बाइस करोडभन्दा बढीको आलु उत्पादन

कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण

हेटौँडा, मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् ।स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिनुभयो ।

आलु फल्ने समयमा अधिक वर्षा भएर आलु उत्पादनमा ह्रास आएको भन्दै उहाँले भन्नुभयो, बढी पानी पर्दा खाद्यान्न, तरकारीलगायतका सबै बालीमा
नोक्सनी भएको छ । आलु उत्पादनमा ह्रास आए पनि गत वर्षभन्दा कृषकले आलुमा यो वर्ष राम्रो मूल्य पाएका छन् । गत वर्ष प्रतिहेक्टर २० टन आलु उत्पादन भएकोमा यो वर्ष थाहा नगरमा प्रतिहेक्टर १५ टन मात्र आलु उत्पादन भएको अनुमान छ । यो वर्ष नौ हजार टन आलु उत्पादन भएको अनुमान छ, तिवारीले भन्नुभयो ।

कृषकले गत वर्ष आलु प्रतिकेजी १८ देखि ३० रुपियाँसम्ममा बिक्री गरेकोमा यो वर्ष सुरुमा प्रतिकेजी १८ रुपियाँमा बिक्री भएकोमा पछि सेतो आलु प्रतिकेजी ४० रुपियाँ र रातो आलु प्रतिकेजी ४४ रुपियाँसम्ममा बिक्री गरेका छन् । दामन, पालुङ र वज्रवाराही क्षेत्रको आलु उत्पादन भई बिक्री अन्तिम चरणमा पुगेको र आग्रा क्षेत्रको आलु निस्कँदा अहिलेको मूल्यलाई हेर्दा प्रतिकेजी ५० रुपियाँ बारीमा नै पर्ने आकलन गरिएको उहाँले बताउनुभयो ।

गत माघ–फागुनमा खेतबारीमा लगाएको आलु असारको पहिलो सतासम्म निकाल्न स्थानीय कृषक व्यस्त रहेका थिए । थाहा नगरपालिकाको दामन, पालुङ, आग्रा, वज्रवाराही, चित्लाङलगायतका स्थानको अधिकांश क्षेत्रमा स्थानीयले आलु खेती गर्दै आएका छन् ।थाहा नगरपालिकाका कृषि विकास शाखाका शाखा अधिकृत तिवारीले आलु खनेर मकै र तरकारी लगाइएको जानकारी दिनुभयो । यो वर्ष अधिकांशले आलु लगाएको खेतबारीमा मकै र केहीले तरकारी लगाएका छन् । उहाँले भन्नुभयो, बन्दाबन्दीका कारण स्थानीयले उत्पादन गरेको तरकारी बिक्री नभएको उचित मूल्य नपाउने समस्याका कारण यो पटक अधिकांशले मकै खेती गरेका हुन् ।

गत वर्ष पनि आलुमा फल लाग्ने समयमा अधिक वर्ष भएका कारण डढुवा लागेर बोट मर्दा आलु उत्पादनमा २०–२५ प्रतिशतले ह्रास आएको थियो । थाहा नगरपालिकाको करिब छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो ।कृषकले कार्डिनल, स्थानीय रातोलगायतका चार जातका आलु आफ्नो खेतबारीमा लगाएका थिए । सिँचाइ सुविधा नभएको स्थानमा आकांशको भरमा पर्नुपर्ने र उत्पादित आलु भण्डारण गर्न काठमाडौँ र हेटौँडासम्म धाउनुपर्ने बाध्यता रहेको छ ।

सिँचाइ सुविधा नभएको क्षेत्रमा सुरुमा सुक्खाका कारण आलु उत्पादन कम हुने र आकाशको भर पर्नुपर्ने समस्या रहेको छ । दामन–पालुङ क्षेत्रमा शीत भण्डारको अभावमा उत्पादन गरेको आलु बढी मूल्य पाउने समयमा पछि बिक्री गर्न मात्र होइन बीउका लागि भण्डारण गर्नसमेत समस्या हुँदै आएको छ ।
दामन–पालुङमा शीत भण्डार नहुँदा बीउ आलु भण्डारण गर्न काठमाडौँ वा हेटौँडा पुग्नुको विकल्प कृषकसँग नरहेकोमा हाल थाहा नगरमा शीत भण्डार निर्माण सुरु गरिएको छ । बाग्मती प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीय सहकारी संस्थाहरूसँगको सहकार्यमा शीत भण्डार निर्माण सुरु गरिएको हो ।स्थानीय कृषकले उत्पादन गरेको आलु काठमाडौँ, चितवन, वीरगञ्ज, हेटौँडा, पोखरालगायतका स्थानमा बिक्री हुँदै आएको छ । गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?