बाख्रा बेचेर चौंरी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका ३ स्थित तेम्बाथानका वाङ लामा शेर्पाले सुरुमा बाख्रापालनमा गरे । सोचे जस्तो आम्दानी गर्न सकेनन् । बजार नजिक नहुँदा खसीबोका बिक्री गर्न समस्या भयो । गाउँमा यातायातको सुविधा छैन ।

एक दिनको पैदल यात्रापछि मात्र मोटरबाटो देख्न पाइन्छ । मोटरबाटो फेला परे पनि गाडी चढ्न झन्डै डेढ दिन पैदल हिँड्नुपर्ने बाध्यता छ । त्यही भएर खसीबोका डोर्‍याउँदा डोर्‍याउँदा दिक्क भएका उनले विकल्पका रूपमा चौंरीपालन रोजे ।

१८ वटा बाख्रा बिक्री गरी १२ वटा चौंरी किने । बाख्राबाट ९२ हजार रुपैयाँ मात्र आयो । एउटा दुध दिने चौंरीको मूल्य ५० हजारदेखि ५५ हजार रुपैयाँसम्म पर्छ । ‘बाख्रा बेचेर मात्र सबै चौंरी किन्न कहाँ सकिन्थ्यो,’ उनले भने, ‘गाउँमा ऋण पनि खोजें, अहिले घिउ र छुर्पी बिक्री गरी ऋण तिर्दै छु ।’ उनको ८ जनाको परिवार छ । घिउ र छुर्पी बिक्री गर्न बजारको समस्या छैन । गाउँमै ग्राहक आउँछन् । उनी मात्र होइन । गाउँका अधिकांशले व्यावसायिक रूपमा चौंरी पालेका छन् ।

आम्दानीको मुख्य स्रोत नै चौंरी बनेको छ । जहाँ घाँस हुन्छ, त्यही चौंरी गोठ सार्ने गरिन्छ । गाउँ छाडेर चौंरी गोठ सार्नेहरू धेरै छन् । तेम्बाथानका ठिलेन शेर्पा अहिले ३० वटा चौंरी लिएर निमाडोल्मा पुगेका छन् । ‘चौंरी पाल्न थालेको ३० वर्ष भयो,’ गोठमा छुर्पी बनाउँदै गर्दा भेटिएका उनले भने, ‘अहिलेसम्म राम्रै आम्दानी भएको छ, परिवार यसैले पालिएको छ ।’ उनका अनुसार घिउ धार्नीको २ हजार रुपैयाँमा बिक्री हुन्छ । छुर्पी धार्नीको १ हजार ६ सय रुपैयाँ पर्छ । उनले मंसिरमा गाउँबाट गोठ सारेर निमाडोल्मा पुर्‍याएका हुन् ।

‘गाउँमा घाँस छैन, चौंरी पाल्ने धेरै छन्,’ उनले भने, ‘त्यही भएर जहाँ घाँस हुन्छ, त्यहीँ गोठ सार्ने चलन छ ।’ फागुनसम्मका लागि उनलाई चिन्ता छैन । त्यसपछि गोठ यम्बागाङमा सार्ने उनले सुनाए । अहिले भित्ता, पाखा, बारी जताततै चौंरीका गोठ देखिन्छन् । ‘छुर्पी र घिउको माग धेरै छ,’ उनले भने, ‘त्यसैले चौंरीको संख्या बढाउने सोचमा छु ।’ लामो समयदेखि चौंरी पाल्दै आए पनि सरकारी निकायबाट अहिलेसम्म सहयोग नपाएको उनले गुनासो गरे । ३ नम्बर वडाको गुम्बाथान, दीपु, नेसन खोला, निमाडोल्मा चौंरीका ६० वटा गोठ छन् । अधिकांशले पुर्खौंदेखि चौंरी पाल्दै आएको सुनाए ।

‘बाजेको पालादेखि पाल्न थालेको हो,’ स्थानीय ५५ वर्षीया निमु गेल्मु शेर्पाले भनिन्, ‘यसैले १० जना परिवारलाई अहिलेसम्म खानलाउन पुगेको छ ।’ उनको गोठमा ९ वटा चौंरी छन् । परिवार नै मिलेर चौंरीको रेखदेख गर्छन् । गाउँकै स्थानीयले छुर्पी र घिउ जम्मा गरेर काठमाडौं ल्याएर बिक्री गर्ने गर्छन् । तेम्बाथानमा १ सय ६० घरधुरीको बसोबास छ । जहाँ चौंरी र बाख्रापालन आम्दानी स्रोत बन्ने गरेको छ ।कान्तिपुर

Leave a Reply

Your email address will not be published.