नेपालमा किवीफल खेती प्रविधि

किवीफल

परिचय

संसारका विभिन्न फलफुलहरु मध्यमा विकिसत मुलुकहरुमा किवीफल कैयौं शताब्दी अघि देखि नै खेती र प्रयोगमा रहेता पनि हाम्रो देश नेपालमा भने यो फल भर्खरै मात्र जानकारीमा आएको हो । साधारण भाषामा ‘किवी’ भन्नाले न्युजिल्याण्डको राष्ट्रिय चरा भन्ने बुझिन्छ । यो हेर्दा खैरो देखिनुका साथै निकै ठुलो पनि हुन्छ । किवी फलको खेतिको शुरुवात १६‌औं शताब्दीमा चाइनाबाट भएको पाइन्छ । त्यस बेला यस फलको नाम चाइनिज भाषामा ‘Yang tao’ थियो ।

किवी फलमा संसारभर पाइने फलहरुमा भएको तत्वहरुको अलावा भिटामिन ‘सी’ अत्याधिक मात्रामा पाइने हुनाले यस फललाई ‘राजा फल’ भनेर चिनिन्छ भने युरोप र अमेरिकामा सर्वोत्कृष्ट फल भनेर चिनिन्छ । बेलायतको कृषि मन्त्रालयले संसारभर पाइने विभिन्न फलफुलहरुको परिक्षण गर्दा किवी फलमा अन्य फलहरुमा पाइने भन्दा धेरै नै बढि मात्रामा भिटामिन, प्रोटिन, मिनरल र अन्य तत्वहरु पाइएको तथ्य समेत सार्वजानिक गरेको छ । यो हेर्दा चाइनिज गुजेवरी वा ठेकीफल जस्तै देखिएता पनि नेपालमा भने यसलाई ‘झुसेफल’ को रुपले चिनिन्छ । किवीको बैज्ञानिक नाम एक्टिनिडीया डेलिसियोसा (Actinidia deliciosa) हो।

किवीफलको साभावना र महत्व

किवीफलको विशेषता र स्वभाव अनुसार चिसो हावापानी, आद्रता बढि भएको, सिंचाई सुविधा भएको जमिन आवश्यक पर्ने भएकोले १००० मिटर देखि २४०० मिटर सम्मको उचाईमा पर्ने पूर्व देखि पश्चिमसम्मको लाखौं हेक्टर पहाडी भू-भागमा यसको खेती गर्न सकिन्छ। नेपालमा किवीफललाई महत्वकासाथ जोड दिनु पर्ने कारण बुँदागत रुपमा तल दिईएको छ।

१.उत्पादन प्रविधि सजिलो छ (Easy production technology):

यो फलको खेति प्रविधि त्यती जटिल छैन, सजिलैसँग कृषकले अपनाउन सक्दछन् । यो फलको खेति गर्दा पहिलो बर्ष खाल्टो खन्न, बिरुवा खरिद गर्न र सपोर्ट व्यवस्थापन गर्नुपर्ने भएकाले लगानी बढि लाग्दछ । बगान स्थापना गरिसके पछि दुई पटक काँटछाँट र मलजल दिने त्यसपछि वर्षमा दुई चार पटक गोडमेल र गर्मियाममा सिंचाई गर्ने गरे पुग्छ । वर्षैभरि खटिरहनु पर्ने झन्झट पर्दैन ।

२.राम्रो उत्पादन लिन सकिन्छ (High yield):

नेपालमा करिव ७/८ वर्षका बोटहरुले ५० देखि ७० किलोग्राम सम्म उत्पादन दिएको पाईएको छ । अझ राम्ररी खेती व्यवस्थापन गर्न सकिएमा उत्पादन बढ्न सक्ने अनुमान गर्न सकिन्छ । यो फल प्रत्यक वर्ष फल्दछ ।

३.बजारमुखी तथा निर्यातमुखि छ (Market oriented exportable fruit):

हाल नेपालमा यसको बजार प्रमुख रुपमा सुपरमार्केटमा निकै महँगोमा सिजन अनुसार रु.४०० देखि ८०० प्रति किलोमा विक्री भैरहेको पाइन्छ । हाल शहर बजारमा यसको महत्व बुझेका उपभोक्ताहरु मात्र यसका ग्राहक हुन भने भविष्यमा यसको उपभोक्ताहरु बढ्न जाने देखिन्छ ।

४.बढी आम्दानी लिन सकिने (High income):

यो फल जमिनको आकार हेरेर प्रति रोपनी जमिनमा १५ देखि २० बोट अटाउछ र १० देखि १५ वटा मात्र बोटमा फल लागेको हिसावले प्रतिगोटा ५० के.जि फलेमा प्रतिरोपनी ५०० देखि ७५० केजि फल फल्दछ र न्युनतम रु १०० प्रति केजि विक्री गरेमा पनि प्रतिरोपनि प्रतिबर्ष रु. ५०,००० देखि ७५,००० आम्दानी लिन सकिन्छ ।

५.लामो समय सम्म भण्डारण क्षमता (Storability for long duration):

यो फल कार्तिक मंसिर महिनामा टिप्ने भएकोले ६ देखि ८ हप्ता खुल्ला ठाउँमा नै भण्डारण गर्न सकिन्छ । यदि कोल्ड स्टोरमा जेरो डिग्री सेल्सियसमा राख्न सकियो भने ६ देखि ८ महिना सम्म राख्न सकिन्छ । यसरी करिव ८/१० महिना सम्म किवीफलको व्यवस्थापन मिलाउने सम्भावना देखिन्छ ।

६.रोजगारीको अवसर बढाउँछ (Promote employment opportunity)

७.राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा दिन्छ (Direct impact on national economy)

८.जलवायु परिवर्तनको असर कम हुने (Less effect of climate change)

हावापानी र माटो

किवीफल चिसो आद्रता भएको हावापानी रुचाउने बाली हो। त्यसैले यसको खेती शितोष्ण देखि समशितोष्ण हावापानी भएको भू-भागमा गर्न सकिन्छ। यसको स्वभाव पतझड भएकोले यसको हिउँदमा पात झरी बोट सुशुप्त अवस्थामा रहन्छ । नेपालको सन्दर्भमा समुद्री सतहबाट १०००-२५०० मिटर उचाई भएका क्षेत्रमा यसको खेती गर्न सकिन्छ र उपयुक्त पनि मानिन्छ । किवीफलको लागी सापेक्षिक आद्रता बढि भएको राम्रो मानिन्छ। बार्षिक ‌औषत बर्षा १५०० मि.मि उपयुक्त हुन्छ। किवीफललाई प्रशस्त प्राङ्गारीक पदार्थ भएको बलौटे दोमट वा दोमट माटो उपयुक्त हुन्छ तर चिप्टाईलो उपयुक्त हुदैन। माटोको पि.एच. ६.५-६.९ उपयुक्त हुने र ७ भन्दा बढि भएमा म्यागनिज कमिको लक्षण देखाउन थाल्छ। किवीफलमा माटो खुकुलो हुन जरुरी छ।

जग्गाको तयारी र बिरावा रोप्ने

बिरुवा रोप्दा ८*८ वा ६*४ वा ५*५ मिटरको दुरीमा सिधा धर्सामा रेखाङ्कण गरी एक मिटर गहिराई र एक मिटर चौडाइ भएको खाडल खनी अर्गानिक मल तथा जैविक मल प्रयोग गरी माटो र मल राम्ररी मिलाई खाडल पुरी १-१.५ उचो गरी पानी नजम्ने गरी बिरुवा रोप्नु पर्छ। बिरुवा रोपिसकेपछि फेदमा मल्चिंग गर्न आवश्यक हुन्छ। अर्गानिक मल २५-३० के.जी प्रति वर्ष आश्वीन, कार्तिक, फाल्गुन र चैत्रमा दिने गर्नुपर्दछ। यो परागसेचनका लागि आवश्यक हुन्छ तथा खेती गरीएको ठाउँमा मौरी पालन र पशु पालन गर्नु लाभदायक हुन्छ। किवीफलको खेति गर्दा कलमी गरीएका बिरुवाको धेरैजसो प्रयोग गरिन्छ ।

सिंचाईः

किवीफलको जरा गहिरो तर्फ भन्दा माथिल्लो सतह २ फिटमा नै फैलने भएकोले सो ठाउँमा सधै चिस्यान कायम रहेमा बोटको विकास राम्रो हुन्छ । एउटा बगानको लागि ८ महिनाको वृद्बि विकास अवधिमा १००० लिटर पानीको आवश्यक पर्छ जसको आधा पानी ३ महिना गर्मियामको अवधिमा आवश्यक पर्छ। यो यामको सुरुसँगै फूल फक्रने परागसेचन कार्य हुने र नयाँ चिचिलाहरु आउने अवस्था भएकोले सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ र यदि माटो सुख्खा हुन गएमा उत्पादनमा नकरात्मक असर पर्दछ।

किवीफलका जातहरुः

क. हरियो गुदी भएका जातहरुः

१.हेवार्डः यो विश्व भरी समावेश भएको जात हो।फलको आकार ठुलो र आकर्षक (८०-१०० ग्राम) हुन्छ र ढिलागरि पाक्ने जात हो। फल गोलो र हल्का चेप्टो हुन्छ। यसलाई बढि चिलिंग घण्टा (६००-८००) चाहिने हुनाले बढि उचाईमा खेती गर्दा उपयुक्त हुन्छ।

२.एलिसनः बोक्रामा बाक्लो खैरो झुस भएको मध्यम राम्रो भण्डारण क्षमता भएको हुन्छ। यो जातमा फूल छिटो फूल्ने र हरियो गुदी भएको जातहरुमा यसलाई कम चिलिंग भए पुग्छ।

३.मोन्टीः यो मध्यम सिजनमा तयार हुने जात हो यसको आकार लाम्चो ठुलो हुन्छ र फलको टुप्पोतर्फ थेप्चो हुन्छ। यो जातबाट प्रशोधित खाद्यवस्तुहरु जस्तै जाम, जेली, जुस, तथा वाइन बनाउनका लागि राम्रो मानिन्छ।

४.ब्रुनोः हरियो गुदी भएको जातहरुमा यो अगौटे जात हो। अत्यधिक फल लाग्ने र कम चिलिंग भए पुग्ने फलको आकार गोलो, लामो (Cylindrical) र टुप्पोतर्फ नाइटो जस्तै अलि उठेको हुन्छ। यसमा बीउको संख्या धेरै हुने भएकोले नर्सरीमा रुटस्टक तयार गर्नको लागि उपयुक्त हुन्छ।

५.एव्बोटः यो जातको फल सानो र गोलाकार हुन्छ। यसमा फल धेरै बाक्लो लाग्ने स्वभावको हुन्छ। चिलिंग अवधि कम आवश्यक पर्छ।

ख. भाले जातहरु:

१. मचुवा (Matua): यो अगौटे फूल फूल्ने भाले जात हो । झुप्पामा ३-४ वटा फूलहरु हुन्छन् । यो भाले जात विशेष गरी एलिसन, ब्रुनो, मन्टी, एव्बोट जातको लागि उपयुक्त हुन्छ ।

२. टोमरी (Tomuri): यो पछौटे फूल फूल्ने हेवार्ड जस्तो पछौटे जातलाई परागशेचन गर्न उपयुक्त जात हो । झुप्पामा ५ वटा सम्म फूलहरु हन्छन् ।

ग. रातो तथा सुनौलो गुदि भएका जातहरु:

१. हर्ट १६(Hort 16): यसको गुदि पहेंलो हुन्छ र बोक्रा चिल्लो झुस नभएको हुन्छ ।

२. रेड किवी (Red kiwi): रातो गुदि भएको यो फल भित्र बीउ छरिएर रहेको विच भागमा अलि बढी गाढा रातो र अन्य गुदी पहेलो रंगको हुन्छ ।

उपयोग

किवीफल ताजा फलफूलको रुपमा त्यसलाई तासेर चाना बनाई खाईन्छ साथै फलको बिचबाट काटी चम्चाको साहायताले पनि खान सकिन्छ र उक्तफललाई दुई भाग पारी मुखमा लगेर ‌औलाले थिचेमा पनि बोक्रा हातमा र गुदी मुखमा पर्न जान्छ।

किवी फललाई विश्वभरि नै प्रसोधनमा ल्याइसकेको छ। यसबाट विभिन्न परिकार जस्तैः जाम, जेली, वाइन आदि विभिन्न मुलुकहरुको बजारमा पाइन्छन् र विकसित मुलुकमा चकलेट, क्यान्डी, केक, आदि परिकारमा किवीफलको प्रयोग हुने गरेको पाइन्छ साथै किवीफलको प्रयोग कस्मेटिक समानहरुमा पनि प्रयोग गरेको पाइन्छ ।

मलखाद ब्यवस्थापन

नेपालमा हालसम्म मलखादको परिमाणको अनुसन्धान तथा परिक्षण भएको छैन तर नेपाल कृषि अनुसन्धान परिषद (नार्कले २-५ वर्षको बोटलाई ३० किलोग्राम कम्पोष्टमल, १२० ग्राम नाईट्रोजन, ६० ग्राम फस्फोरस र ६० ग्राम पोटास प्रति वर्ष र ५ वर्ष पछि ४० किलो कम्पोष्टमल, ८०० ग्राम नाईट्रोजन, ६०० ग्राम फसफोरस र ६०० ग्राम पोटास प्रति वर्ष (किवी खेति प्रविधि २०१३/१४) सिफारिस गरेको छ। यसको साथै किवीफलमा बोरन, जिंक, मोलिब्डेनम लगायतका शुक्ष्म खाद्यतत्वहरु ३५-४० ग्राम प्रतिबोट राख्नु पर्दछ। कम्पोष्टमल नभएको अवस्थामा अन्य जैविकमल जस्तै गड्यौलीमल, जैविकमल आदि।

काँटछाँट

किवीफलको बोट असाध्यै चाँडो बढ्ने प्रकृतिको हुन्छ। तसर्थ यो बोटलाई छरितो बनाउन हरेक वर्ष बढेको करिव ७५ प्रतिशत भाग काटेर हटाउनु पर्छ र चाहिने भन्दा बढी हाँगाहरु राख्नु हुँदैन। किवीफललाई वर्षमा दुई पटक काँटछाँट गर्नु पर्दछ।

१. हिउँदमा गरिने काँटछाँटः काँटछाँट गर्दा पुराना एक आपसमा बाझिएका, रोग र किरा लागेका, कमजोर तथा भाँचिएका हाँगा लहराहरु हटाई फल फल्ने नयाँ लहराहरु पलाउने उपयुक्त वातावरण सिर्जना गर्नपर्दछ। भरसक एउटा लहराबाट अर्कोको दुरी ८-१२ ईन्च रहने गरी बाँकि काटेर हटाउनु पर्दछ। यिनै लहरामा अर्को वर्ष फल लाग्छ। फललागिसकेको हाँगामा अर्को वर्ष फल लाग्दैन त्यसकारण उक्त हाँगा काट्नु पर्दछ।

२. बर्षे काँटछाँटः साधारणतया फललाग्ने हाँगाहरु (canes) को फेँदतिरबाट ४-१२ गाँठाबाट निस्केको फललाग्ने मुना (spurs) मा फल लाग्छ । तसर्थ लहरिने टुप्पा छाँटि दिनु उपयुक्त हुन्छ जसले गर्दा फल गुणस्तरिय हुनुका साथै हाँगा समेत मजबुत हुन्छन् । बर्षायाममा वर्षे हाँगा अथवा चोर मुना धेरै निस्कन्छन र त्यसको काँटछाँटमा विशेष ध्यान दिन पर्छ।

फल टिपाई

किविफल बोटमै पकाइदैन र खानयोग्य हुनेगरी पाक्दैन । फललाई हेरेर छामेर पाकेको नपाकेको पत्ता लगाउन सकिदैन। फलको पाक्ने दिनको हिसावले अनुमान लगाउन सकिन्छ, फल लागेपछि २२० दिनमा फल टिप्न योग्य हुन्छ भने पातहरु सुकेर झर्न थालेपछि पनि फल छिप्पिएको भन्न सकिन्छ । छिप्पिएको फलको बिउहरु काला रङ्गका हुन्छन् तसर्थ फलको बीउ हेरेर पनि अनुमान लगाउन सकिन्छ। फलको झुस औंलाले मिँच्दा सजिलै झरेमा परिपक्क भएको मान्न सकिन्छ । फलमा गुलियोपनको आधारमा फल छिप्पिएको पत्ता लगाउने वैज्ञानिक विधि पनि छ । यसको लागि फलको जम्मा घुलनशिल चिनिको प्रतिशत जाँच्नु पर्दछ, यदि यसको मान ७ देखि ९ प्रतिशत डिग्री ब्रिक्स छ भने फल टिप्न तयार भएको बुझ्नु पर्छ । फल पुरा पाकेपछि १५-१७ प्रतिशत डिग्री ब्रिक्स पुग्छ ।

भण्डारण

यदि किवीफललाई पाक्नु अघि ०डिग्री से. र ९० देखि ९५ प्रतिशत सापेक्षिक आद्रता भएको कोल्डस्टोर गरेमा करिव ६ महिनासम्म राख्न सकिन्छ साथै पाकेको फललाई रेफ्रीजिरेटरको चिलिंग तापक्रम (४-५ डिग्री से.) मा ३ हप्ता देखि १ महिना सम्म राख्न सकिन्छ ।

लेखक: रबिना चौलागाईं (कृषि विद्यार्थी ,जिरी टेक्निकल स्कुल दोलखा)

Leave a Reply

Your email address will not be published.