जडीबुटीको व्यापारबाट चलेको जीविका

कञ्चनपुर:कालीकोटको थिप्पु गाउँपालिका–१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडनुहुन्छ ।

झोला बोकेर हिँडनु उहाँका लागि रहर नभएर बाध्यता छ । पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उहाँले जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आउनुभएको छ । “हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर ल्याएर पहिला भारतमा बेच्थे”, उहाँले भन्नुभयो, “कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमा जस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु ।”

भारतमा हुँदा उहाँले दैनिक दुई हजार भारतीय रुपैयाँ जतिको कमाइ गर्नुहुन्थ्यो । भारतमा कोरोना महामारी फैलिएपछि घर फर्केपछि उहाँको कमाइ घटेको छ । दैनिक उहाँले हाल रु पाँच सयदेखि रु एक हजारसम्म मात्रै कमाइ गर्दै आउनुभएको छ ।

“व्यापारमा कमाइको कुनै ग्यारेण्टी हुँदैन”, उहाँ भन्नुहुन्छ, “व्यापार भनेको जुवाजस्तै हो, नसिव भए कमाइ हुन्छ, नभए हुँदैन, कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन ।” आज कमाइ भएन भनेर मन मार्नु हुँदैन, ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन सके, मन जित्न सके व्यापार नहुने कुरै छैन, त्यसका लागि धैर्य गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

जुम्लाबाट उहाँले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर रोकायाले बेच्दै आउनुभएको छ । जडीबुटीकै व्यापारबाट पाँच छोरा, दुई छोरीको घरको पूरै खर्च व्यहोर्दै आएको उहाँ बताउनुहुन्छ । “जडीबुटीकै व्यापारबाट दुई जना छोराललाई पढाउँदै छु”, उहाँले भन्नुभयो, “दुई जना प्रहरीमा भर्ती भएर जागीरमा लागेका छन्, एक जनाले कपडाको व्यापार गर्छन्, छोरीको पढाइ खर्च जडीबुटीकै कमाइबाट पूर्ति भइरहेको छ ।”

“बूढेसकालले छोप्नै लागे पनि घर बसेर हुँदैन, परिवार पाल्न व्यापारमा संलग्न भएको छु, दैनिक कैलाली र कञ्चनपुरका गाउँ र सहरमा डुलेर जडीबुटी बेच्छु, यसबाटै गुजारा चलेको छ”, उहाँले भन्नुभयो, “पहाडमा रहेको घर, जमिन भल पहिराले लियो, भारतमा कमाएको केही पैसा जोडेको थिए, त्यसबाट कैलालीको घोडाघोडी नगरपालिकाको गाउँमा घरबासका लागि जग्गा किनेर परिवार राख्नेसम्मको व्यवस्था मिलाएको छु ।”

घर खर्चका लागि प्रहरीमा रहेका र व्यापारमा संलग्न छोराहरूले सहयोग गर्दै आएको उहाँको भनाइ रहेको छ । उहाँ भन्नुहुन्छ, “जितना लुगुरा उतना जाडो, नहि लुगुरा नहि जाडो अर्थात् जति पैसा भए पनि पुग्दैन, थोरै पैसा भए पनि त्यसमै सन्तोष छ ।”

“भारत अर्काको देश हो, त्यहाँ डराएर व्यापार गर्नु पर्दथ्र्यो”, उहाँले कुरा अगाडि बढाउँदै भन्नुभयो, “यहाँ व्यापार गर्न डराउनु पर्दैन, भाषाको समस्या छैन, सबैले भनेको कुरा बुझ्छन्, कोही कोही जडीबुटी बेच्छाँै, लाइसेन्स छ भनेर हप्काउने पनि भेटिन्छन तर त्यस्ताको वास्ता गर्दैनौँ, आफ्नै तरिकाले व्यापार गर्छौँ ।”

राजबहादुर जस्तै बाजुरा स्वामिकार्ति गाउँका मनविरे लुहार पनि जडीबुटीको व्यापारमा संलग्न हुनुहुन्छ । पहिला मनविरेले भारतमा काम गर्थे । भारतमा कोरोनाको सङ्क्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्के । त्यसपछि भारततर्फ जान सकेका छैनन् । उहाँले रोकायाजस्तै गनानो, कटुको, चिराइतो, मालिस तेल, सिलाजित, हिमाली घोडामाच्यो, जम्बु, यार्सागुम्बा बेच्दै आएका छन् । “केही जडीबुटी हिमाली जिल्लामा आफैँ गएर खोजेर ल्याउँछु”, उहाँले भन्नुभयो, “केही जडीबुटी घरेलु उद्योगबाट किनेर बेच्छु, यसबाटै परिवारको खर्च चलेको छ ।”

भारतमा जडीबुटी यसैगरी बेच्दा रु तीस हजार जति महिनाको कमाइ हुने गरेको थियो । यहाँ जडीबुटीको व्यापारबाट मासिकरुपमा रु २५ हजार जति कमाइ हुने गरेको छ । दुई छोरा, दुई बुहारी, तीन नातिनातिना, तीन छोरी र बूढाबूढीको लत्ताकपडा, खाना खर्च यसै व्यापारबाट चलेको उहाँ निर्धक्कसँग बताउनुहुन्छ ।

“दुवै छोरालाई १२ कक्षासम्म पढाए रोजगार मिलेन”, उहाँले भन्नुभयो, “छोराहरूले मैलेजस्तै कम्बललगायतका न्यानो कपडा बजार बजार घुमेर बेच्ने गरेका छन्, त्यसबाट केही कमाइ हुन्छ, परिवार चलाउन त्यै भएर सहज भएको छ ।” जडीबुटीकै व्यापारबाट लुहारले कैलालीको बर्दगोरिया गाउँपालिकामा डेढ कट्टा जग्गा जोडेका छन् ।

उहाँ भन्नुहुन्छ, “पहाडमा जीवन चलाउन निकै कठिन छ, सहज जीवनयापनको खोजीमा व्यापारमा संलग्न भएका छौँ, घडेरी जोडेर झोपडी बनाई परिवार यहाँ ल्याएर राखेका छौँ ।” तीन दशकदेखि जडीबुटीकै व्यापारमा संलग्न कालीकोटको पलाँटा गाउँपालिका–३ लार्पाका हरिबहादुर रोकायाले महिनाको रु २५ हजार कमाइ गर्छन् । यसबाटै उहाँको परिवारको खर्च चलेको छ । “उमेर ढल्कदै जान थाले पनि यस व्यापारबाटै जीविका चल्दै आएकाले छोड्न सकेको छैन”, उहाँले भन्नुभयो । पहाडी जिल्लाबाट जडीबुटी बोकेर तराईका जिल्ला पुगेर व्यापार गर्नेको सङ्ख्या निकै रहेको छ । हिउँदका बेला पहाडी क्षेत्रबाट आउने व्यापारीमध्ये केहीले जडीबुटी र केहीले कम्बल, राडी, पाखी, स्वेटरलगायतका न्यानो कपडाको व्यापार गर्छन् ।

हिउँदको कात्तिक महिना तराई पुग्ने व्यापारीले वैशाख महिना सुरु हुनै लाग्दा आम्दानी गरेको पैसा बोकेर पहाडतर्फ फर्कने गरेका छन् । गतिलो कमाइ गर्नेले तराईमै घरघडेरी जोडेर तराईमै बस्नसमेत थालेका छन् । पहाडबाट तराई झरेर व्यापार गर्ने कार्य दशकौँदेखि चल्दै आएको छ । बूढापाकाले परम्परागतरुपमा गर्दै आएको व्यापारको कार्यलाई थाति राखे पनि युवाले भने पिठ्युमा भारी बोकेर गाउँ सहर चहार्दै गर्दै आएको व्यापार गर्न नरुचाउने गरेका छन् । युवा अरु व्यापार र सरकारी नोकरीमा आकर्षित भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments