नेपालमा पालिने भेडाका स्थानीय जातहरू
भेडाका जातहरू
(१) लामपुच्छ्रे भेडा
• लामपुच्छ्रे तराई क्षेत्रमा पाइने भेडा हो ।
• पुच्छर लामो भएकाले यसलाई लामपुछ्रे भनिएको हो ।
• यो विभिन्न रङ (सेतो, कालो वा टाटेपाटे) को हुन्छ । वयस्क थुमाको तौल ३० देखि ४० के.जी. सम्म हुन्छ भने भेडीको तौल २० देखि २५ के.जी. हुन्छ ।
• वार्षिक ऊन उत्पादन ५०० देखि ७५० ग्राम र यसको ऊन खैरो र खस्रो भएकोले सेतो ऊनसँग मिसाएर राडीपाखी र कम्बल बनाउन प्रयोगमा ल्याउने गरेको पाइन्छ ।
(२) कागे भेडा
• ३०० देखि १५०० मिटरको उचाइमा रहेको उपत्यका, भित्री मधेश तथा मध्य पहाडी क्षेत्रमा पालिदै आएको यो भेडाको टाउको काग जस्तो देखिने भएकाले यसलाई कागे भेडा भनिएको हो ।
• यो नेपालको सबैभन्दा सानो जातको भेडा हो। वयस्क थुमाको तौल २० देखि २५ के.जी. र भेडीको तौल १५ देखि २० के.जी. हुन्छ ।
• यो भेडा ऊन र मासुका लागि पाल्ने गरिन्छ । यसबाट वार्षिक ५०० ग्राम ऊन उत्पादन हुने गर्छ । खस्रो र कमसल खालको ऊन उत्पादन हुने भएकाले यसको ऊन राडीपाखी बनाउन प्रयोग गरिन्छ ।
(३) बरुवाल भेडा
• नेपालको उच्च तथा मध्य पहाडी क्षेत्रमा पालिदै आएको यो भेडाको संख्या सबभन्दा धेरै रहेको छ ।
• यसको रङ सेतो, कालो वा सेतो-कालो र थुमामा सिङ हुन्छ तर भेडीमा हुँदैन । बलियो शारीरिक बनावट र कठिन वातावरणमा बाच्न सक्ने गुणले यो भेडा लोकप्रिय छ ।
• वयस्क थुमाको तौल ३० देखि ४० के.जी. र भेडीको तौल ३० देखि ३५ के.जी. सम्म हुन्छ ।
• यो वर्षमा एक पटक ब्याउने र एक पटकमा १ पाठापाठी मात्र पाउने गर्छ। यो मासु र ऊन उत्पादनका लागि पाल्ने गरिन्छ ।
• यसको वार्षिक ऊन उत्पादन ७५० ग्राम छ । खस्रो ऊन उत्पादन हुने भएकोले यसको ऊन राडी, पाखी, कम्बल, लिउ, लुकुनी र खस्रो गलैँचा बनाउन प्रयोग गरिन्छ ।
४) भ्याङ्गलुङ्ग भेडा
• यो भेडा मनाङ, मुस्ताङ, डोल्पा तथा जुम्लाको २५०० मि. भन्दा माथिल्लो उच्च पहाड तथा हिमाली क्षेत्रमा पाइन्छ ।
• अत्यन्त न्यून संख्यामा रहेको यस भेडाको शारीरिक तौल २५ देखि ३५ के. जी.सम्म हुन्छ । यसले वार्षिक ७५० देखि ११०० ग्राम सम्म ऊन उत्पादन गर्छ ।
• मसिनो र नरम ऊन उत्पादन गर्ने भएकाले गलैँचा (कार्पेट) उद्योगका लागि यो भेडा महत्त्वपूर्ण मानिन्छ ।
• यसको ऊन मफलर, सल, पन्जा, टोपी, मोजा आदि बनाउन समेत प्रयोग गरिन्छ ।