बीउ किन्ने किसानले बेच्न थाले
स्याङ्जा — केही वर्ष अघिसम्म गल्याङ ११ जिमुवाका रुमलाल कँडेल आलुको बीउ किन्न बजार चहार्थे । अहिले उनी आफैं बिक्री गर्छन् । यस क्षेत्रका किसान बीउ खरिद गर्न उनको घरसम्मै पुग्न थालेका छन् । कँडेल मात्रै नभएर जिमुवाका अधिकांश किसान आलुखेती गरिरहेका छन् ।
‘हामीले फलाउने आलु बीउमै बिक्री हुन्छ,’ उनले भने, ‘बीउका लागि छुट्याएपछि बाँकी निस्कने आलु खानका लागि राख्छौं ।’
काभ्रेबाट बीउ ल्याएर कँडेलले आलु खेती सुरु गरेका थिए । तीन वर्षयता भने आफैं बीउ बेच्ने भएका छन् । गत वर्ष १८ टन आलुको बीउ बेचेको उनले बताए । ‘पोहोर बीउबाट १० लाख २६ हजार आम्दानी गरें,’ उनले भने, ‘यो वर्षको भने कोल्ड स्टोर (शीत भण्डार) मा राखेका छौं, बेच्ने बेला भइसकेको छैन ।’
विगतका वर्षमा शीत भण्डार नभएकाले खन्ने बित्तिकै बेच्नुपर्ने बाध्यता थियो । गाउँमै शीत भण्डार निर्माणपछि यसपटक किसान आलु बेच्न हतारिएका छैनन् । राम्रो मूल्य पाएका बेला बेच्ने उनीहरू बताउँछन् । स्थानीयले सामूहिक रूपमा आलु भण्डारण गरेका छन् । पोहोर प्रतिकिलो ५७ रुपैयाँमा बीउ किनबेच भएको थियो ।
सोही ठाउँका ४८ वर्षीय चन्द्रकान्त डुम्रे पनि पहिले आलुको बीउ किन्ने गर्थे । अहिले आफैं उत्पादन गरी बेच्न सक्ने भएका छन् । गत वर्ष ३५ बोरा आलु लगाएर १८ क्विन्टल बीउ उत्पादन गर्न सफल भए । १२ टन बीउ बेचेको उनले बताए । यस वर्षको आलु भने खनेपछि सिधै भण्डारण गरिएकाले नापजाँच नगरिएको उनको भनाइ छ ।
साविकको कृषि विकास कार्यालयले विगत चार वर्ष पहिले ‘कलस्टमा आलु उत्पादन कार्यक्रम’ सञ्चालनमा ल्याएपछि यहाँको साविक तुलसीभन्ज्याङ गाविसमा खाने आलुको अलवा बीउ आलु उत्पादन गरिँदै आएको हो । ‘पहिले आलुको बीउ किन्नसमेत पाएको थिइनँ, अहिले आफैं बेच्न पाउँदा गर्व लाग्छ,’ कँडेलले भने । यहाँको गल्याङ नगरपालिका ११ जिमुवा, कर्मचौर, काम्लाङ, जिमी र वडा नम्बर ३ का ललेङ छर्ती तथा बल्पुकलाई ‘आलुगाउँ’भनेर पनि चिनिन्छ ।
यहाँका कृषकले आलु खेतीबाटै लाखौं रुपैयाँ आम्दानी गर्न थालेपछि नाम नै आलुगाउँ रहेको स्थानीय बताउँछन् । अहिले गाउँमा सामूहिक आलु खन्ने चटारो छ ।
विगतमा आलु लगाउन बाहिरी जिल्लाबाट बीउ खरिद गर्नुपर्ने बाध्यतामा रहेका यहाँका किसान ३ वर्षदेखि आफैं आलुको बीउ बिक्री गर्न सफल भएका हुन् । बीउ आलुबाटै वार्षिक १०/१२ लाख आम्दानी हुने भएपछि निकै सन्तुष्ट रहेको अर्का किसान विष्णु गैरे बताउँछन् ।
साविकको कृषि विकास कार्यालय आईडब्लूआरएमपी र आँधीखोला बहुउद्देश्यीय पानी उपझोक्ता संस्था गल्याङको संयुत्त आयोजनामा ‘कलस्टमा आलु उत्पादन कार्यक्रम’ सञ्चालनमा आएको थियो । त्यसपछि व्यक्तिगत र सामूहिक रूपमा व्यावसायिक खेती सुरु गरेको कृषक रुमलालले बताए ।
कृषि विभागको एकीकृत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको नमुना नगदेबालीअन्तर्गत बीउ आलु उत्पादनका लागि तुलसीभन्ज्याङ्ग नै छनोट गरिएको थियो । यहाँका कृषकले पनि तुलसीभन्ज्याङलाई नमुना बीउ आलु उत्पादन स्रोत केन्द्र बनाउन कलस्टर प्रणाली, सामूहिक र व्यक्तिगत रूपमा व्यावसायिक आलु खेती गर्दै आएका छन् । साविकको कृषि कार्यालयले पनि यो ठाँउलाई बीउ आलु उत्पादन स्रोत केन्द्र बनाउन पहल गरेको थियो ।
बजार मूल्य छैन
सामूहिक र व्यक्तिगत गरी १ सय हेक्टर जमिनमा खेती गर्दै आएका कृषकहरू आलुको बजार मूल्य नभएको गुनासो गर्छन् । बजारमा आलुको मूल्य नपाउँदा अहिले करिब ६० हेक्टर जमिनमा मात्र आलु खेती गर्दै आएको उनीहरू बताउँछन् ।
०६६ बाट व्यावसायिक आलु खेती सुरु गरेका यो ठाउँका कृषकहरूले २०६९ सालदेखि जिमुवा कृषि उपज कृषक सहकारी संस्था सुरु गरी सामूहिक खेती गर्दै आए पनि आलु उत्पादन क्षेत्रका लागि सरकारले सोचेजस्तो सहयोग भने नगरेको कृषकको गुनासो छ । आलु उत्पादन भएर पनि बजार नहुँदा निरास बन्नुपरेको उनीहरूको भनाइ छ ।
अहिले करिब २ सय टन आलु उत्पादन गर्ने लक्ष्य छ । जिमुवा कृषि उपज कृषक सहकारी संस्थाका अध्यक्षसमेत रहेका रुमलाल कँडेलका अनुसार आलु खेती गर्नको लागि विदेश गएका युवा मात्र नभई अन्य व्यापार व्यवसाय गरेका स्थानीय पनि लागिपरेका छन् ।
कृषिमा यो क्षेक्रका महिला नै बढी सत्रिय रहेको सावित्री कँडेल बताउँछिन् । आलु बिक्रीबाट नै महिलाले वार्षिक खर्च धान्दै आएको उनले बताइन् । सरकारले यो क्षेत्रलाई राम्रोसँग हेर्न सकेमा आलुबाट गण्डकी प्रदेशलाई नै आत्मनिर्भर गराउन सक्ने कृषक बताउँछन् ।
१४ हजार टन उत्पादन
कृषि ज्ञान केन्द्रका अनुसार स्याङ्जामा यो वर्ष १४ हजार टन आलु उत्पादन भएको छ । जिल्लाभर ८ सय ५९ हेक्टर क्षेत्रफलमा लगाइएको आलु १३ हजार ७ सय ४४ टन उत्पादन भएको कार्यालयका सूचना अधिकारी सन्दीप सुवेदीले जानकारी दिए ।कान्तिपुर
