खेताला पाउन हम्मे

बाँके — दिनभर किसान खेतमा व्यस्त देखिन्छन् । कोही बीउ काढिरहेका । कोही जोत्न र रोप्नमा । यसरी काम गर्नेमा युवा पुस्ता भने बिरलै भेटिन्छन् । खेतला नपाउँदा किसानलाई काम निम्ट्याउनै हम्मेहम्मे भएको छ । चलनचल्तीको भन्दा बढी पारिश्रमिक दिँदासमेत खेताला नपाएको किसानको गुनासो छ ।

युवा वैदेशिक रोजगारमा जाने क्रम बढेको छ। घरमा काम गर्ने बूढाबूढी मात्र छन्। यहाँ भएका युवाको खेतीमा रुचि छैन। खेत बाँझै छाड्नुभन्दा खेताला लगाएर रोप्ने चाहना धेरैको छ। खेती गर्ने मजदुर पाउन भने मुस्किल छ। नेपालगन्ज उपमहानगरपालिका–२० की कौसा यादवले शनिबार धान रोप्न मुस्किलले सातजना खेतला फेला पारिन्। यसका लागि उनले कोहलपुरसम्म पुगेको बताइन्।

घरमा बुहारी छ। मधेसी समुदायमा बुहारीले खेतमा काम गर्नु राम्रो मानिँदैन। पुरुषहरू भारतमा मजुदरी गर्न जान्छन्। ‘काम गर्ने मान्छे पाउनै गाह्रो छ,’ उनले भनिन्, ‘बारी बाँझै छाड्न भएन।’ जानकी गाउँपालिका–७ कि आरती बर्माको एक बिघा खेत छ। उमेरले ६५ टेकेकी उनी आफैं खेतमा धाउँछिन्। बिहान ६ बजे धानको बीउ काढ्न सुरु गरेकी उनी साँझसम्म त्यहीँ थिइन्। ‘एक्लै आधा काम सक्नुपर्छ’, उनले भनिन्, ‘पैसा दिन्छु भन्दा पनि काममा आउने मान्छे छैनन्।’

उनका घरमा तीनजना बुहारी छन्। छोराहरू विदेशमा। खेतमा खासै काम गर्ने चासो नदेखाएपछि उनी बाध्य भएर एक्लै कस्सिएकी हुन्। बुहारीले घरमा खाना पकाएर दिनुपर्छ, बाहिर आउनु हुँदैन भन्ने संस्कारका कारण आरती चाहेर पनि खेतको काममा लगाउन सक्दिनन्। अलि उमेर पुगेका पाका महिलाले भने खेतमा काम गर्छन्। ‘तरुनी बुहारी खेतमा जाँदैनन्,’ उनले भनिन्, ‘छोराहरूले पनि मन पराउँदैनन्। त्यसैले खेतमा काम गर्ने बूढाबूढी नै हो।’

जानकी गाउँपालिका–५ का विश्वराज बर्माका ७ भाइछोरा छन्। उनीहरू घरमा सँगै हुँदा ८ कट्टा खेतमा धान रोप्न बाहिरको मान्छे बोलाउनै पर्थेन। ७० वर्षीय बर्मा अहिले एक्लै छन्। दुई छोरीको बिहे भइसक्यो। छोरा भारतमा व्यापार गर्छन्। खेताला लगाउनु भनेर पैसा पठाउँछन्। ‘गाउँमा काम गर्ने मान्छे भने पाइँदैन,’ उनले भने, ‘दिनको ५ सय रुपैयाँ ज्यालामा १ सय बढी थपेर दिन्छु भनेपछि मुस्किलले ५ जना पाएँ।’

धेरै मिहिनेत गरेर फेला पारेका कामदारलाई उनले देवतासरह भएको बताए। उनका अनुसार अहिलेको समय खेतमा काम गर्ने मान्छे पाउनु भगवान् जस्तै हो। पहाडबाट तराई झरेका महिलाले धान रोप्ने गरेको बर्माले बताए। सल्यान घर भएकी पूर्ण रोकायाका अनुसार उनी साउनभरि कोहलपुर भएका आफन्तको घरमा बस्छिन्। आफन्तको खेतमा रोपाइँ गर्न आएकी उनले त्यही मौकामा खेताला जाने बताइन्। दुई महिनामा उनले खेत रोपेरै २० हजार रुपैयाँ कमाइ गरेको सुनाइन्। सहरमा काम गर्ने मान्छे छैनन्।

त्यसैले उनी तराईमा मजदुरी गर्न आउने गरेको बताउँछिन्। यस्तै नेपालगन्ज नयाँ बजारकी अनिता खडकालाई दैनिक ५ देखि ७ जनाले धान रोप्न बोलाउँछन्। एक दिनमा दुई ठाउँसम्म खेताला जान भ्याउने उनले बताइन्। ‘घरमा यत्तिकै बस्नुभन्दा रोपाइँ गरेर रमाइलो गर्दै आम्दानी हुन्छ,’ उनले सुनाइन्।

प्रदेश सरकारले कृषि यान्त्रीकरण गर्नका लागि ठूलै रकम बजेट छुट्याए पनि त्यसको अभ्यास व्यापक हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए। प्रारम्भिक चरण भएकाले किसानले यान्त्रिक खेतीबारे बुझ्न समय लाग्ने उनले सुनाए। उनका अनुसार खेतमा काम गर्ने जनशक्तिकै अभावका कारण खेत बाँझो देखिने गरेका छन्।

यसै वर्ष मेसिनले रोप्ने यान्त्रिक प्रविधि दुई ठाउँमा दिएको उनले बताए। त्यसको प्रयोगबारे कृषकलाई बुझाउन अझै समय लाग्छ। ‘हामीले यान्त्रिक प्रविधिमा जोड दिएका छौं, अर्को वर्ष पक्कै किसानलाई मेसिनबाट खेती गर्ने बानी बस्छ,’ उनले भने, ‘यसले छिटोछरिदो र सस्तो खेती हुन्छ।’कान्तिपुर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments