‘मौरी गोठालो’ ७१ वर्षीय मोहराज उपाध्यायको जिल्लाकै ‘व्यावसायिक नमूना मौरी फार्म’

बागलुङ : जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ ।

उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताए । “मह र गोलाबाट वर्षमा रु १० लाख बढी कमाइ हुन्छ”, उनले भने । अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उनको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् ।

उपाध्यायको उद्योगमा वार्षिक एक हजार २०० किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु एक हजार २०० मा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ रु पाँच हजार ५०० छ । “बजारको कुनै समस्या छैन, बरु मह पुर्याउनै सकिएको छैन”, उपाध्यायले भने। उनका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ ।

एउटै याममा चार/पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उनले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आएका छन् । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिन्छन् ।

विसं २०४५ ताका काठमाडौँ चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिएका उपाध्यायले भने, “मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालेँ । अरुलाई तालिम दिँदै हिँड्ने तर आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर विसं २०५१ तिर व्यावसायिक मौरीपालन शुरु गरेँ ।” मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उनी ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भइसकेका छन्। गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उनको उद्योगलाई नमूना मौरीपालन फार्म घोषित गरी रु पाँच लाख अनुदान दिएको थियो ।

सफल मौरीपालक किसानका रूपमा उपाध्यायको चिनारी गाउँठाउँमा फैलिएको छ । कतिपयले त उनलाई ‘महराज’ भनेरसमेत बोलाउँछन् । उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैँयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उनले बताए । “मेरो पेशा र कमाइबाट म सन्तुष्ट छु, मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो”, उनले भने । उपाध्यायको घर–व्यवहार मह÷मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोडेका छन् । उनलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् । तीन भाइ छोरा विदेश छन् ।

जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह÷गोला बेच्ने प्रबन्ध मिलाउँछन् । घरमै रहेकी कान्छी बुहारी शर्मिला उपाध्यायसँगै उद्योगमा दैनिक खट्छन् । “मागअनुसार बजारबाटै पनि मह र गोला बेच्छौँ”, खिराले भनिन्, “गाउँको मह भनेर खोजीखोजी किन्न आउँछन् ।”

उनले ससुराबुवाको मेहेनत र लगाव सबैका लागि अनुकरणीय रहेको बताए । “परिवारलाई कहिल्यै अभावमा राखेनन्, त्यतिका वर्षअघि बुवाले शुरु गरेका मौलीपालनमा हामी पनि जोडिन पाएका छौँ”, खिराले भनिन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?