जागिरभन्दा कृषिमा रमाउँदै

वीरेन्द्रनगर — वीरेन्द्रनगर–१०, रहरपुरकी इन्दु शाही पेसाले शिक्षिका हुन्  । नयाँघुस्रा बालविकास केन्द्रमा पढाउने शाहीले आठ वर्षदेखि व्यावसायिक तरकारी खेतीलाई निरन्तरता दिइरहेकी छन्  ।

उनले तरकारी खेतीबाट सिजनमा ४० हजारसम्म आम्दानी गरिरहेकी छन् । जागिरभन्दा कृषिले आफूलाई सन्तुष्टि दिएको शाहीको भनाइ छ । ‘मन लागे पनि नलागे पनि जागिरमा जानैपर्‍यो, कृषि मनको काम हो,’ उनले भनिन्, ‘आफ्नो मर्जीले काम गर्न पाइन्छ, सन्तुष्टि पनि छ र पैसा पनि ।’

अहिले शाहीको बारीमा टमाटर र करेला फलेका छन् । तरकारी लगाउने सिजन सुरु भयो । बारीको एक छेउमा काउली, बन्दाकोपी, ब्रोकाउलीका बेर्ना तयार भइसकेका छन् । आलुको बीउ पनि तयार छ । एक हप्तामा धान काटेर तिहारअघि नै तरकारी लगाइसक्ने योजना उनको छ । हिउँदमा आलु, काउली, मुला, बन्दाकोपी, सागलगायत तरकारी बारीभरि हुन्छ ।

गर्मीमा बोडी, काँक्रा, करेला, लौका, फर्सी, भिन्डी, सागलगायत तरकारी लगाउँछिन् । व्यावसाय गरे थोरै भए पनि रकमको अभाव नहुने शाहीको अनुभव छ । ‘बारीमा थोरै भए पनि तरकारी कहिल्यै खाली हुँदैन । अफ सिजनमा पनि दिनमा एक/डेढ सय रुपैयाँको बिक्री भइहाल्छ,’ उनी भन्छिन्, ‘तरकारी धेरै हुने सिजनभरि ४० हजारसम्मको तरकारी बेच्छु ।’

साबिक जिल्ला कृषि विकास कार्यालयले आठ वर्षअघि टोलमा कृषक समूह गठन गरेर तालिम दिएपछि कृषिमा लागेको शाहीको भनाइ छ । ‘त्यसअघि आफूले खाने तरकारीसमेत किन्नुपर्‍थ्यो,’ उनले भनिन्, ‘काम गर्नको सुख थियो, तरकारी खानको दु:ख ।’ उनका अनुसार त्यसबेला समय धेरै खाली हुन्थ्यो । समय बिताउन गाह्रो पथ्र्यो अचेल समय पुग्दैन । बिहान घरको काम सकेर शाही बारीको काममा लागिहाल्छिन् । खाना खाएर पढाउन जान्छिन् । बिदाको दिन अनि फुर्सदको समय बारीमै हुन्छिन् । ‘मेहनत धेरै गर्नुपर्छ,’ शाही भन्छिन्, ‘खेतीमा एउटा नभए अर्को हुन्छ, मेहनत गर्न छोड्नुहुँदैन ।’

बजार नजिकै भएकाले तरकारी बिक्रीमा समस्या छैन । खाली बस्नुभन्दा तरकारी खेती गर्न शाहीले अरूलाई सुझाउने गरेकी छन् । मेहनत गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनले बताइन् । बारीभरि आफ्नो मेहनतले उब्जाएको तरकारी देख्दा उनलाई निकै आनन्द लाग्छ ।कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments