रेशम खेती तर्फ किसानको आकर्षण बढ्दै

दाङ : दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना भएर व्यावसायिक ‘सेतो सुन’को खेती भएको छ ।

यसबाट अर्थोपार्जनसँगै वातावरण पनि संरक्षण हुन्छ । किम्बुका बिरुवा रोपिएको वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । रेशम कीराले बनाएको धागोबाट बनेका कपडा नरम स्वास्थ्यवर्द्धक मानिन्छ । यो जाडो र गर्मी दुवै याममा लगाउन सकिन्छ ।

हडैया गाउँमा रेशमको व्यावसायिक खेती धादिङका रामनाथ अधिकारीले भित्र्याएका हुन् । दाङमा रेशम खेतीको राम्रो हावापानी र मौसमले साथ दिने सम्भावना देखेपछि चार वर्ष पहिले पहिलो पटक उनले रेशम खेती गरेका थियो । अधिकारी सफल भएको देखेर उहाँलाई पछ्याउँदै आफूहरुले पनि रेशम खेती गर्न थालेको स्थानीय किसान बताउँछन् । देउखुरीमा रेशम खेती गरी आयआर्जन गर्नेहरु दिन प्रतिदिन बढ्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको धान, मकै बालीको सट्टा रेशमखेतीतर्फ उनीहरु आकर्षित भएका हुन् । रेशम खेतीका लागि किसानले क्षेत्र विस्तार गरेर उत्पादन बढाएको देखिन्छ ।

गढवा –४ हडैयामा शाह रेशम खेतीका नाममा रामलक्ष्मण शाहले २०७५ सालदेखि तीन बिघा जमीनमा व्यावसायिक रेशम खेती गरेका छन् । रेशम कीरा पाल्नका लागि किम्बुका बिरुवा हुर्काउनुपर्छ । राम्रोसँग उत्पादित घाँसमा ३५ देखि ३८ दिनमा रेशम कीरा तयार हुन्छ । पालिएका कीराबाट चारदेखि ६ पटकसम्म रेशम उत्पादन गर्न सकिने शाहले बताए । उनी भन्छन्, “प्रत्येक वर्ष बिरुवाका हाँगा काँटछाँट गर्ने, मलखाद, पानी हाल्ने र गोडमेलको काम नियमित रुपमा गर्नुपर्छ ।”

रेशम खेती गर्ने किसानलाई राज्यले अनुदान दिने गरेको छ । गढवामा कीरा उत्पादन घर र सिआरसी९पाल्ने घर० का लागि लुम्बिनी प्रदेश सरकारले ११ लाख ५० हजार प्रदान गरेको छ । कीराबाट अण्डा निकाल्ने घर बनाउन थप पाँच लाख अनुदान रकम आएको छ । आफ्नो जमीन बाँझो राखेर कामको खोजीमा वैदेशिक भूमिमा भौँतारिनुभन्दा सानै रुपमा भए पनि स्वदेशमा काम गर्न उपयुक्त हुने शाहले बताए । रेशम खेतीका लागि रोपिएका किम्बुका बिरुवाको घाँस बेचेर पनि आम्दानी गर्न सकिन्छ ।

रेशमका लागि किम्बुको बोट असारमा लगाउनु उत्तम मानिन्छ । किम्बुको पात राम्रोसँग पलाएपछि फागुन– चैतमा कीरा पालन शुरु हुन्छ । सो कीराबाट कोकुन (कोया)उत्पादन हुन्छ । रेशम खेतीका लागि आवश्यक किम्बु खेती समुद्री सतहबाट दुई सय मिटरदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म गर्नु उपयुक्त मानिन्छ । अनुकूल तापक्रम सहन सक्ने र खेती गर्न सुहाउँदो स्थानमा उपयुक्त जातको रेशम कीरालाई क्रसिङ गरेर फूल उत्पादन गर्ने र वितरण गर्ने काम स्वर्गद्वारी रेशम प्रशोधन केन्द्रले गर्दै आएको छ ।

गढवा –३ गोबरडिहाका अञ्जीत चौधरीले पहिले तरकारी खेती गर्दै आएका थिए । तरकारी खेती जस्तो रेशम खेतीमा मेहनत र समय खर्च गर्न नपर्ने भएपछि उनी आफू यता लागेको बताउछन् । आफ्नो र भाडाको गरेर नौ बिघा जमीनमा उनले किम्बु खेती गरेका छन् । शुरुमा दाङमा आएर अधिकारीले खेती गरेको देखेर काठमाडौं गई तालीम लिएर आफू यता लागेको चौधरीले बताए । गत वर्ष ३५ बाकस कीरा पाल्दा उनको राम्रो आम्दानी भयोे । उनी यस वर्ष पनि ३५ बाकस रेशम कीरा खेती गर्ने सोचाइमा छन् । कीरा पाल्नका लागि अहिले किम्बुका बिरुवाको हाँगा काँटछाँट गरेर नयाँ पालुवा पलाउने तयारीमा छ । चैतदेखि कीरा पाल्न उपयुक्त समय मानिन्छ ।

रेशम खेतीका तीन पक्ष हुन्छन्ः किम्बु खेती(आहारा विकास), कीरापालन तथा कोया उत्पादन र कोया प्रशोधन (रलिङ) । चीनले दोस्रोदेखि अठारौँ शताब्दीसम्म एशिया, युरोप र अफ्रिकासम्म रेशम व्यापारका लागि रेशममार्गको विकास गरेको थियो ।

गढवाका किसानले रेशम खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनीहरुलाई हौसला प्रदान गर्न गाउँपालिकालाई रेशम क्षेत्र बनाउने योजना रहेको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले वताए । रेशम खेती प्रवर्द्धन गर्न प्रदेश सरकारले १५ लाख र गाउँपालिकाले पाँच लाख बजेट विनियोजन गरेका छन् ।

कृषि ज्ञानकेन्द्र दाङका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले एक रोपनी जग्गामा एक मौसममा एक बाकस कीरा पाल्न सकिने बताए । । उनका अनुसार एक बाकस कीराबाट लगभग ६० किलोग्राम रेशमको कोया उत्पादन गर्न सकिन्छ जसबाट २० किलोग्राम रेशम धागो उत्पादन हुन्छ । रेशम चार चक्रमा पूरा हुन्छ : फुल अवस्था १० देखि १२ दिन, प्युपा १२ देखि १४ दिन, लार्भा २० देखि २५ दिन र पूर्ण कीरा २५देखि २८ दिन । रेशमले चार पटक काँचुली फेर्छ । सो काँचुली १० ग्राम वजन र ८ देखि १० सेन्टीमिटर लामो हुन्छ । सामान्यतया एक कोयामा आठ सय देखि एक हजार दुई सय मिटर लामो धागो निस्कन्छ ।

सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि ‘सेरिकल्चर’तर्फ कृषकको चासो बढेको छ । प्रत्येक वर्ष किसानको आय र आपूर्तिका आधारमा कार्ययोजना बनाई बजेट तर्जुमा गरिने र तिनलाई अनुदानको व्यवस्था गरिएको श्रेष्ठले बताए । रेशम खेतीमा लागेका किसानलाई कृषि ज्ञानकेन्द्रबाट शाह रेशम खेती फर्म गढवा, राप्ती रेशम खेती कृषि फर्म गढवा, चौधरी कृषि तथा पशुपक्षी फर्म गढवा, गुराँस किम्बु खेती प्रशोधन प्रवर्द्धन फर्म लमही, इशा रेशम खेती गढवा, हीरालाल रेशम खेती गढवा र केबी कृषि रेशम गढवालाई अनुदान प्रदान गरिएको जनाइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments