धानको ब्याड राख्ने बेलामा किसानलाई सिँचाइ समस्या

टीकापुर:कैलालीका किसानलाई सिँचाइ कुलामा पानी नआएपछि खेती गर्ने समयमा समस्या भएको छ । धानको ब्याड (बीउ) राख्ने बेलामा कुलामा सिँचाइका लागि पानी नआएपछि कैलालीका अधिकांश किसानले बीउ छर्न पाएका छैनन् । कतिपय किसानले मोटर तथा बोरिङको सहायतामा बीउ राख्न थालेका छन् ।

कैलालीको जमरा कुलोमा पानी आएको साता दिन भयो । खेतीपातीको समय सुरु हुँदै गर्दा एक साताअघि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले रानी, जमरा र कुलरिया कुलामा पानी छाडेको छ तर जमरा कुलोमा भएको पानी शाखा, उपशाखा तथा प्रशाखा कुलामा छाडेकोे छैन । शाखा प्रशाखा कुलामा पानी नगएपछि किसानले मोटर चलाएर धानको ब्याड राख्नुपर्ने बाध्यता बनेको हो ।

टीकापुर, वनगाउँलगायत क्षेत्रका किसानले मोटरको पानीले धानको ब्याड राख्न थालेका छन् । जमरा कुलामा पानी भए पनि कुलाका शाखा तथा प्रशाखामा पानी नछाड्दा मोटर गाडेका किसानले मोटरको सहायतामा ब्याड छर्न थालेका किसान रतन चौधरीले बताउनुभयो । “कुलामा पानी आउला भनी कुरेका किसान जेठ अन्तसम्म पनि पानी नआएपछि मोटर सुविधा भएका ब्याड राख्न थालेका छन्”, चौधरीले भन्नुभयो, “मोटर सुिवधा नभएका अझै कुलामा पानी आउला कि भनी कुरेर बसेका छन् ।”

जमरा जल उपभोक्ता समितिले जेठको पहिलो साता कुलामा पानी सञ्चालनमा आएको जनाएको थियो । हेर्दा जमरा कुलोमा पानी बगिरहेको छ । किसानको खेतसम्म पानी पुग्ने शाखा प्रशाखा कुलामा अहिलेसम्म पानी गएको छैन । जमरा कुलाबाट जाने शाखा तथा प्रशाखा कुलाका धेरै ठाँउमा कुला सरसफाइ नहुँदा अहिलेसम्म पानी नपुेगका किसानको गुनासो छ । “पानी चाहिने बेलासम्म धेरै ठाँउमा निर्माणका काम भएका र केही ठाउँमा गाडी सञ्चालनका लागि कुला पटानी गरेकाले समस्या भएको छ”, किसान किटटु चौधरीले भन्नुभयो, “मोटरबाट सिँचाइ गर्दा धेरै समस्या हुने गरेको छ, यस वर्ष पानी सतह सुकेर होला मोटरमा पनि पर्याप्त आएको छैन ।”

किसान सही समयमा पर्याप्त पानी लगाउनका लागि हरेक वर्ष कुला मर्मत तथा सरसफाइ कार्य गर्ने गर्दछन् । यस वर्ष समयमा जमरा कुलोमा पानी सञ्चालन भएको भनेर जानकारी आएको तर अहिलेसम्म किसानले कुलोको पानी नआएको अर्का किसान पुरन चौधरीले बताउनुभयो । “जेठ मसान्तदेखि असार पहिलो सातामा प्रायःकिसान रोपाइँ सुरु गर्दछौँ”, उहाँले भन्नुभयो, “यस वर्ष कसैले सुरु गर्न सकेका छैनन्, यस वर्ष पानी नभएकाले भर्खर ब्याड छर्न थालेका छन्, मोटरको पानीले पर्याप्त सिँचाइ पुगाउन सकिँदैन ।”

मोटर चलाउँदा आर्थिक भारसमेत बढेको किसानको गुनासो छ । जमरा कुला जलउपभोक्ता समितिका अध्यक्ष मानबहादुर चौधरी सिँचाइ आयोजनाले अहिले हाइड्रोपावर अगाडि पट्टि जाली लगाउने कार्य गरिरहेकाले असारदेखि किसानको खेतसम्म पुग्ने गरी पानी छाड्ने बताउनुभयो । “हामी पनि किसानले छिटो पानी पाउनुपर्छ भन्नेमा छौँ”, उहाँले भन्नुभयो, “अबका केही दिनमा सबै शाखा, प्रशाखा कुलामा पानी पुग्नेछ ।”

रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रहेका रानीमुल कुलाका १४ प्रशाखा कुला, जमरा मुल कुलाका १५ शाखा कुला, कुलरिया मुल कुलाका १९ शाखा कुला रहेका र ती मुल कुलाका शाखामार्फत बनेका आठ सय ६३ उपशाखा कुला छन् । यसरी शाखा र प्रशाखा कुलामार्फत किसानको ११ हजार हेक्टर खेतसम्म पानी लैजाने कार्य हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?