कुमाल समुदायको पेशा लोप हुँदै

पर्वत: दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ ।

सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । विसं २०४२÷४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प खोज्न थालेका हुन् ।

उनीहरुले विकल्प खोजेसँगै माटाका भाँडामा कुमालले भर्ने कलात्मक बुट्टा लगायतका सिर्जनात्मक सीपसमेत लोप हुँदै गएको हो । जीजुबाजेका पालादेखि विसं २०४२÷४३ सम्म माटोका हुण्डा, घैँटो, गलौंसा, आरी, ठेकी, दियो, पाला, भुड्का लगायतका भाँडाकुडा बनाउँदै आएका कुश्मा नगरपालिका–८ निवासी छविलाल कुमाल, चन्द्रकोटे कुमाल, बमबहादुर कुमाल र दुर्गाबहादुर कुमाल यतिबेला हुनुहुन्न ।

उहाँहरुसँगै माटाका भाँडा बनाउने गरेका ९० वर्षका बुधे कुमाल भने हालसम्म जीवितै रहनुभएको छ । उहाँहरुको सीप र कला नयाँ पुस्ताले जीवित राख्ने कुरामा भने शङ्का गर्ने ठाउँ उब्जिएका छन् । परिश्रम धेरै गर्नुपर्ने तर परिश्रमअनुसारको मूल्य नपाइने भएकाले बाउबाजेको पेशा धान्न मुस्किल परेको छविलालका छोरा भीमबहादुरले बताउनुभयो ।

“माटाका भाँडा बनाउन माझमेलाबाट ल्याएको कालो चाम्रो माटो, खरेहा फलाम खानीको रातो माटो र कालीगण्डकीबाट ल्याएको बालुवा मुछेर, कुटेर चाम्रो बनाइ थमारेर आँैडी बनाइ पोल्ने गरिन्थ्यो, औँडीका लागि सुकेका दाउरा, गुईंठा, हाडेउन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ”, कुश्मा–८ निवासी ८० वर्षीय चन्द्रबहादुर कुमालले भन्नुभयो, “अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन् ।”

उहाँका अनुसार तत्कालीन समयमा कुमालले बनाएका माटाका भाँडा भोटबाट आएका भोटेले बास बसेर किनेर लग्ने गर्दथे । माटाका भाँडा स्थानीय गाउँघरमा केही मात्रामा बिक्री भए पनि ठूलो बजार भने भोटबाट आउने भोटेले नै गर्दथे ।

परिवारको सङ्ख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुने भएकाले पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेपछि यो पेशा झनै सङ्कटमा परेको भीमबहादुरले बताउनुभयो ।

तत्कालीन समयमा कुश्मेली कुमालको जग्गा–जमिन प्रशस्त भएको र आकर्षक कमाइ अन्य पेशाबाट हुने भएकाले उनीहरु यो पेशाप्रति लालायित हुन नसकेको उहाँले बताउनुभयो । पछिल्लो समय वैदेशिक रोजगारप्रति स्थानीय कुमाल समुदाय आकर्षित हुँदै गएकाले भाँडा बनाउने पेशासँगै उनीहरुको सीप, कला पनि लोप हुँदै गएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?