​दाङका कृषकहरु घाँसको बिउ उत्पादनतर्फ आकर्षित

दाङ, चैत २० – दाङका कृषकहरु व्यवसायीकरुपमा घाँसको बिउ उत्पादनतर्फ लागेका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर – ६ का १ सय ५० परिवार कृषकहरुले सहकारी नै गठन गरी बर्सिम जातको घाँसको बिउ उत्पादन गरिरहेको जिल्ला पशु सेवा कार्यालय दाङले जनाएको छ ।

दुई नम्बर प्रदेशको बारा र पर्सा जिल्लामा पनि बिउ उत्पादनका लागि घाँसको खेती हुने भए पनि दाङमा उत्पादन गरिएको बिउको माग बढीरहेको पशुसेवा कार्यालयको भनाई छ । यहाँका किसानले उत्पादन गरेको घाँसको बिउ देशभरका पशु सेवा कार्यालय तथा एग्रोभेटमार्फत विक्री भैरहेको छ । नगदेबालीबाट भन्दा घाँसको बिउबाट धेरै फाइदा हुने भएपछि किसानहरुले हिउँदे बालीका रुपमा बर्सिम घाँसको खेती गर्ने गरेको शिवशक्ति घाँसको बिउ उत्पादक सँघले जनाएको छ ।

गएको वर्ष यहाँका किसानहरुले करिब १ सय ३० क्विन्टल घाँसको बिउ विक्री गरेका थिए । २०५८ सालबाट घाँसको बिउ उत्पादन सुरु गरेका यहाँका किसानहरुले प्रति किलो दुई सय रुपैयाँका दरले सहकारीलाई विक्री गर्ने गरेका छन् भने सहकारीले  २ सय ४० रुपैयाँका दरले जिल्ला भित्र र बाहिर विक्री गर्ने गरेको छ । बिउ उत्पादनका लागि घाँसको खेती हुन थालेको क्षेत्रमा उन्नत जातका पशुपालन गर्नेहरु पनि बढ्दै गएको पशु सेवा कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments