आरन चलाएर जीविकोपार्जन

आधुनिक औजार

घोराही (दाङ): घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आएका छन् । सन्ताउन्न वर्षीय जीतबहादुरले ३० वर्षदेखि आरन चलाउन थालेका हुन् । उनले घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् ।

जीतबहादुरले भने, “यो बाबुबाजेको पेसा भएकाले अन्य कामको विकल्प देखिएन् । आफूले जानेको सीप तथा पुख्र्यौली पेसा पनि भएकाले बाध्य भएर यसलाई नै निरन्तरता दिएका छौँ ।” पहिले उमेरमा अरु पेसा गर्न आर्थिक समस्या भएको भन्दै अहिले अरु काम गर्न आफूसँग सीप नभएको उहाँको भनाइ थियो ।

फलामबाट बन्ने विभिन्न किसिमका खुकुरी, हँसिया, फरुवा, कोदालोलगायत सामग्री निर्माण गरेर आउने ज्यालाले आफूहरुसहित पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको टमटा दम्पतीले जानकारी दिए । यो पेसामा श्रीमती सुन्तलीले सधैँ साथ दिएको उनले बताए ।

तातेका फलामबाट कुटोकोदालो तथा हँसिया हतौडासम्म उनले बनाउँछन् भने श्रीमतीले आगो फुक्ने तथा आवश्यक सामग्रीको व्यवस्था गरेर सहयोग गर्दै आएका छन् । दुवै मिलेर काम गर्दा व्यवसायमा सहज भएको सुन्तलीले बताइन् । आम्दानी प्रशस्त भइरहेकाले पनि उनीहरु यो पेसाबाट सन्तुष्ट देखिन्छन् । कहिलेकाहीँ ग्राहक टमटाको व्यवसाय खोज्दै आउँदा गर्व लाग्ने गरेको सुनाइन्।

जीतबहादुरले घरेलु तथा साना उद्योगको आयोजनामा केही वर्ष पहिले आधुनिक प्रविधिका सामग्री निर्माण गर्ने तालिम लिएको बताए । यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो ।

टमटा दम्पतीले आरन पेसाबाट दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गर्दै आएका जानकारी दिए । पुराना सामग्री मर्मत गर्ने र केही नयाँ बिक्री गर्दा प्रशस्त आम्दानी हुने गरेको जीतबहादुरको भनाइ थियो ।

टमटा दम्पतीले जस्तै नेपालगञ्ज स्थायी घर भएका मुसीर जसगरले पनि घोराही–१४ मा आरन पेसा गर्दै आएका छन् । तेइस वर्षीय मुसीरले विगत आठ वर्षदेखि फलामबाट बन्ने विभिन्न सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छन् । उनले हँसिया, खुकुरी, खुर्पा सबैभन्दा बढी बिक्री हुने गरेको बताए ।

मुसीरलाई उनको भाइले सहयोग गर्दै आएका छन् । यही पेसाबाट वार्षिक ३०(४० हजारसम्म बचत गर्न सफल भएको उनले बताए । “आरन व्यवसायलाई बढाउँदै लैजाने मन छ । बाबुबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिँदा खुसी छु । उत्पादित सामग्री बिक्री भइरहेको छ”, जसगरले भने, “सरकारीस्तरबाट पनि हाम्रो व्यवसायीलाई सहजताका लागि नयाँ सामग्री निर्माणमा सहयोग पु¥याउन तालिमको आवश्यकता छ । स्थानीय सरकारबाट पनि थप सीपका लागि तालिम दिए सहयोग पुग्ने थियो ।” पछिल्लो समय धेरैजसो युवापुस्ताले चासो नदिँदा यो पेसा पुस्तान्तरण हुन नसकेको उनको अनुभव छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments