भारतमा सुरु भयो संसारकै महँगो ‘गुच्छी’ च्याउ फलाउने प्रविधि, नेपालका हिमाली जिल्लाका लागि बन्न सक्छ बरदान!

विश्वकै महँगो र दुर्लभ मानिने गुच्छी च्याउ (Morel Mushroom)

को व्यावसायिक खेती अब प्रविधिमार्फत सम्भव भएको छ। भारतको हिमाचल प्रदेशस्थित सोलनमा रहेको ‘आइसिआर–च्याउ अनुसन्धान निर्देशनालय’ (ICAR-DMR) का वैज्ञानिकहरूले गुच्छी च्याउको ‘सेमी-कन्ट्रोल’ (अर्ध-नियन्त्रित) खेती प्रविधि विकास गरेसँगै यसको व्यावसायिक उत्पादनको ढोका खुलेको हो।

अहिलेसम्म प्राकृतिक रूपमा जंगलमा मात्र पाइने यो च्याउलाई ‘हिमालयन गोल्ड’ का रूपमा समेत चिनिन्छ। यसको उच्च माग र दुर्लभताका कारण बजारमा यो निकै महँगो मूल्यमा बिक्री हुने गर्छ। ICAR-DMR का वरिष्ठ वैज्ञानिक डा. अनिल कुमारका अनुसार निर्देशनालयले गुच्छी च्याउको बीउ (Spawn) उत्पादनदेखि खेती गर्ने विधिसम्मको पूर्ण प्याकेज तयार पारेको छ।

कसरी गरिन्छ खेती ?

वैज्ञानिकहरूले विकास गरेको यो प्रविधिमा माटो, ह्युमस र गहुँको दानाको विशेष सम्मिश्रणबाट बीउ तयार गरिन्छ। खेतीका लागि जमिनमा करिब १५ सेन्टिमिटर उचाइ र १ मिटर चौडाइका ‘रेज्ड बेड’ (Raised Bed) हरू बनाइन्छ। बेडमा बीउ छरेपछि त्यसलाई विशेष प्रकारको मल्चिङ सिट वा पत्रिकाले छोपिन्छ।

यस खेतीमा तापक्रम व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण र महत्वपूर्ण पक्ष मानिन्छ। सुरुमा बीउ फैलिनका लागि करिब २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ भने च्याउको फल (Fruit Body) लाग्ने समयमा तापक्रम घटाएर १० देखि १५ डिग्री सेल्सियसको बीचमा राख्नुपर्ने वैज्ञानिक डा. कुमार बताउँछन्। च्याउलाई थप पोषण दिन ‘एक्जोजिनस न्युट्रिसन ब्याग’ को प्रयोग गरिन्छ, जसले उत्पादन बढाउन मद्दत गर्छ।

उत्पादन र आम्दानीको सम्भावना

यो प्रविधि अनुसार जाडो मौसम (विशेष गरी नोभेम्बर) मा खेती सुरु गरेपछि करिब १०० दिनभित्र च्याउ उत्पादन हुन्छ। परीक्षणका क्रममा एक वर्गमिटर क्षेत्रफलबाट करिब १ किलोसम्म गुच्छी च्याउ उत्पादन गर्न सकिने देखिएको छ। निर्देशनालयले हाल गुच्छीका ९ वटा विभिन्न प्रजाति (Strains) हरूमा काम गरिरहेको छ।

किन छ त यसको चर्चा ?

गुच्छी च्याउ स्वाद र सुगन्धका लागि मात्र नभई औषधीय गुणका कारण पनि विश्वप्रख्यात छ। यसमा प्रचुर मात्रामा एन्टि-अक्सिडेन्ट, आइरन र एन्टि-एजिङ (बुढ्यौली रोक्ने) तत्वहरू पाइन्छन्। यसलाई एक प्रकारको ‘पूर्ण औषधि’ (Complete Medicine) समेत मानिन्छ।

हाल निर्देशनालयले भारतका विभिन्न तीन राज्यका १० जनाभन्दा बढी किसानहरूसँग सम्झौता (MoU) गरी यो प्रविधि र बीउ उपलब्ध गराउन सुरु गरिसकेको छ। वैज्ञानिकहरूको टोलीले सम्बन्धित क्षेत्रको माटो र हावापानीको स्थलगत निरीक्षण गरेपछि मात्र किसानलाई खेतीका लागि अनुमति र प्राविधिक सहयोग दिने व्यवस्था मिलाएको छ।

भारतको हिमाञ्चल प्रदेशस्थित सोलनमा वैज्ञानिकहरूले गुच्छी च्याउको सफल व्यावसायिक उत्पादन गरेसँगै नेपालका जुम्ला, मुगु, डोल्पा र मनाङ जस्ता उच्च पहाडी जिल्लाहरूमा पनि यसको खेतीको बहस सुरु भएको छ। प्राकृतिक रूपमा नेपालका जंगलमा पाइने यो च्याउलाई प्रविधिमार्फत व्यावसायिक बनाउन सके नेपाली किसानको आर्थिक जीवनस्तरमा ठूलो परिवर्तन आउने निश्चित छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?