लाभकारी नयाँ जातको धान

दमक — क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले विकास गरेको ‘गरिमा’ जातको धानप्रति झापाका किसान आकर्षित भएका छन् । यस वर्ष क्षेत्र विस्तार गरेर लगाएको गरिमा धानको उत्पादन राम्रो भएपछि किसान खुसी देखिन्छन् ।

राम्रो उत्पादन दिने घरेलु धानको बिउ नपाएका जिल्लाका किसान सूचीकृत नभएका ‘रञ्जित’ र ‘स्वर्णा’ जातको धानको बिउ लगाउँदै आएका छन् । ‘रञ्जित’ र ‘स्वर्णा’ भारतीय धानको बिउँ हो ।

तथ्यांकअनुसार जिल्लामा ५० प्रतिशतभन्दा बढी जमिनमा किसानले रञ्जित धान लगाउँदै आएका छन् । स्वर्णा १७ प्रतिशत बढी क्षेत्रफलमा लगाउने गरिन्छ । तर दुई वर्षदेखि परीक्षणका रूपमा लगाउन थालिएको गरिमा जातको धान राम्रो फलेपछि किसान यसप्रति आकर्षित भएका हुन् ।

गरिमा धान यस वर्ष जिल्लाको कचनकवल गाउँपालिका, गौरादह नगरपालिकालगायत स्थानमा ६० बिघा क्षेत्रफलमा रोपिएको थियो । किसानका अनुसार यस वर्ष गरिमा धान प्रतिबिघा ८० मनका दरले फलेको छ ।

गरिमा धान, रञ्जित र सर्ना भन्दा करिब एक महिनाअघि नै पाक्ने गरेको छ । गौरादहस्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाअन्तर्गत नमुना एकीकृत खेतीले यस वर्ष ११ बिघामा गरिमा धान फलाएको छ ।

खेती आसपासका किसानले थप १० बिघा जमिनमा गरिमा जातको धान फलाएका छन् । कचनकवलस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन क्षेत्रका किसानले करिब ४० बिघामा यो धान फलाएका छन् ।

‘यो धान रञ्जित र सर्ना भन्दा निकै राम्रो लाग्यो । नेपालमै विकास गरेको बिउ भए पनि प्रतिबिघा ८० मन फलेको छ,’ नमुना एकीकृत खेतीका अध्यक्ष बेधनिधि चापागाईले भने, ‘यो धान रञ्जित र सर्ना भन्दा एक महिनाअघि नै फल्यो । यसले गर्दा किसानको मेहनत र सिँचाइ पनि कम लाग्यो ।’

यो धानको बोट होचो कदको भएकाले खेतमा बिग्रिने सम्भावना पनि कम रहेको चापागाईले बताए । यसको पराल नरम भएकाले गाईवस्तुले पनि खान रुचाएको उनले बताए । ‘यो धान छिट्टै काटेर भित्र्याउन पाएकाले किसानले त्यो जमिनमा चाँडै अर्को बाली लगाउन पनि पाए,’ चापागाईले भने ।

यो जातको धान रोपेको एक सय २० दिनमा पाक्ने गरेको छ । मसिनो र बास्नादार चामल हुने भएकाले खाना पनि स्वादिष्ट हुने गरेको तरहराका वरिष्ठ बाली वैज्ञानिक सन्तोष त्रिपाठीले बताए । उनले यो जातको धानको रोगसँग लड्न सक्ने क्षमता भएकाले बाली राम्रो सप्रिने गरेको बताए ।

झापा, मोरङ, सुनसरीको हावापानीमा यो जातको धान राम्रो सप्रिएको त्रिपाठीले बताए । किसान आकर्षित भए पनि यो धानको बिउ पनि नेपालमा सूचीकृत छैन । ‘हामी यो जातको धानको बिउ सूचीकृत गर्ने अन्तिम तयारीमा छौं,’ त्रिपाठीले भने, ‘यो धानमा लाग्न सक्ने रोग, किरा, यसका खराबीलगायत सबै परीक्षण गरेर यसको डीएनए माथिल्लो निकायमा पठाएका छौं ।’

त्रिपाठीले रञ्जित जातको धानले नेपालमा अन्य धान बालीमा रोगको संक्रमण फैलाएको बताए । उनले गरिमा धानलाई सूचीकृत गरेर अघि बढाउन सके अवैध रूपमा किसानले लगाउँदै आएको रञ्जित धानको बिउ विस्थापित हुने बताए ।

सरकारले चाँडै गरिमा धानलाई सूचीकृत गरेर किसानसम्म पुर्‍याउनुपर्ने जेटीए कल्पना खतिवडाले बताइन् । ‘गरिमा धानलाई सूचीकृत गरेर अघि बढाउन सकियो भने हाम्रा किसानले धेरै ठूलो राहत पाउने छन्,’ उनले भनिन्, ‘रञ्जित सूचीकृत पनि छैन ।

यसले नेपालमा विभिन्न रोगको संक्रमण फैलाउने काम पनि गरेको छ । यसबाट किसानको बाली पनि नष्ट भएको छ । बिमा नहुने भएकाले त्यसको क्षतिपूर्ति समेत पाउने गरेका छैनन् । जसले गर्दा किसानलाई दोहोर मार पर्ने गरेको छ ।’कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments