ओझेलमा परेको रेशमखेतीलाई व्यावसायिक बनाउँदै धुनिवेशीको कीट विकास फार्म
प्रकृतिको अनुपम उपहार र ‘सेतो सुन’ का रूपमा चिनिने रेशमखेती यतिबेला धादिङको धुनिवेशीमा आकर्षणको केन्द्र बनेको छ। रेशम किराको कोकुनबाट रेशम धागो निकाली बहुमूल्य कपडा तयार गरिने हुनाले यसलाई कृषकको आर्थिक समृद्धिको बलियो आधार मानिन्छ। यसै सन्दर्भमा, व्यावसायिक कीट विकास फार्म, धुनिवेशी, धादिङले हाल फार्मभित्रै प्रत्यक्ष रूपमा रेशम किरा पालन कार्य गरिरहेको छ।
नेपालमा रेशमखेती व्यावसायिक रूपमा वि.सं. २०३०–२०४० को दशकदेखि सुरु भए पनि हालसम्म यसले सोचेजस्तो व्यापकता पाउन सकेको छैन। कृषकस्तरमा केही ओझेलमा परेको जस्तो देखिए पनि यसको व्यावसायिक महत्त्व भने निकै उच्च छ। धुनिवेशीस्थित यस फार्मले कृषकहरूलाई रेशमखेती सम्बन्धी आवश्यक प्राविधिक जानकारी दिनुका साथै आफैँ पनि किरा पालन गरेर नमूना प्रदर्शन गरिरहेको छ।
व्यावसायिक कीट विकास फार्म, धुनिवेशीका निमित्त कार्यालय प्रमुख (कृषि अधिकृत) राजेन्द्र रुपाखेतीका अनुसार यो व्यवसाय कृषकहरूका लागि निकै लाभदायक छ। उहाँ भन्नुहुन्छ, “रेशम किरा पालन गरेको करिब ३० देखि ३५ दिनमै कोकुन तयार हुन्छ। छोटो समयमा आम्दानी लिन सकिने र पर्याप्त सिँचाइ सुविधा नभएको जग्गामा पनि किम्वु बगैँचा स्थापना गरी सामान्य घरटहराभित्रै यो खेती गर्न सकिन्छ।”
हाल धुनिवेशी फार्ममा भइरहेको रेशम किरा पालनले स्थानीय कृषकहरूलाई पनि यस प्रविधितर्फ आकर्षित गराएको छ। कृषकले किम्वु बगैँचाको उचित व्यवस्थापन गर्ने र राज्यले उत्पादित कोकुन वा धागोको बजारीकरणमा सहयोग गर्ने हो भने यसबाट कृषकहरूले ठुलो आर्थिक लाभ लिन सक्ने देखिन्छ।
कम लगानी र थोरै समयमा प्रतिफल दिने भएकाले साना तथा मध्यमस्तरका कृषकहरूका लागि रेशमखेती एउटा उत्कृष्ट स्वरोजगारको माध्यम बन्न सक्छ। सरकारी फार्महरूले दिने प्राविधिक ज्ञान र सहयोगलाई सदुपयोग गर्दै व्यावसायिक रूपमा अगाडि बढेमा नेपालको रेशम उद्योगले नयाँ उचाइ लिने विश्वास गरिएको छ।
