रित्तो बस्ती, बाँझो जमिन

बागलुङ — काठेखोला–५ कर्लिममा सयौं रोपनी जमिन बाँझिएको छ । दशक अघिसम्म धान, मकै र कोदो प्रशस्त फल्ने यहाँका जमिनमा वनमासा र पाती उम्रेको छ ।

रित्ता घर पनि भत्कने अवस्थामा पुगेका छन् । धमाधम घरजग्गा छाडेर बसाइँ सर्न थालेपछि गाउँ रित्तो भएको हो । खेतीयोग्य जमिन पनि प्रयोगविहीन भएको स्थानीय सुन्तली शाहीले बताइन् ।
अधिकांश युवा वैदेशिक रोजगारीका लागि जापान गएका छन् ।

उनीहरूका अभिभावक बसाइँ सरेर चितवन र नवलपरासी झरे । केहीले सदरमुकाममा घर बनाए । ‘आर्थिक विपन्नता भएका, शिक्षण पेसामा रहेकाले अन्यत्र जान नपाएका मात्र गाउँमा बाँकी छौं,’ कर्लिम आधारभूत विद्यालयका प्रअ लीलाधर कँडेलले भने, ‘उत्पादकत्व घटाएर बेसाहा खान बाध्य भएका छौं ।’ केही वर्ष अघिसम्म घरकै उत्पादनले खान पुग्नेले पनि बेसाहा खाएर खेत बाँझो बनाएको उनले बताए ।

वडा ५ को अधिकांश खण्ड, वडा ८ को पनि धेरै स्थानमा घर रित्ता छन् । त्यस्तै खेती गर्न छाडेर जमिन बाँझिएको हो । केही युवाले सामूहिक कृषि र बाँझिएको जमिनमा अलैंची र अम्रिसो लगाउने योजना बनाएका छन् ।

तर, परिवर्तित संरचनाअनुसार प्राविधिक सल्लाह र मल, बीउ पाउने समस्याले काम गर्ने चाहना मरेको किसानले बताए । ‘काम गर्ने चाहना भए पनि मल, बीउ समयमा पाइँदैन, प्राविधिक ज्ञान दिने कोही छैन,’ विष्णुमाया कँडेलले भनिन्, ‘गाउँ रित्तो भएर दिउँसै डराउनुपर्ने अवस्था छ ।’

युवाविहीन भएपछि कामदार पाउन समेत नसकेको उनले बताइन् । दशक अघि खेतीपाती लगाउँदा १० देखि १५ जना महिला, त्यत्तिकै संख्याका पुरुष मिलेर काम गरेको उनले स्मरण गरिन् । बसाइँ सराइले गाउँका एक/दुई घरमा बुढाबुढी र केटाकेटीमात्रै छन् । मकै गोड्ने, कोदो रोप्ने र धान रोप्ने काम गरिदिने कोही नभएपछि अधिकांशको खेत बाँझिएको उनले बताइन् ।

मानिस नभएपछि एक्लै बारीमा काम गर्दा उराठिलो भएको उनले गुनासो पोखिन् । यो गाउँका १ सय ८० घरमध्ये १५ वर्षमा ८५ घर रित्तिएका छन् । बसाइँ सरेका र जापान गएका युवाले परिवारै लगेका छन् ।

सदरमुकाम पसेकाहरूको केही आउजाउ बाँकी रहेको हो । बुढाबुढीले काम गर्न नसक्दा उनीहरू बसेका घर मात्र सद्दे छन् । वडाअध्यक्ष शिवप्रसाद कँडेलका अनुसार वडा ५ बाट झन्डै २ हजार मानिस जापान बस्छन् । उनीहरूले बिहुँकोट समाज जापान नामक संस्था खोलेका छन् । त्यहाँ २ हजार ३ सय सदस्य रहेको तथ्यांक छ ।

उनीहरूले गाउँको विकासका लागि भन्दै १ करोड रुपैयाँको कोष बनाएका छन् । तर उक्त कोषको उपयोग गरिदिने युवाको समेत अभाव भएको हो । उक्त कोषले शिक्षा, स्वास्थ्य र दैवीप्रकोप पीडितलाई उद्धार र राहतका लागि लगानी गर्ने प्रावधान छ ।

सडकको असुविधा, स्वास्थ्यचौकी, शिक्षा र सामाजिक सुरक्षाको अभावले धेरैले गाउँ छाडेको उनको अनुभव छ । बसाइँसराइले विद्यालयमा पनि असर परेको छ । करलिम आधारभूत विद्यालयमा अहिले सय विद्यार्थी पढ्छन् ।

‘तीन सयसम्म विद्यार्थी पढाएका थियौं, अहिले घटे,’ कँडेलले भने, ‘अझै घट्ने सम्भावना छ ।’ बसाइँ नसर्नेले पनि सदरमुकाम लगेर पढाउन थालेका छन् ।’ रेमिट्यान्स करोडौं भित्रिए पनि गाउँमा लगानी नभएको उनीहरूको बुझाइ छ । अधिकांशको लगानी घर र घडेरीमा परेको छ ।

खेत बाँझो भएपछि जंगल बढेकाले चितुवाले गाईभैंसी खाइदिने समस्या थपिएको स्थानीय डिलाराम कँडेलले बताए । ‘एक्लैले खेतीपाती गर्न नसकिने भयो, पैसा तिरेर पनि खेताला पाइँदैन,’ महँगो ज्याला दिए पनि कामदार नपाएको उनले गुनासो गरे ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?