देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं :हाल देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावले मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा आफ्नो औसत स्थानमा र पश्चिममा औसत स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढिरहेको हो।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?