्याउँदै चुँडाएर नोक्सान गरेपछि किसानको पिरोलो बढेको हो । “हेर्नोस् न, जेठ लागीकन दिनहुँजसो हावाहुरीले झारेका आँप टिप्दै दिन जान्छ, मुखमै आएको बाली सखाप भएको छ”, आज सखारै बग्रेल्ती झरेका आँप टिप्दै भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान शुभलाल ठाकुरले भन्नुभयो, “जेठ मध्यतिर यत्रो हाहाहुरी त्यति भोगिएको थिएन, खै के हुन लागेको हो !” अब १५/१६ दिन दुःख काट्दा एउटा बाली हात लाग्छ भन्ने आश पनि मरेको ठाकुर बताउनुहुन्छ । तराईमा चाँडै पाक्ने जातको बम्बै आँप जेठ अन्तिममा तयार हुन्छ । तर दुई साताअघिको हावाहुरीले आँप झारेपछि दुःख लागेको ठाकुरको भनाइ छ ।

महोत्तरीमा जेठमा प्रत्येक दुई/तीन दिनमा हावाहुरी चल्दै आएको छ । बिहीबार साँझ र शुक्रबार रातिको हावाहुरीले झारेका आँप किसान कौडीका दाममा बेच्दैछन् । हुरीले झारेर फुटाएको आँप त मिल्काउनुबाहेक कुनै विकल्प नभएको ठाकुरकै छिमेकी किसान जब्बार शेष बताउनुहुन्छ ।

विगतमा चैत/वैशाख हावाहुरीको समय हुने र जेठ लागेपछि त्यति नलाग्ने भोग्दै आएका किसानलाई यसपाली जेठमा लगातार चलेको हावाहुरीले अत्याएको छ । “जेठको दुई साता नबित्दै पाँच/छ पटक हावाहुरीले हामीलाई चिल्लीबिल्ली बनाएको छ”, बर्दिबास–९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापामगर भन्नुहुन्छ, “आँप झरे, तरकारीका लहरा चुँडिएर लत्रिएका छन्, भर्खर घोगा लाग्दै गरेका मकैका बोट लडाएर सोतर बनाएको छ ।” प्रकृति अनुकूल नहुँदा विपदैविपद् खेप्नुपरेको थापाको भनाइ छ ।

हावाहुरीसँगै मेघगर्जन सुनिए पनि पानी भने त्यति नपरेको किसान बताउँछन् । “हावाहुरीपछि पानी त परेको छ, तर धानको ब्याड राख्नेगरी माटो गालेर परेको छैन”, गौशाला–१० लक्ष्मीनियाँका किसान महेश्वर महतो भन्नुहुन्छ ।

जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका फलफूल र तरकारी उत्पादनका पकेटक्षेत्र मानिन्छन् । उत्तरीक्षेत्रका बर्दिबासका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, चेरु, माइस्थान, सोनापेटी, भब्सी, पाटु, विजलपुरा र पशुपतिनगर सहितका बस्तीको त मुख्यबाली नै फलफूल (बगैँचा) खेती हो । बगैँचा खेतीमा पनि मुख्य आँप रहँदै आएको छ ।

जिल्लाका मध्य र दक्षिणवर्ती क्षेत्रका पिपरा, मटिहानी, जलेश्वर, रामगोपालपुर र मनराशिशवाको स्थानीय तहको बस्तीमा पनि बगैँचा खेती बाक्लै छ । जेठ अन्तिमदेखि लगालग एकपछि अर्को जातका आँप पाक्नेक्रम सुरु हुन्छ । यसरी मुखमै आएको बाली हावाहुरीले सखाप पारेपछि अब वर्षभरिको गुजारा केले चलाउने भन्दै किसान टोलाएका छन् ।

दुःखका बेला साथ पाइने आशले आफैँले चुनेका प्रतिनिधिले फर्केर नहेरेपछि चित्त कुड्याउँदै भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “सबै सुखका साथी रहेछन् ।” पुराना तरकारी उत्पादक किसान दनुवारले हावाहुरीले लहरे तरकारी नोक्सान पारेपछि अब के गर्ने भन्ने नै रनभुल्लमा परेको बताउनुभयो ।

चैत/वैशाख हावाहुरीको समय भन्ने बुझ्दै आएका किसान जेठ लागेपछि फलफूल र तरकारी अब चैँ हात लाग्ने विश्वासमा थिए । तर पुरानो ऋतु रीतिथिति फेरिएर जेठमा हावाहुरी चल्न थालेपछि किसानमा निरासा बढेको हो । यसपाली जेठ लागीकन सयौँ बिघाको फलफूल र तरकारी बाली हावाहुरीले नोक्सान गरेको छ ।

अहिले जेठमा निरन्तर केही दिनको फरकमा चल्दै (बहदै) आएको हावाहुरी यहीँ मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले भएको विज्ञको मत छ । मानवको घच्चपच्चले प्रकृतिका पुराना रीति फेरिँदा कुसमयको हावाहुरी, बर्खा, गर्मी, शीतलहरजस्ता प्रकोप झेल्नुपरेको रुपान्तरण सामाजिक संस्थाका जलवायुविज्ञ विराट पन्त बताउनुहुन्छ । “यो प्रभाव न्यूनीकरण गर्न प्राकृतिक स्वरुपको रक्षा र प्रभाव अनूकूल आनीबानी र खेतीपाती गरिन पर्छ”, पन्त भन्नुहुन्छ । राज्यका सबै अङ्गले यो अनुकूलन विधि अँगाल्न आमजनतालाई अभिप्रेरित गर्नुपर्ने पन्तको सुझाव छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?