रायोको साग बेचेर लाख आम्दानी

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ ।

तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन । यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन् । यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ । अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म पुग्ने गरेको छ । कृषिमा निकै सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ । यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्दै आएका छन् । रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ ।

रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मानिर्भर रहेको छ । यहाँका किसानले दैनिक एक पिक आप जिप भरी साग मात्रै बागलुङ बजार पठाउँदै आएको स्थानीय हिराबहादुर थापाले बताउनुभयो । थापाले यहाँको साग मौसमी र बेमौसमी दुबै समयमा उत्पादन भइरहेको बताउनुभयो । “दैनिक जसो एक जीप भरी रायोको साग बागलुङ बजार पुग्छ, चिसो ठाउँमा उत्पादन भएको रायोको साग बागलुङ बजारका व्यवसायीले धेरै मूल्य पाउन पोखरा पठाउने गरेका छन्”, थापाले भन्नुभयो, “हिले रायडाँडाको साग भनेपछि मूल्य बढी पर्न थालेको छ, रायडाँडाको साग पाएपछि उपभोक्ताले मूल्यमा सम्झौता गर्दैनन्, अहिले ताराखोलाको आलु र भाङ्गो भनेजस्तै रायडाँडाको साग भन्ने ब्राण्ड नै बनिसकेको छ ।”

यहाँका बालिका थापा, रुद्रबहादुर थापा, दलबहादुर थापा, चन्द्रबहादुर थापा, तिलमाया थापा, टीकाबहादुर थापाले वार्षिक दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारी भरी साग खेती गर्दै आएको बताउनुभयो ।

रायडाँडा टाढाको गाउँ भएकाले वर्षाद्मा भने बजारीकरणका लागि अझै समस्या रहेको थापाको भनाइ छ । वर्षाद्मा गाडी नचल्दा उत्पादन भएको साग गाई भैँसीलाई हाल्नुपर्ने बाध्यता रहेको स्थानीय कृषकको भनाइ छ । “एक वर्षमा रायोको साग मात्रै बिक्री गरेर एउटा किसानले तीन लाखसम्म कमाएको रेकर्ड छ, बजारमा मूल्य भने स्थिर छैन, अहिले धारापानीबाट एउटा जीपभरी साग मात्रै बजार जान्छ, कहिले धेरै कहिले थोरै मूल्य पर्छ, न्यूनतम रु २० मुठोमा बिक्री भएको पाइन्छ, त्यहाँका व्यापारीले हाम्रो साग पोखरा पठाएको पाइन्छ” साग किसान बालिकाले भन्नुभयो, “यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ, यहाँको साग खाएपछि अर्कोपटक माग आइहाल्छ, माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो, बजारको तीन पसलमा रायडाँडाको रायोको साग जुनसुकै समयमा खरिद गर्न सकिन्छ ।”

साग सस्तोमा बिक्री भए पनि उत्पादन धेरै गर्न सके राम्रो फाइदा हुने स्थानीय रुद्रबहादुर थापाले बताउनुभयो । यहाँको साग दैनिकजसो टिप्न सकिने बताउँदै थापाले माग बढेपछि उत्पादन बढाउन थालिएको बताउनुभयो । “अहिले प्रचारप्रसार धेरै भएपछि माग समेत बढेको छ, रायडाँडाको साग पोखराका ठूला होटलमा समेत पुग्न थालेपछि साग खेती विस्तार गरिरहेका छौँ” उहाँले भन्नुभयो “गाउँबाट रित्ता सवारी पठाएर बजारबाट भरेर गाउँ ल्याउने चलनलाई रायडाँडाले फरक सन्देश दिएको छ, यहाँबाट प्रत्येक दिन रायोको साग, मुला, काउली र बन्दाले भरिएको जीप बागलुङ बजार पुग्छ ।”

बसाईसाईको चपेटामा रहेको रायडाँडाको धारापानीमा बगर बस्ती भएकाले कम बसाईसराई छ । रायडाँडावासीले रायोको सागसँगै मुला, काउली र बन्दा समेत उत्पादन गर्दै आएका छन् । बागलुङ नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको ११ नम्बर वडा रायडाँडा बसाईसराईले उजाडिएको गाउँ हो । तर यहाँको रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट भएपछि उपभोक्ताले खोजी–खोजी खाने गर्दछन् । यहाँको सागलाई सुरुमा सहकारीमार्फत् बजारीकण गर्न सघाएको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले किसानलाई बजारीकरणमा सघाएपछि अहिले किसानले आफैँ बिक्री गर्न थालेको गोतमको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?