जडीबुटीखेतीमा किसानको आकर्षण

टीकापुर:कैलालीको टीकापुर, लम्की–चुहा, जानकी, भजनी र बर्दगोरिया पालिकाका दुई सय १२ किसान जडीबुटीखेतीमा लागेका छन् । धान, तोरीपछिको तेस्रो बालीका रूपमा जडीबुटीखेती गर्न लागेका हुन् ।

टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट बीउ लगेर जडीबुटीखेती गरिरहेका छन् । यस वर्ष जडीबुटी कम्पनीले मेन्था तेल उत्पादन चार हजार किलो लक्ष्य राखेको छ । अहिलेसम्म रु ५६ लाखको तेल उत्पादन भइसकेको कम्पनीले जनाएको छ ।

“एक सय ५२ किसानले मेन्थाखेती गर्नुभएको छ भने ५५ किसानले युक्यालिप्टसखेती गर्नुभएको छ । यस्तै पाँचजना किसानले क्यामोमाइलखेती गर्नुभएको छ”, कम्पनीका टीकापुर प्रमुख कमल बेल्वासेले भने, “टीकापुरमा जडीबुटी उत्पादन गर्ने अत्याधुनिक उद्योग सञ्चालनमा छ तर यसले पूरा क्षमता उत्पादन गर्न पाएको छैन ।” उनले जडीबुटी उत्पादनका लागि बीउ स्थानीय सरकारले अनुदान दिने हो भने किसानको आकर्षण अझै बढ्ने बताए ।

“तेस्रो बालीका रूपमा ९० दिनमा प्रतिकठ्ठा कम्तीमा रु सात हजार प्रतिफल लिन सकिन्छ”, उनले भने, “कम्पनीले किसानको जडीबुटी निःशुल्क प्रशोधन गर्ने गरेको छ भने किसानको उत्पादन कम्पनीले नै खरिद गर्ने गरेको छ ।”

बीउ उत्पादनका लागि कम्पनीले आफैँ खेती गरे पनि तारबारको अभावमा संरक्षण हुन नसकेको प्रमुख बेल्बासेले बताए । यसरी जडीबुटी उत्पादन गर्नेमा टीकापुर नगरपालिकाका किसान धेरै छन् । किसानले बजार खोज्नु नपर्ने भएपछि जडीबुटीबाट आम्दानी लिन सहज भएको स्थानीय किसानको भनाइ छ ।

“अघिल्लो वर्ष रु सात हजारको बीउ किनेर मकैखेती गर्दा जम्मा १२ हजारको मकै भयो, यस वर्ष मकैखेती नगरेर एक बिघा जग्गामा मेन्थाखेती गरेको छु”, टीकापुर–१ वनगाउँका किसान दिलबहादुर चौधरीले भने, “तेस्रो बाली हो, अरु खेती गर्नुभन्दा जडीबुटीखेती गर्दा राम्रो हुन्छ ।” जडीबुटीखेती गर्न किसान तयार भए पनि बीउलगायत अन्य सुविधा नभएका कारण समस्या भएको चौधरीले बताए ।

एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ । मेन्थाबाट प्रशोधित तेल प्रतिलिटर रु एक हजार चार सय, यूक्यालिप्टस प्रतिलिटर एक हजार एक सय ५० र केमोमाइल रु १९ हजार प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ ।

कम्पनीसँग टीकापुरमा साढे चार बिघा जग्गा छ । यही जगामा किसानका लागि आवश्यक पर्ने बीउ उत्पादन गर्ने गरेको छ । अन्य उत्पादनमा अनुदान पाएपछि तीन वर्षअघिदेखि जडीबुटीखेती गरिरहेका किसानले जडीबुटीखेती गर्न छाडेका थिए । यस वर्ष पुनः जडीबुटीखेतीमा लागेको स्थानीय किसानको भनाइ छ ।

प्रशोधन कम्पनीसँग जडीबुटी प्रशोधन गर्ने दुई थान मेसिन थिए । खेती गर्ने किसान बढेपछि जडीबुटी प्रशोधन कम्पनीले छ वर्षअघि करिब रु एक करोड ५० लाखमा अत्याधुनिक थप चार मेसिन बढाएर छ थान पुर्याएको छ । जडीबुटीखेती अन्नबालीभन्दा सजिलो र नगदेबाली भएकाले किसानको आकर्षण बढेको उनीहरूको भनाइ छ ।

कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ । कम्पनीको टीकापुर शाखामा नियमितरूपमा ३० दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन् । जडीबुटी उद्योगसँग रहेको छ प्रशोधन मेसिन दैनिक १६ घण्टा चल्छन् । कम्पनीले दैनिक ५० टन जडीबुटी प्रशोधन गर्न सक्ने कम्पनीका प्रमुख बेल्वासेले बताए । “जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ । अन्य समयमा कोरा जडीबुटी सङ्कलनको काम गर्छौँ”, उनले भने ।

“मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ”, कम्पनीका प्रमुख बेल्वासेले भने, “सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ ।” प्रशोधित तेल आफ्नै जडीबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उनले बताए । “केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ”, उनले भने, “मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौँ औषधि तथा चकलेटमा प्रयोग हुन्छ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?