आज राती पश्चिम र मध्य नेपालमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं ।
देशभर मनसुन सक्रिय रहँदा आज दिउँसो र विशेषगरी राती विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले आज राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले मनसुनी गतिविधि सक्रिय भएको हो।
आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राती मनसुनी गतिविधि थप सक्रिय हुने देखिन्छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा बाढीको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। वर्षाका कारण यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
