प्लास्टिकका सामग्रीले ओझेलमा पर्दै स्थानीय सीप

डोको बुनेरै बित्यो जवानी

ढोरपाटन (बागलुङ): पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।

“पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो”, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भने । उनले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताए ।

अहिले आफ्नै घरमा पनि प्लास्टिकका नाङ्लो र गाग्री प्रयोग गर्न थालेको घर्तीमगरको भनाइ थियो । प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएका उनले बताए ।

आफ्नो पालामा नुन, भाँडाकुँडा र लत्ताकपडाबाहेक अन्य सामान बाहिरबाट नल्याएको स्मरण गर्दै पछिल्लो समय गाउँमा सबैले आयातित सामान प्रयोग गर्ने गरेका घर्तीमगरको भनाइ थियो । अहिले पनि केही बूढापाकाले चोयाबाट सामग्री बनाउने गरेका भन्दै उनले आधुनिक सामग्रीको प्रयोगका कारण ती बिक्री नहुने बताए । “आफूहरू दसैँ, माघेसङ्क्रान्ति र चैते दसैँका बेला दर्जनौँ डोका, नाङ्लो बोकेर बजारमा बिक्री गर्न जाने गरिन्थ्यो । फर्किदा घरमा चाहिने सामान लिएर आउथ्यौँ”, घर्तीमगरले स्मरण गरे ।

स्थानीय प्रेमबहादुर सुनारले आफू ११ वर्ष हुँदादेखि डालो, नाङ्लो बुन्दै आएको सुनाउँदै अहिले पनि बुन्ने गरेको बताए । पहिले एकै सिजनमा रू डेढ लाखको चोयाका सामग्री बेच्ने गरेकामा अहिले बिक्री नै हुन छाडेको उनको भनाइ थियो ।

बाउ, बाजे र काकाबाट मान्द्रो, डालो, नाम्लो, दाम्लो र नाङ्लो बुन्न सिकेको भन्दै नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सीप हस्तान्तरण हुन नसकेको सुनारले गुनासो गरे । बूढापाकाको हातखुट्टा चल्न छाडेपछि स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप भएर जाने खतरा बढेको भन्दै एक दशकदेखि गाउँमा प्लास्टिकका भाँडाकुँडा र डालो, नाङ्लो पुगेपछि चोयाबाट बुनेका सामान प्रयोग गर्न छोडेका उनले जानकारी दिए ।

चोयाबाट बनेका डालो, नाङ्लो, डालोलगायत सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने बताउँदै सुनारले स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले मौलिक सीपबाट बनेका सामानले बजार नपाएको गुनासो गरे । डालो, नाङ्लो वनमा गएर गजिङ, मालिङका चोया निकालेर बुन्न निकै समय लाग्ने भन्दै बजार नपाउँदा आफूहरूको मेहनत खेर गएको उनले दुःखेसो पोखे ।

“अहिले ७० वर्षको भए । अझै पनि हातमा सीप छ । दिनभरि लगाएर सामान बुन्ने हो, बिक्री नहुँदा दुःख लाग्छ । अहिले वर्षभरि ५० हजारको सामान बेच्न पनि मुस्किल हुन्छ”, सुनारले भने, “हाम्रा पालामा मानापाथी चल्थे । अहिलेको जस्तो एक किलो, दुई किलो भन्ने थिएन । व्यापारीले पाँच मानादेखि १० पाथीसम्मका ठाला राख्थे, मेला महोत्सवमा पनि धेरै सामान बिक्थे ।”

बडिगाडका होमबहादुर सिंजालीले पहिले बिस्कुन सुकाउन, गोठ छाउनका लागि चोयाका मान्द्रो, बलाङ प्रयोग गर्ने गरेको भन्दै अहिले प्लास्टिकका त्रिपाल बढी चल्ने गरेको बताए । उतिबेला गोठालाले लेक, बेँसीमा गोठा हाल्दा चोयाकै बलाङले छाउने गरे पनि अहिले लेकका टुम्पासम्म पानीकागज र त्रिपाल पुग्न थालेको उनको भनाइ थियो ।

सिंजालीले पहिले गाउँका अधिकांश स्थानीयले अल्लो, भेडाको ऊन, भाँगोको लोक्ताबाट कपडा बनाउने गरेको भन्दै अहिले त्यो प्रचलन नै हराएको बताए । उनले भने, “दशौँ वर्ष अगाडिका धेरै चालचलन र सीप अहिले हराउँदै गएका छन् । गाउँ र बस्तीमा मोटर गुड्न थाले । मोटर गाडीले सहरबजारका सामान सर्लक्कै गाउँ ल्याउँछ । ती सामान देख्दा राम्रो भए पनि हाम्रा जमानाका जस्ता बलियो र गुणस्तरीय हुँदैनन् । अबको केही वर्षपछि डालो, नाम्लो केही देख्न पाइने छैन ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments