बनमारा: ‘वनको शत्रु’ कि किसानको ‘अदृश्य साथी’ ?

गाउँघरमा मेलापात गर्दा, दाउरा-घाँस गर्दा वा हँसिया चलाउँदा अचानक हात वा खुट्टा काटिएर रगत बगेको दृश्य हाम्रा लागि नौलो होइन। यस्तो बेला अस्पताल वा ब्यान्डेज त धेरै टाढाको कुरा हुन्छ। तर, हाम्रै वरपर एउटा यस्तो ‘प्राकृतिक डाक्टर’ उपलब्ध हुन्छ, जसको दुई-चारवटा पात हातले माडेर काटिएको ठाउँमा निचोर्दा तुरुन्तै रगत थामिन्छ र शीतलता मिल्छ। हो, त्यो अचुक औषधि अरू केही नभएर हामीले सधैं सराप्ने गरेको ‘बनमारा’ नै हो।

नेपालका पहाडी र तराईका क्षेत्रमा ‘बनमारा’ नाम सुन्नेबित्तिकै धेरैले यसलाई खेतीयोग्य जमिन र वनजंगल नष्ट गर्ने एउटा हानिकारक मिचाहा झारका रूपमा बुझ्ने गर्छन्। “बन मारा” अर्थात् वनलाई मार्ने झारका रूपमा चिनिने यो वनस्पतिले अन्य उपयोगी घाँस र बिरुवालाई मिचेर आफ्नो साम्राज्य फैलाउने गर्छ। तर, आधुनिक कृषि प्रविधि र वैज्ञानिक अध्ययनले के देखाएको छ भने, यदि यसलाई सही ढंगले व्यवस्थापन र प्रयोग गर्न सकेमा यो कृषकका लागि अभिशाप होइन, बरु बहुउपयोगी स्रोत बन्न सक्छ।

१. औषधीय गुण: एक प्राकृतिक प्राथमिक उपचार

बनमारामा पाइने औषधीय गुणहरूका कारण यसलाई परम्परागत चिकित्सामा ‘प्राकृतिक एन्टीसेप्टिक’ मानिन्छ:

  • रगत रोक्न (Styptic Property): ताजा पातको रस काटिएको ठाउँमा लगाउँदा यसले रगत जम्न (Blood clotting) मद्दत गर्छ र तुरुन्तै रगत थाम्छ।

  • एन्टीसेप्टिक र घाउ निको पार्ने: यसले घाउलाई संक्रमण हुनबाट जोगाउँछ र छिटो निको पार्न मद्दत गर्छ।

  • दुखाइ र सुन्निएको कम गर्ने: मांसपेशीको दुखाइ वा मर्केको ठाउँमा यसको पातको लेदो लगाउँदा राहत मिल्छ।

  • अन्य उपचार: परम्परागत रूपमा यसको प्रयोग ज्वरो, टाउको दुखाइ, पेट सम्बन्धी समस्या (पखाला, आउँ) र छालाको संक्रमण (लुतो, दाद) निको पार्न पनि गरिँदै आएको छ।

२. उच्च गुणस्तरको हरियो मल (Green Manure)

बनमारा माटोका लागि नाइट्रोजन, फस्फोरस र पोटासको खानी हो। यसमा नाइट्रोजन (२.३५%), फस्फोरस (०.७१%) र पोटास (३.९८%) पाइन्छ। फूल फुल्नुअघि नै यसलाई काटेर खेतबारीको माटोमा मिसाउँदा वा कम्पोष्ट बनाउँदा माटोको उर्वराशक्ति उल्लेख्य रूपमा बढ्छ। यसले रासायनिक मलको निर्भरता घटाउन ठूलो मद्दत पुर्‍याउँछ।

३. प्रभावकारी जैविक विषादी (Bio-pesticide)

रासायनिक विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको बेला बनमारा उत्तम विकल्प हो। यसको पात र डाँठको रसमा हुने तीखो गन्धले हानिकारक किराहरूलाई बालीनालीबाट टाढा राख्छ। यसको झोल वा खरानी प्रयोग गरेर लाही, गवारो जस्ता किराहरू नियन्त्रण गर्न सकिन्छ, जसले मित्र जीवहरूलाई कुनै हानि पुर्‍याउँदैन।

४. ऊर्जा र इन्धनको विकल्प

बनमारालाई नियन्त्रण गर्ने र यसबाट लाभ लिने एउटा आधुनिक तरिका यसबाट ‘बायो-चार’ वा ‘ब्रिकेट’ (Briquette) बनाउनु हो। सुकेको बनमारालाई मेसिनको सहायताले धुलो बनाई बनाइएको ब्रिकेट दाउराको उत्तम विकल्प हो। यसले एकातिर इन्धनको समस्या हल गर्छ भने अर्कोतिर वनजंगलमा दाउरा काट्ने चाप कम गर्छ।

५. पशु आहार र सोत्तर व्यवस्थापन

यद्यपि बनमारालाई सिधै धेरै मात्रामा खुवाउनु उचित हुँदैन, तर सुख्खा याममा घाँसको अभाव हुँदा कतिपय ठाउँमा भेडा-बाख्रालाई यसको कलिलो मुना खुवाउने गरिन्छ। साथै, गोठमा सोत्तरको रूपमा प्रयोग गर्दा यसले ओस सोस्ने र पछि मलमूत्रसँग मिसिएर उच्च गुणस्तरको गोठेमल बन्ने काम गर्छ।

६. भू-क्षय र माटो संरक्षण

भिरालो जमिन र खहरे खोलाको किनारमा बनमाराले माटोलाई बलियो गरी समातेर राख्छ। यसले वर्षाको समयमा हुने भू-क्षय रोक्न र माटोको उपल्लो उर्वर तह बग्न नदिन प्राकृतिक सुरक्षा कवचको काम गर्छ।

बनमारालाई केवल ‘मिचाहा झार’ भनेर उपेक्षा गर्नुको सट्टा यसको सही व्यवस्थापन र व्यावसायिक उपयोगमा जोड दिनु आवश्यक छ। यसबाट हरियो मल, जैविक विषादी र इन्धन तयार गर्ने कार्यलाई व्यापक बनाउन सके यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनेछ।

“बनमारालाई समस्या होइन, स्रोतको रूपमा हेरौं र यसको प्रयोगबाट दिगो कृषिको आधार तय गरौं।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?