रोग विरुद्ध प्रतिरोधी क्षमता बढाउने ‘मोरिङ्गा’को गोरखामा व्यावसायिक खेती सुरु

शिव उप्रेती
गोरखा : कोरोनालगायत रोग विरुद्ध प्रतिरोधी क्षमता बढाउने ‘मोरिङ्गा’को गोरखामा व्यावसायिक खेती सुरु गरिएको छ। एकै ठाउँमा दुई सय रोपनीभन्दा धेरै क्षेत्रफलमा मोरिङ्गाखेती सुरु भएपछि कृषि ज्ञान केन्द्रले पकेट क्षेत्रका रुपमा विकास गरेको छ।

मोरिङ्गालाई सितल चिनीका रुपमा लिइन्छ। यसको पात, फल, फूल, जरा सबै उपयोगी हुने कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा बताउँछिन्। ‘मोरिङ्गा बहुउपयोगी तरकारीजन्य वनस्पति हो’, उनी भन्छिन्, ‘यसको फल, फूल, जरा, पात सबै उपयोगी हुन्छ। त्यसैले अहिले यसको लोकप्रियता बढिरहेको छ। हामीले गोरखा नगरपालिका १४ गोर्बुङमा मोरिङ्गा पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रम लागू गरेका छौं।’

गर्बुङमा गोरखा अर्गानिक हर्वल फार्म प्रालिले मोरिङ्गाको व्यावसायिक खेती सुरु गरेको हो। गत वर्षबाट एक सय रोपनी क्षेत्रमा सुरु गरिएको मोरिङ्गाखेती यो वर्ष दुई सय रोपनी थप गरी तीन सय रोपनीमा सुरु गरिएको फर्मका सञ्चालक डा. खेमराज भट्टराईले जानकारी दिए।

‘बहुउपयोगी वनस्पति विश्व बजारमा अत्यन्त लोकप्रिय रहेकाले हामीले नेपालमा व्यावसायिक खेती सुरु गरेका हौं’, भट्टराईले भने, ‘यसको महत्व नेपालमा पनि बढ्दै गएकाले भविष्यमा यसको खपत अझ बढ्ने विश्वास लिएका छौं।’

मोरिङ्गाको पातको चियाले पनि रुघाखोकीलगायत रोग निको हुने भट्टराई बताउँछन्। अहिले गोरखा आयुर्वेद कम्पनीले मोरिङ्गाको चिया बनाएर बजारमा ल्याएको छ।

‘दूधभन्दा यो वनस्पतिमा १४ गुणा धेरै पौष्टिक तत्व पाइन्छ’, उनले भने, ‘पातको चिया अति उत्तम हुन्छ। फूल पनि खान हुन्छ। फलको तरकारी हुन्छ। जरा पनि सखरखण्ड झैं खान सकिन्छ। त्यसैले यसलाई मिराकल वनस्पति पनि भनिन्छ।’

भारतबाट बिउ ल्याएर व्यावसायिक खेती सुरु गरिएको उनले बताए। २० लाख रुपैयाँभन्दा धेरैको लागतमा गरिएको मोरिङ्गाखेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्न कृषि ज्ञान केन्द्रले ट्रयाक्टर, पाइप, मोटरलगायत उपकरण सहयोग उपलब्ध गराएको उनले बताए।

कृषि ज्ञान केन्द्रले मोरिङ्गाखेती प्रवद्र्धन गर्न बिउ, मल, औजार, सिँचाइ व्यवस्थापन, तालिम सञ्चालनमा ५० प्रतिशत अनुदान दिएको छ।

गोरखा जिल्लाभर कृषि ज्ञान केन्द्रको सहयोगमा चालु आर्थिक वर्ष तरकारी, आलु, मौरी, धान, मकै, अलैंची, कफी, अदुवा, बेसारलगायत ३३ वटा पकेट स्थापना भई कार्यक्रम सञ्चालन भएका छन्। यसमा कृषि सामग्री जस्तै, बिउ , मल, विषादीलगायत सिँचाइ संरचना निर्माण, कृषि औजार, संकलन केन्द्र, टनेल निर्माण जस्ता बिधामा ५० प्रतिशत सहयोग गरिएको छ। अन्नपुर्णपोस्टमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?