रैथाने जात तथा बालिको महत्व र यिनको संरक्षणमा सामुदायिक बिउ बैंङ़कको भुमिका

विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन् । जसमध्ये दस जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जङ्गली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा मात्र सिमित छन् ।

रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ । यि बालिहरुको कृषि आनुवांशिक स्रोतहरू बाली प्रजनन अनुसन्धान र विकासका लागि मूल्यवान् ठानिन्छन् , साथ साथै खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि महत्पूर्ण मानिन्छन् । रैथाने बालीले विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसमजस्तै– सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन्, जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् । यसका साथै,यि बालिहरु देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित भएका छन् ।

नेपालमा पछिल्लो समय विभिन्न बालीहरूको नयाँ जातको विकास र विस्तार तथा रैथाने बालीको व्यवसायीकरणभन्दा आयातीत बालीको खेतीमा बढी जोड दिएसँगै देशमै रहेका रैथाने बालीहरू भने लोपोन्मुख अवस्थामा छन् ।स्थानीय हावापानी अनुकूलका, रोग, कीरा सहने बाली मासिँदै जानु खाद्य सुरक्षाका लागि मात्र होइन, जैविक विविधताकै दृष्टिले पनि चिन्ताजनक मानिन्छ ।यि बालीहरू कृषि विकास तथा व्यवसायीकरणको प्राथमिकतामा नपर्दा नेपालको आनुवांशिक स्रोत नै हराएर जाने तथा देशका विकट क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा झन् जटिल बन्ने खतरा पैदा भएको छ ।यि रैथाने बालीको व्यवसायीकरणमा किसानहरुले अनेकैँ समस्याहरु झेल्नुपेरको छ,जस्तैः उक्त बालीहरुको बीउ सहज उपलब्ध नहुनु पनि एक हो ।

गुणस्तरीय मानव जीवनयापनका लागि अत्यावश्यक पोषणयुक्त खाद्यान्नको आवश्यकता अनुसार उपलब्धता, पहुँच, उपभोग र त्यसको स्थिरता निरन्तर भएमा मात्र खाद्य सुरक्षाको प्रत्याभूति हुन्छ।दिर्गकालिन रुपमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन पहिले खाद्यान्नमा आत्मनिर्भर हुनु अपरिहार्य हुन्छ।साथसाथै जसरि बलियो घरको लागि बलियो जगको आवश्यक पर्छ, त्यसारि नै खाद्यान्नमा आत्मनिर्भरताका लागि बिउमा रहेको परनिर्भरताको विकल्प खोज्नु भन्दा अरु उपायले दिर्गकालिन समाधान नदिने कुरालाई कसैले पनि नकार्न सकिदैन्। त्यसैले किसानले चाहेको बेलामा गुणस्तरीय बीउ सहज रुपमा सुलभ मूल्यमा आवश्यक स्थानमा उपलब्ध गराउनु भनेको खाद्य सुरक्षाको सुनिश्चितताको लागि बलियो जग बसाल्नु हो ।

जसका लागि स्थानीय स्तरमा उपलब्ध भएका रैथाने बालीका जातहरुबारे तथ्यांक संकलन गर्ने, बीउ मेलाको आयोजना गरी जम्मा भएका बीउलाई सामुदायिक बीउ तथा फिल्ड जिन बैंक स्थापना गरी राख्न सकिन्छ।जसले गर्दा उन्नत जातको वर्णशंकर बिउको बढ्दो प्रयोगसँगै लोप हुने अवस्थामा पुगेका स्थानीय तथा रैथाने जातको संरक्षण हुनुका साथै स्थानीय हावापानीसँग सुहाउने, रोगकिरा सहन सक्ने, गुणस्तरीय, जलवायु परिवर्तन तथा प्रतिकूल मौसम अनुसारका नयाँ जातका बीउ विकास गर्न सकिन्छ।यसो गर्नाले स्थानीय धर्म र संस्कृतिसँग सम्बन्धित तर लोपोन्मुख भएका जातहरुसहित ती जातबारे ज्ञान, सीप र प्रविधिका विषयमा अभिलेखीकरणसहित संरक्षण गर्न सकिने भएकाले भावि पुस्ताका लागि महत्वपूर्ण योगदान पुग्नेछ ।

आफ्नो छुट्टै मैलिकता बोकेका रैथाने जात तथा बालिको संरक्षणको लागि महत्वपुर्ण मानिएको सामुदायिक बीउ बैंक एउटा यस्तो बैंक हो जसमा पैसाको कारोबारको सट्टा किसानको लागि आवश्यक बीउविजनको कारोबार गरिन्छ । यसको स्थापना र व्यवस्थापन कुनै पनि स्थानीय सहकारी संस्था वा कृषक समूहले गरेर स्थानीय तथा उपलब्ध उन्नत जातका बीउहरु जम्मा गरी प्रत्येक बीउको बारेमा आवश्यक जानकारीको साथ उपयुक्त तापक्रम, आद्रता कायम गरी सुरक्षित भण्डारण गरी बीउको नियमित उत्पादनका साथै सुलभ रुपमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइन्छ ।सामुदायिक जिन बैंकअन्तर्गत सामुदायिक बीउ बैंक र सामुदायिक फिल्ड जिन बैंक गरी दुई प्रकारका बैंक पर्दछन ।

जसमा सुकाउन सकिने बालीहरु धान, मकै, गहुँ, दलहन आदि लाई सुरक्षित साथ भण्डार गर्ने सामुदायिक बीउ बैंक र सुकाउन नसकिने अथवा बीउ नै उत्पादन गर्न नसकिने बाली जस्तै आलु, फलफुल, विभिन्न तरकारी आदिलाई संरक्षण गर्न फिल्डमा नै लगाई रहने सामुदायिक फिल्ड जिन बैंक स्थापना गरी दिगो रुपमा कृषि जैविक विविधताको संरक्षणमा योगदान पुराउन सकिन्छ । सामुदायिक फिल्ड जिन बैंक एउटा यस्तो ठाउँ हो जहाँ बीउको रुपमा सुरक्षित राख्न नसकिने बालीहरुको खेती निरन्तर रुपमा साधारण तरिकाबाट नै गरी तिनको अस्तित्व कायम गरिन्छ ।

यस्ता फिल्ड बैंकहरु सार्वजनिक क्षेत्र जस्तै मठ मन्दिर वरिपरी, बाटोघाटोको छेउछाउ, नदीको किनारा, सार्वजनिक बगैँचा आदिमा स्थापना गरी ठूलो बोट हुने जातहरु २ देखि ५ ओटा र सानो आकारको जातहरु ५ देखि १० वटाको संख्यामा लगाउने र सकेसम्म धेरै जातहरु समावेश गर्न सकेमा पुराना जातका फलफूल तथा तरकारीलाई लोप हुनबाट बचाउन सकिन्छ साथै किसानले चाहेको बेला राम्रो, रोगकीरा सहने जात पाउन पनि सक्छन् र अनुसन्धान कर्ताको लागि अनुसन्धान स्थलको रुपमा विकास हुन सक्छ ।

सामुदायिक बीउ बैंक नेपालको लागि नयाँ कुरा त होइन तैपनि धेरैजसोका लागि नयाँ अवधारणा हुनसक्छ। विश्वका धेरै देशमा जस्तै हाम्रो देश नेपालमा पनि वि.स २०५१ देखि ललितपुरको दल्चोकी देखि सुरु भएर हालसम्म विभिन्न ठाउँमा करिब ११५ भन्दा बढी सामुदायिक बीउ बैंक स्थापना भएका छन् तर ती बैंकमा सबै कृषकको समान पहुँच पुग्न सकेको छैन। कृषकका लागि बीउ प्राप्त गर्ने श्रोतको रुपमा रहेका कृषि अनुसन्धान केन्द्र, कृषि फर्म केन्द्र, एग्रोभेट, बीउविजन कम्पनी आदिले मुलुकको बीउको मागलाई धान्न नसकेको यस परिपक्षमा यिनको विकल्पको रुपमा सामुदायिक बीउ बैंकलाई अब भने एकीकृत र थप परिस्कृत बनाउँदै लगेर, सम्पूर्ण स्थानीय तहलाई जिम्मेवारी दिई प्रत्येक तहमा कम्तिमा एउटा सामुदायिक बीउ बैंक र सामुदायिक फिल्ड जिन बैंकको अवधारणा अगाडि बढाउँदै गएमा खाद्य सङ्कटको जोखिमलाई कम गर्ने एक बलियो जग बन्न सक्छ।

हाईब्रिड बीउको बढ्दो प्रयोगसङ्गै केही दशकयता नेपालमा बालीको उत्पादन केहि हद सम्म बढेको पाएता पनि ती बालीमा रोगकिराको संक्रमण बढी देखिने, कुनैमा फल नै नलाग्ने चुनौति,वर्षामा निर्भर खेति विधिमा जलवायुमा आउने अप्रत्यासित परिर्वरतन सहन नसक्ने, प्राप्त मात्रामा बाह्य वस्तु जस्तै रासायनिक मल आवश्यक पर्ने,आवश्यक सिपयुक्त जनशक्ति तथा प्रविधिको कमिले स्थानिय स्थलमा उत्पादन गर्न नसकिने,परनिर्भरको कारण समयमा उपलब्ध नहुने जस्ता विविध समस्या नदेखिएका पनि होइनन् ।यी यावत् समस्यालाई मध्यनजर गर्दै सरकारी, गैरसरकारी तथा अन्य निकायहरुले देशभरी नै स्थानीय रैथाने जातका र देशमै विकास गरिएका उन्नत जातका बालीहरुको बीउको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन गरि हरेक स्थानिय निकाय हुदैँ सिङ्गो राष्ट्रलाई नै आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो। यसका लागि प्रत्येक स्थानिय निकायमा सामुदायिक बीउ बैंकको स्थापना र संचालन गरि परनिर्भरताका कारण निम्तिएका विगरल समस्यालाई कम गर्दै, बीउविजन आपूर्तिमा सहजता लिई खाद्य सुरक्षाको अनुभूति गराई दिगो रुपमा कृषि क्रान्ति गर्नु अपरिहार्य मनिन्छ।

खाद्य सुरक्षाका हिसाबले मात्र नभएर आत्मनिर्भरताको पक्षले पनि एक दरिला आधारहरु मानिएका रैथाने बालि तथा जातको ‘सबै बिउ सबैका लागि हो’ भन्ने उदेध्श्यका साथ उत्पादनको जग मानिएको बालिको बिउ सबै किसानलाई सहज र सर्वसुलभ ढङ्गले समयमा नै उपलब्ध गराउने एक उत्तम वैकल्पिक आधार सामुदायिक बीउ बैंक हो भन्ने कुरामा कुनै दुविधा छैन्।यसको विकास गर्न सकेमा आफुसँग भण्डार गर्ने ठाउँ नहुदाँ पनि किसानले आफ्नो लागि आवश्यक पर्ने जात चाहेको समय सम्म भन्डार गर्न र समय अनुसार पुराना जातहरुलाई परिमार्जित गर्दै जातिय सुधार गर्न सक्छन् साथ साथै स्थानिय जातहरुको प्रदर्शनस्थल पनि हुने हुदाँ विभिन्न सङ्घ संस्थासँग समन्वय बढ्न जान्छ जसले गर्दा पर्यटन प्रवर्द्रनमा समेत टेवा पुग्छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments