देशभर तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना: सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ, २५ वैशाख ।

नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आगामी तीन दिनसम्म देशभरको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज शुक्रबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशको तराईमा भने एक-दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ। राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भेगमा वर्षा र हिमपातको क्रम जारी रहने महाशाखाले जनाएको छ।

भोलि २६ गते शनिबार पनि मौसममा खासै सुधार हुने देखिँदैन। दिउँसो कोशी, बागमती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा तथा हिमपात हुनेछ। तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली भई केही स्थानमा वर्षा हुनेछ।

यसैगरी, २७ गते आइतबार दिउँसो कोशी, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा हुनेछ। राति भने कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षासँगै मेघगर्जन र चट्याङको समेत जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। विशेषगरी हिमाली भेगमा हुने हिमपात र पहाडी क्षेत्रमा हुने वर्षाले दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पार्न सक्ने देखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?