भुजुङको चिया विदेशमा

लमजुङ — नांगो पाखो । उन्युको झाडी ।काँडाघारी । गाईभैंसी चरन । डेढ दशकअघि क्व्होलासोंथर गाउँपालिका ४, भुजुङ गाउँका माथिल्लो पाखा यस्तै थियो ।

कामै नलाग्ने पाखोबारीमा स्थानीयले इलामबाट चियाको बेर्ना ल्याएर रोपे । परीक्षणका लागि १० रोपनीमा लगाएको चियाखेती पछिल्ला दिनमा हरियालीमा परिणत हुँदै गयो । गाउँकै त्रिभुवन विद्याश्रम माविनजिकै खेती गरिरहेका उनीहरूले हरेक वर्ष थप जग्गामा चियाखेती विस्तार गरे । साविक भुजुङ गाविस १ देखि ९ नं. वडाका सबैले सामूहिक रूपमा चिया खेती गरे ।

‘हातले माडेर प्रशोधन गरिएको चिया घरघरै वितरण भयो । भुजुङमा सहरबाट जाने चिया रोकियो । बिस्तारै चिया हेर्न पर्यटक आए,’ होमस्टे सञ्चालिका जुनी गुरुङले भनिन्, ‘अहिले हामीलाई बढी भएर चियालाई बजार पठाउने गरेका छौं । भुजुङको चिया अहिले अमेरिका–बेलायतसम्म पुगेको छ । हङकङ–बु्रनाईसम्म पुगेको छ ।’ विदेशमा रहेका आफन्तलाई कोसेलीको रूपमा गाउँकै चिया पठाउने गरिएको उनले बताइन् । घुम्न आउने विदेशी पर्यटकले पैसा दिएर गाउँको चिया किन्ने गरेको उनले बताइन् ।

डेढ दशकमा १० रोपनीबाट फैलिएर चिया खेतीको क्षेत्रफल २ सय ५० रोपनीमा पुगेको छ । स्थानीयले हरेक बर्ष चिया खेती बिस्तारै गर्दै आएको वडा सदस्य पित्रमान गुरुङले बताए । ‘यस वर्ष मात्रै हामीले ११ रोपनी क्षेत्रफलमा ८ हजार बिरुवा रोप्यौं । अर्को वर्ष पनि रोप्ने योजना छ,’ उनले भने । उनका अनुसार चिया खेतीमा सिंगो भुजुङ गाउँका करिब ४ सय घर परिवार लागेका छन् । सामुदायिक रूपमा गरिएको चिया खेतीमा सबैको हक लाग्छ । भुजुङमा व्यक्तिगत रूपमा पनि १५ रोपनी क्षेत्रफल बढी जग्गामा चिया खेती गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चिया खेती थालेका हुन् । हरेक वर्षको चिया खेतीमा एक्यापले सहयोग गर्दै आएको छ । चियाका बिरुवा नि:शुल्क उपलब्ध गराउँदै आएको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताए । ‘सुरुमा गरिएको चियाखेतीले बजारको चिया रोकियो । पछिल्लो समय स्थानीयको जीवनस्तर उकास्न र आन्तरिक तथा बाहय पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ,’ उनले भने ।

उनका अनुसार भुजुङको चिया बेंसीसहर, पोखरा, काठमाडौं, चितवनलगायत सहरबजारमा पठाइने गरिएको छ । भुजुङबाहिर यत्तिकै संख्यामा गाउँवासीको बसोबास छ । ‘गाउँको अर्गानिक चिया अहिले स्वदेशका बजारमा मात्रै नभएर हङकङ, बेलायत, अमेरिका पठाउन थालेका छन्,’ उनले भने ।

उनका अनुसार गाउँ घुम्न आउने पर्यटकले गाउँको चिया खरिद गरी लाने गरेका छन् । सुरुमा ३ वर्षको परीक्षण सफल भएपछि भुजुङवासीले २०५९ देखि थप चिया खेती विस्तार गरेका थिए । गुप्ताका अनुसार भुजुङमा तक्दा ७८ र गुम्दा नामक चिया खेती गरिएको उनले बताए ।

समुद्री सतहदेखि १ हजार ६ सयदेखि १ हजार ७ सय मिटरको उचाइको ठाउँमा गरिएको चिया पुस र माघबाहेक १५/१५ दिनको फरकमा टिप्ने गरिएको स्थानीय बताउँछन् । अहिले गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरिएकाले गाउँमै चियाको प्रशोधन हुने गरिएको छ । पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँमा उत्पादन गरिएको चिया पर्यटकको रोजाइ बनेको छ । ‘भुजुङमा आएपछि कोसेली के लाने ? भनेर सोध्छन् ।

हामीले चियालाई अघि सारेका छौं,’ उनले भने, ‘गाउँमा आएका पर्यटकलाई गाउँमै उत्पादित चिया खुवाएपछि पर्यटकले यसको स्वाद थाहा पाउँछन् र लाने गरेका छन् ।’ वडा अध्यक्ष खिमबहादुर गुरुङले होमस्टेमा आउने पाहुनालाई सबैभन्दा पहिले भुजुङमै उत्पादन गरिएको चिया खुवाउने गरिएको बताए । हेर्न चहानेको लागि चियाबारीमा लाने व्यवस्था छ । ‘चिया खेतीमा घरघरका सबै खटिएका छौं । आफैं रोप्छौं, गोडमेल गर्छौं, टिप्छौं र चिया बनाउँछौं,’ उनले भने ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments