कुखुराबाट एक वर्षमा ३३ अर्ब ७२ करोड आम्दानी

दाना उत्पादन

चितवन, २ असार । नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र रु १० अर्ब १७ करोड ७७ लाख ३३ हजार आम्दानी भएको छ । जिल्लामा मासुका लागि कुखुरा बिक्रीबाट रु एक अर्ब ९७ करोड ६० लाख ६४ हजार, अन्डा बिक्रीबाट रु पाँच अर्ब ९१ करोड सात लाख छ हजार, चल्ला बिक्रीबाट रु दुई अर्ब सात करोड ६९ लाख ७० हजार तथा मल बिक्रीबाट रु २१ करोड ३९ लाख ७३ हजार आम्दानी भएको छ ।

नेपालमा व्यावसायिक कुखुरापालनमा कुल लगानी रु दुई खर्ब ७८ अर्ब ५३ करोड ८० लाख रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये ठूलो हिस्सा बैंक र वित्तीय संस्थाको ऋण रहेको छ । सञ्चालनमा रहेको व्यावसायिक कुखुरापालन गर्ने कृषकमध्ये चितवनका ५० प्रतिशत फार्मले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएको जनाएको तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ ।

देशका ६४ जिल्लाका २१ हजार ९५६ फार्ममा कृषकले व्यावसायिक कुखुरापालन गरेका छन् । जसमध्ये चितवन जिल्लामा मात्र एक हजार ९२३ फार्म सञ्चालनमा छन् । व्यावसायिक कुखुरापालनलाई प्रदेशगत रुपमा छुट्याउँदा सबैभन्दा बढी प्रदेश नं ३ मा ३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रदेश नं ७ मा ५ प्रतिशत रहेको छ । चितवनमा मात्र यसको प्रतिशत नौ रहेको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments