आगामी तीन दिन देशभर वर्षा र हिमपातको सम्भावना: सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौँ, २७ वैशाख । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण आगामी तीन दिन देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हालको मौसमी अवस्थालाई विश्लेषण गर्दा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली छ । अहिले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज आइतबार दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । आज राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको आकलन गरिएको छ ।

भोलि सोमबारको मौसम पनि अस्थिर रहने देखिन्छ । सोमबार दिउँसो पहाडी भू-भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । सोमबार राति भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी, २९ गते मंगलबार देशभरको मौसममा थप बदली आउने देखिन्छ । मंगलबार दिउँसो पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ भने तराईका एक-दुई स्थानमा पनि पानी पर्न सक्नेछ । सोही दिन राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?