रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर :रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् ।

जिल्लाको दिङ्लाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ । रुद्राक्षको मूल्यमा गिरावट आउनुमा यसको उत्पादन राम्रो बनाउन पछिल्लो समयमा औषधिको प्रयोग गर्नाले पनि मूल्यमा कमी आएको व्यवसायी सुजन राईको भनाइ छ । किसानले जेठ, असारमा रुद्राक्षको बोटमा औषधिको प्रयोग गर्ने गरेका छन् ।

रुद्राक्षको मुखदार दानाको मूल्य रु १० हजारदेखि रु ४० लाखसम्म पर्ने व्यवसायी राईको भनाइ छ । आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । वबजारमा सबै बढी २१ मुखे दानाको माग रहेको छ । २१ मुखे दाना आकारको आधारमा अहिले पनि रु सात लाखदेखि रु ४० लाखसम्ममा बिक्री हुने गरेको छ । रुद्राक्षमा हुने सबै गुण २१ मुखे दानामा हुने मान्यता रहेकाले यसको माग धेरै रहेको व्यवसायी राईले जानकारी दिनुभयो ।

यस्तो दाना कहिलेकाहीँ मात्र फल्ने गर्दछ । राम्रो आकार भएको पाँच र छ मुखे दाना प्रतिकेजी रु दुई लाखसम्ममा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । रुद्राक्षको मूल्य मुख, तौल तथा आकारका आधारमा निर्धारण हुने गर्दछ । यस क्षेत्रका एक जना किसानले ३० देखि पाँच सयसम्म रुद्राक्षका बिरुवा रोपेर व्यावसायिक खेती गर्दै आएका छन् । यहाँको स्थानीयको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो । सामान्यतः विगतका वर्षमा दुईमुखे दानालाई रु २० हजारदेखि ३० हजार, तीनमुखे रु तीन सयदेखि पाँच सयसम्म, पाँचमुखे रु ४० देखि एक सयसम्म, सातमुखे रु पाँच सयदेखि एक हजारसम्ममा किनबेच भए पनि अहिले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन् ।

त्यस्तै आठमुखे रु एक हजारदेखि तीन हजारसम्म, नौ, १० र ११ मुखे रु पाँच हजारदेखि दश हजारसम्म र बाह्रमुखे रु सात हजारदेखि बाह्र हजारसम्म बिक्री हुँदै आएको थियो । तेह्रमुखे रु दश हजारदेखि १५ हजारसम्म र १४ मुखे रु १० हजारदेखि दुईलाखसम्म बिक्री हुने गरेको थियो । अहिले १४ मुखे दानाको मूल्य रु आठदेखि दश हजारमा मात्र रहेको छ । अहिले मुखदारबाहेकका अन्य रुद्राक्ष अत्यन्तै कम मूल्यमा बिक्री भएको व्यवसायीले बताउने गरेका छन् ।

रुद्राक्षको बिक्रीमा विगतको तुलनामा ५० देखि ६० प्रतिशत मूल्यमा गिरावट आएको रुद्राक्ष व्यवसायी सङ्घ केन्द्रीय सचिव उत्तम कटुवालले जानकारी दिनुभयो । मूल्यमा गिरावट आएसँगै रुद्राक्षको व्यावसायिक कारोबार गरिरहेका व्यवसायी मारमा परेको कटुवालको भनाइ छ । मूल्य घटेपछि विगतका वर्षमा सङ्कलन गरिएको रुद्राक्ष भण्डारण गरेर राख्नुपर्ने बाध्यता रहेको समेत कटुवालले बताउनुभयो ।

कोभिड महामारीका कारण चिनियाँ व्यापारी रुद्राक्ष किन्न आउन छोडेपछि बिक्रीमा गिरावट आएको स्थानीय रुद्राक्ष व्यवसायी राईले जानकारी दिनुभयो । विगतमा प्राकृतिकरुपमा (औषधि प्रयोग नगरी) उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरीय मुखदार दाना फल्ने राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमी आएको राईको भनाइ छ । औषधिको प्रयोगले किसानको लागत भने बढाएको छ ।एकपटक औषधि प्रयोग गर्दा एउटा रुखका लागि रु १० देखि १२ हजारसम्म खर्च हुने गरेको छ ।

औषधिको प्रयोग नगरेको दाना बिक्री नहुने भएकाले किसानले अनिवार्यरुपमा औषधि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
“औषधि प्रयोग नगरेको दाना बिक्री नै हुन्न”, व्यवसायी राईले भन्नुभयो, “ औषधि प्रयोगले उत्पादन लागतसँगे उत्पादन बढाएको छ तर मूल्य घटेको छ ।” निकासी गर्दा पनि कर तिरेर लैजाँदा बाटोमा धेरै झन्झट हुने उनीहरुको गुनासो छ । नगरपालिकालाई प्रतिकेजी रु एक र मुखदार दानाको रु पाँच हजार निकासी कर तिर्दै आएको व्यापारी बताउँछन् ।रुद्राक्षलाई सहजरुपमा बिक्री वितरण गर्ने वातावरण बनाउन आवश्यक रहेको व्यवसायी राईले बताउनुभयो । यसलाई नगदेबालीका रुपमा बिक्री गर्न पाउनुपर्ने उहाँको भनाइ छ । मुखदारबाहेक अन्य दानाको मूल्य धेरै घटेको व्यवसायी राईले बताउनुभयो ।

“अहिले मुखदार दानाको मात्र खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले चिनियाँ व्यापारी कम आउने गरेका छन् । त्यसले पनि रुद्राक्षको व्यापारमा कमी आएको देखिन्छ । यसले व्यावसायिकरुपमा खेती गरिरहेका किसानलाई प्रत्यक्ष मार परेको छ ।”भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङ्टार नै हो । खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ तथा चीन र भारतमा समेत निर्यात हुने गर्दछ । यस्तै युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुने गरेको छ ।

भोजपुरमा रुद्राक्षको इतिहास हेर्दा विसं १९३२ भन्दा पहिले भारतको कासीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ छ । रुद्राक्ष धार्मिकरुपमा पनि प्रयोग गरिन्छ । एकमुखेदेखि २१ मुखेसम्मका रुद्राक्षबारे महापुराणमा वर्णन गरिएको दिङ्लाबजारका तोयानाथ गौतमले जानकारी दिनुभयो । रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको उत्पादन हुने गर्दछ । कालो रङको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै जुन रुद्राक्षमा प्वाल नपारिकन धागो छिराउन सकिन्छ त्यसलाई सबैभन्दा सर्वश्रेष्ठ मानिन्छ ।

षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको हेरचाह, गोडमेल तथा यसलाई प्रशोधन गर्नुपर्दछ । यसको खेती गर्दा अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने तथा राम्रो आम्दानी हुने भएकाले धेरै कृषकको रोजाइमा पर्दै आएको छ । रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानलाई यसको सुरक्षामा समेत समस्या छ । रुद्राक्ष समुन्द्री सतहदेखि एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिन्छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments