घलेगाउँमा चिया पर्यटन

लमजुङ — पाल्पा रामपुरकी सीता मल्लले घलेगाउँको चिया खेतीबारे निकै सुनेकी थिइन् । हेर्न किनै मन थियो । समूह नै लिएर आएपछि उनको रहर पूरा भयो ।

आमा समूहले चिया खेती गरेको सुन्नमा आएपछि आफू अध्यक्ष रहेको प्रगतिशील आमा समूहका १४ जना मिलेर आए । चियाखेती हेरे । चिया बगानमा रमाए । ‘चिया बगान निकै रमाइलो लाग्यो । घुमिरहौं जस्तो, टिपौंटिपौं जस्तो,’ उनले भनिन्, ‘हाम्रो ठाउँमा पनि यसरी नै चियाखेती गरेर पर्यटक बोलाउन पाए हुन्थ्यो जस्तो लाग्यो ।’

सँगै आएकी देवी रानाले घलेगाउँको एउटा गतिलो घुम्ने ठाउँ चियाबारी भएको बताइन् । ‘सबैले चियाबारी, चियाबारी भन्ने । साँच्चै नै चियाबारीले मन लोभ्यायो,’ उनले भनिन्, ‘अरूतिर उजाड जस्तो देख्न थालेपछि चियाबारीको हरियालीले मन भुलायो ।’

दाङको घोराहीबाट आएका विशाल पोखरेलले घलेगाउँको चियाबारी र आमा समूहको चिया टिप्ने चलनले मोहित बनाएको बताए । ‘हामी चियाबारी हेर्न इलाम जान्छौं । चिया त घलेगाउँमै पनि रहेछ,’ उनले भने, ‘यहाँको होमस्टेमा बस्न र चियाबारी हेर्न रमाइलो भयो ।’ आँखैअगाडिको लमजुङ र अन्नपूर्ण हिमालको सामुन्नेको चियाखेतीले आफ्नो मन तानेको उनले बताए । ‘यो ठाउँ साँच्चिकै फिल्म सुटिङ, म्युजिक भिडियो बनाउन राम्रो ठाउँ हो,’ उनले भने ।

चिया खेतीको तरिका, प्रशोधन विधि र खपतको तरिकाबारे जानकारी लिँदै गर्दा चिया टिप्दै गरेकी कमला घलेले भनिन्, ‘तपाईले पिउनुभएको यही चिया हो ।’ उनले गाउँमा आउने पर्यटकलाई गाउँकै चिया, हातले माडेर प्रशोधन गरिएको चिया खुवाउने गरेको बताइन् । ‘चिया हेर्न धेरै पर्यटक आउनुहुन्छ । गाउँमा आउने धेरै पाहुना चिया बगानमा आउनुहुन्छ । हामीले चिया टिपेको हेर्नुहुन्छ । हामीसँगै फोटो खिचेर लानुहुन्छ,’ उनले भनिन् । अहिले पनि चिया टिप्नेदेखि यसको प्रशोधन कार्य आमा समूहले गर्दै आएको छ ।

स्थानीय शान्ता गुरुङले घलेगाउँको चिया महिनामा २ पटक टिपेर प्रशोधन गर्ने गरिएको बताइन् । ‘हामी मुना टिपेर घर लैजान्छौं । २४ घण्टा हावामा ओइलाउन दिएपछि यसलाई हातले माडेर चिया तयार पारिन्छ,’ उनले भनिन् । उनका अनुसार ओइलिएपछि चिया आफैं कालो रङको हुन आउने र माडेपछि चिया तयार हुन्छ ।

घलेगाउँको चिया अहिले करिब ७ सय रोपनीसम्म फैलिएको चिया नर्सरी व्यवस्थापन समितिका संयोजक यमप्रसाद घलेले बताए । घलेगाउँबासीले २०५४ सालदेखि चियाखेती थालेका थिए । २०५७ देखि व्यावसायिक चियाखेती थालेका थिए । सुरुमा १५ रोपनी क्षेत्रफलबाट चियाखेती सुरु गरिएको थियो । उनका अनुसार स्थानीयले चिया नर्सरी स्थापना गरेर बर्सेनि चियाखेती विस्तार गर्दै लगेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङले बिरुवा दिएपछि चिया खेती थालेको घलेगाउँबासी अहिले आफैं बिरुवा उमारेको घलेले बताए । एक्यापको सहयोगमा २ सय
रोपनीमा चिया खेती गरिएको छ । यसको तारजाली, पर्खाललगायत लगाउन तत्कालीन जिल्ला भू–संरक्षण कार्यालयले सहयोग गरेको थियो ।

घलेगाउँमा तक्दा ७८, तक्दा ३८३ र गुम्ती जातका चिया रोपिएका छन् । ‘हाम्रो चिया देशविदेश पुगेको छ । पाहुनाले लाने गरेका छन् । विदेशका आफन्तले मागेपछि पठाउने गरिएको छ,’ अध्यक्ष घलेले भने ।
क्व्होलासोंथर गाउँपालिका ३ मा पर्ने घलेगाउँ समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा अवस्थित छ । घलेगाउँमा प्राय: जाडो भइरहने भएकाले चियाको अत्यधिक खपत हुने गरेको स्थानीय बताउँछन् ।

यसको गोडमेल भने गाउँबासी मिलेर गर्ने गरेका छन् । क्व्होलासोंथर गाउँपालिका अध्यक्षसमेत रहेका पर्यटन विकास समिति घलेगाउँका अध्यक्ष प्रेम घलेले पर्यटकलाई आकर्षित गराउने एउटा माध्यम चियाखेती बनेको छ । ‘हाम्रोमा सामुदायिक चिया खेती हो । बाँडफाँट समुदायमै हुन्छ । यसले सामूहिक भावनामा एकता गराएको छ ।यही एकता र सामूहिक कार्य देखेर पर्यटक रमाउँछन्,’ उनले भने ।

एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले ग्रामीण भेगमा गरिएको चियाखेतीले स्थानीय आत्मनिर्भर मात्रै नभई व्यावसायिक बन्न सिकाएको बताए । ‘गाउँमा आउने पर्यटकलाई मात्रै होइन । देशविदेश पठाएर आमा समूहले आम्दानी पनि गर्ने गरेका छन्,’ उनले भने ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments