सीप हस्तान्तरण नहुँदा लोप हुँदै पुख्र्यौली पेशा

डोको बुनेरै बित्यो जवानी

गलकोट :कुनै बेला बागलुङको बडिगाड गाउँपालिका–४ जलजला चोयाको उत्पादन सामग्रीका रूपमा प्रख्यात थियो । जलजलाका शशिराम विकले १५ वर्षको उमेरमा चोयाका सामग्री उत्पादन गर्न सिक्नुभयो । बुवा धनबहादुरबाट चोयाका सामग्री उत्पादन गर्न सिक्नुभएका शशिरामले तीन छोरालाई उक्त सीप सिकाउन भने सक्नुभएको छैन ।

परम्परागत र पुख्र्यौली पेशाले जीवन धान्नै समस्या भएको, झन्झटिलो हुने, बढी समय खर्च हुने र सोचेजस्तो बिक्री हुन छोडेकाले अहिले पुख्र्यौली पेशा छोराहरूलाई सिकाउन समस्या भएको शशिराम विकको भनाइ छ । जलजलका शशिरामजस्तै गाउँका २५ भन्दा बढी घरको आम्दानीको स्रोत थियो निगालाको चोयाबाट निर्माण गरिएको मान्द्रो, थुन्से, भकारी, डाला र नाङ्ला । तर पछिल्लो समय सीप हस्तान्तरण नहुँदा यो पेशा लोप हुने अवस्थामा छ । २८ वर्षदेखि चोयाका मान्द्रा, थुन्से, भकारी, डाला र नाङ्ला उत्पादन गरी बिक्री गर्दै आउनुभएका विकले अहिले त्यही पेशा सङ्कटमा परेको बताउनुहुन्छ ।

गुजारा चलाउनै मुस्किल होला भनेर उहाँले सोच्नुभएको थिएन, तर अहिले चोयाको सामग्री बिक्री हुनै छाडेको छ । निगालोको चोयाबाट उत्पादन भएका सामग्री गाउँघरमा खेतीपातीको काम गर्नेहरूका लागि अत्यावश्यक भए पनि विस्तारै खरिद गर्नसमेत छाडेका छन् । “मेरा एक छोरी र तीन छोरा छन्, छोरीको विवाह भयो, छोरा विदेश जाने आउने गर्छन्, मैले बुवाबाट यो सीप सिकेँ, छोराहरूले पनि पुख्र्यौली सीप सिके काम लाग्थ्यो भन्ने लाग्छ, तर कमाइ नहुँदा म निराश छु”, विकले भन्नुभयो, “अहिले गाउँमा चोयाका उत्पादित सामग्री बनाउने मान्छेको अभाव भइसक्यो, मेरो घरमा म नभएपछि यो पेशा बन्द हुने देखियो, छोराछोरीले सीप सिक्न चाहेनन् ।” विकले अहिले चोयाका सामग्रीसमेत कम बिक्री हुनु र पुस्ता हस्तान्तरण नहुँदा यो पेशा लोप हुने अवस्था आएको दुःखेसो गर्नुभयो ।

बलेवास्थित अमलाचौरमा अहिले नौ परिवारले काठको ठेकी बनाउने पेशा थाम्दै आएका छन् । सुरुमा २० चुदारा परिवारले ठेकाठेकी बनाउने पेशा अँगाल्दै आए पनि विस्तारै वैदेशिक रोजगारीप्रतिको आकर्षण, पछिल्लो पुस्ताको बेवास्ता र सीप पछिल्लो पुस्तामा हस्तान्तरण नुहँदा ठेकाठेकी बनाउने पेशा लोप हुने खतरामा पुगेको प्रेमबहादुर चुदाराले बताउनुभयो ।
“अहिले मुस्किलले नौ परिवारकाले मात्रै परम्परागत विधिबाट ठेकी बनाउने काम गर्दै आएका छौँ, आधुनिक उपकरणको विकासले ठेकीको व्यापार कम भइसक्यो”, चुदाराले भन्नुभयो, “पहिलो धेरै जना थियौँ, अहिले कम भइयो, नयाँ पुस्ताले सिक्नै चाहेनन्, विदेशको मोह छ, हाम्रै छोरा नातिले सिक्न चाहेनन्, त्यसैले लोप हुने अवस्थामा पुग्यो ।” बलेवाका चुदारा परिवार गुल्मी जिल्लासम्म पुगेर दार र गुराँसको काठ किनेर ठेकी बनाएर बिक्री गर्दै आएको छ ।

बागलुङको पहिचानसँग जोडिएको बाँसको निगालोमा खोपेर बनाइने चित्र (बुट्टेनली) अहिले देखिनै छाड्यो । पुस्तामा सीप हस्तान्तरण नहुँदा बागलुङ बजारमा एक जना मात्रैले बुट्टेनली बनाउँदै आउनुभएको छ । सीप सिकाउन खोज्दासमेत कसैले सिक्न नचाहेका कारण बुट्टेनली सङ्कटमा पर्न थालेको वसन्तजङ्ग राजभण्डारीले गुनासो गर्दै आउनुभएको छ । बागलुङको पहिचानका रूपमा रहेको हातेकागज, बुट्टेनली, ठेकाठेकी, नाङ्ला र डाला बनाउने पेशा लोप हुने अवस्था आएको छ ।(रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?