दशैं नजिकिएसंगै तनहुँमा डेढ करोडका खसीबोका बिक्री

प्रकाशचन्द्र भट्टराई

दमौली : तनहुँका बिभिन्न ठाउँका कृषकले यस वर्ष खसीबोका बिक्री गरी डेढ करोड रुपियाँ आम्दानी गरेका छन् । दशैँ नजिकिँदै गर्दा कृषकहरुले कृषकले खसीबोका बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् ।

तनहुँको भिमाद, घिरिङ, शुक्लागणडकी तथा व्यास नपाका कृषकले असोज महिनामा मात्रै सो आम्दानी गर्न सफल भएका हन् । स्थानीय स्तरमा स्थापित कृषि सहकारीमार्फत कृषकहरुले खसीबोका बिक्री गरेका हुन् । सहकारी संस्थाले खसीबोकाको बजारीकरणमा सहयोग गर्दै आएका छन् ।भिमाद नगरपालिका–९ भानुमति स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३७ लाख ७७ हजार खसीबोका बिक्री गरेको छ । सहकारीले तनहुँका विभिन्न पालिकासहित कास्की, लमजुङ, स्याङ्जा जिल्लामा खसीबोका बिक्री गरेको सहकारीकी अध्यक्ष देवी मोक्तान आलेले बताउनुभयो ।

सो सहकारीमा आबद्ध दुई सय ८ जना कृषकले भानुमतीमा बाख्रापालन गरेका छन् । उक्त सहकारीले असोज महिनामा एक सय ९४ वटा खसीबोका बिक्री गरेको अध्यक्ष आलेले बताउनुभयो । खसी प्रतिकिलो एक हजार चार सय १० रुपैयाँका दरले बिक्री गरेको उहाँले बताउनुभयो ।यसैगरी भिमाद नगरपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारीमार्फत २२ लाख ४८ हजार बराबरको खसीबोका बिक्री भएको सहकारीका अध्यक्ष सङ्गीता रानाले जानकारी दिनुभयो । सो सहकारीले एक सय ७४ खसीबोका बिक्री गरेको छ ।

यस्तै घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी मार्फत २१ लाख ६ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेका अनुसार यस अवधिमा एक सय ७३ खसीबोका बिक्री भएको छ । सोही गाउँपालिकाको वडा नम्बर २ सुन्धारास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत १० लाख २३ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शारदा आलेका अनुसार असोज महिनाभर ७७ खसीबोका बिक्री भएको छ ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र हेफर इन्टरनेसलन नेपालको साझेदारीमा ती सहकारी संस्थामा सञ्लिचालित पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना अन्तर्गत किसानले उत्पादन गरेका पशु वस्तुको बजारीकरणमा सहयोग, सहकारीको संस्थागत विकास तथा सुदृढीकरण, सहकारीको आवश्यक नीतिनिर्माण र कार्यान्वयन, उद्यमशील बनाउनका लागि वित्तीय सेवामा पहुँच कार्यक्रम सञ्चालन भइरहेको नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले बताउनुभयो । गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?