आगामी तीन दिन देशभर वर्षाको सम्भावना, कोशीमा ‘धेरै भारी’ वर्षाको चेतावनी
काठमाडौँ, २९ असार ।हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भू-भाग नजिक रहेकाले आगामी केही दिन देशभर वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर नै मौसममा बदली देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिममा साधारणतया बदलीको अवस्था छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज सोमबारको मौसम विश्लेषण गर्दै महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने जनाएको छ। मधेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिमको पहाडी भू-भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका केही स्थानमा ‘भारीदेखि धेरै भारी’ वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको प्रक्षेपण गरिएको छ।
भोलि असार ३० गते मङ्गलबार पनि देशभर मौसम प्रतिकूल रहने देखिन्छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ। सो दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति भने देशभर साधारणतया बदली रही कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।
यसैगरी, आगामी बुधबार असार ३१ गते पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ। दिउँसो देशका पहाडी भू-भागका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। बुधबार राति मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। हिमाली भू-भागमा भने आगामी तीनै दिन हल्कादेखि मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
