खेर जान्छ लेकाली आलु

प्यूठान — जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउँलीबाङका दुर्गाबहादुर घर्ती प्रत्येक वर्ष एक सय क्विन्टल आलु उत्पादन गर्छन् । खलेसबाङ उपत्यकास्थित बारीमा उत्पादन हुने आलु बेचेर अहिलेसम्म आम्दानी गरेका छैनन् । प्रत्येक वर्ष असार–साउनमा आलु खन्छन् । बजार पुर्‍याउन नसक्दा कुहिएर त्यसै खेर जान्छ ।

‘यस वर्ष बारीको पाटाभरि आलु छ,’ उनले भने, ‘खन्ने समय हुन थाल्यो । बजार अभाव विगतको जस्तै हो ।’ खलेसबाङमा मोटर बाटो पुगेको छैन । मान्छेलाई ढुवानी गराउँदा महँगो पर्छ । त्यसैले अहिलेसम्म आम्दानी गर्न नसकेको घर्ती बताउँछन् । ‘८/१० रुपैयाँ प्रतिकिलो पनि बिक्दैन,’ उनले भने, ‘लेकको आलु मिठो भनेर के गर्नु ।’

घर्ती मात्र होइन उत्तरी प्यूठानको दुर्गम खलेसबाङमा आलुखेती गर्ने ८० भन्दा धेरै किसानको यहीँ अवस्था छ । किसानले आलु बेचेर नुन तेलको जोहोसमेत गर्न सकेका छैनन् । स्थानीयले उत्पादन गरेको आलु हरेक वर्ष खेर जाने गरेको वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले बताए । ‘खलेसबाङमा सबैले आलुखेती गर्छन्,’ उनले भने, ‘किसानले टनका टन आलु उत्पादन गर्छन् । कहिल्यै आम्दानी भएर सन्तुष्ट भने छैनन् ।’ उनले खलेसबाङलाई आलु जोन पकेट क्षेत्र घोषणा गरेर शीतभण्डार निर्माण गरी अफ सिजनमा बेच्न सके किसानलाई केही राहत हुने बताए ।

‘खलेसबाङसम्म सडक पुग्ने अवस्था छैन,’ उनले भने, ‘विकल्प भनेको भण्डारण गरेर अफ सिजनमा बजार पुर्‍याउने हो ।’ स्याउँलीबाङ ठूलोगाउँसम्म रजबारा हुँदै सडकको ट्र्याक खोलिएको छ । ठूलोगाउँसम्म आलुका बोरा पुर्‍याउन पनि समस्या हुने सेन ठकुरीले बताए ।

‘हिउँदमा ठूलोगाउँसम्म ट्याक्टर आउँछ,’ उनले भने, ‘एकपटकको भाडा ४० हजार रुपैयाँ तिर्नुपर्छ । किसानलाई फाइदै छैन ।’ प्रतिकिलो ४० रुपैयाँभन्दा बढी ढुवानी खर्च पर्छ । त्यसैले किसानले उत्पादन गरेको आलु खेर जाने गरेको ठकुरीले बताए । चिप्स बनाएर बेच्नका लागि स्थानीय किसानलाई तालिमको व्यवस्था मिलाउने तयारी गरेको सेन ठकुरीको भनाइ छ ।

पशुचौपाया पाल्न खलेसबाङ क्षेत्रमा गोठ बनाएर बस्ने र गोबर मल प्रयोग गरेर आलु उत्पादन गर्दै आएको स्थानीय चूडामणि घर्तीले बताए । गोबर मल प्रयोग गरेर आलु लगाउँदा उत्पादन बढ्ने गरेको उनले बताए । ‘खलेसबाङमा एक खेती आलु मात्र लगाउने चलन छ,’ घर्तीले भने, ‘बर्सेनि करोडौंको आलु कुहेर खेर जान्छ ।’ उनले खलेसबाङमा उत्पादन भएको आलु नौबहिनी ६ बाहानेमा मान्छेले बोकाएर पुर्‍याउँदा प्रतिकिलो एक सयभन्दा बढी मूल्य पर्न जाने बताए ।

‘उच्च पहाडी उपत्यका भएकाले खलेसबाङमा आलुबाहेक अरू उत्पादन हुँदैन,’ उनले भने, ‘त्यसैले सबैले बाध्यताले आलु लगाउँछौं ।’ चिसो हावापानीमा फलेको आलु धेरै मिठो हुने भन्दै उपभोक्ताले मन पराउने भए पनि मोटरबाटो नहुँदा बेच्न समस्या परेको घर्तीले बताए ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?