अचेल बिक्न छाडे डालो, नाङ्लो र ठेकी

ढोरपाटन: दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ÷दश बूढापाका र अर्धबँैसे युवा आफ्नै धुनमा देखिन्छन् ।

चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ ।

त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्नुहुन्छ । उहाँ हुनुहुन्छ जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक । पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन् । एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन । मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन् ।

डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ । झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ । दिनभरिमा दुई÷चार वटा डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ । मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन् । उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ । चार दिनमा आठ÷दशवटा डालो मात्रै बिक्री भएको विक बताउनुहुन्छ ।

उहाँ कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्नुहुन्छ ।
विक भन्नुहुन्छ, “चैते दसँै बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ ।”

उहाँहरुको टोलीले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन् । सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्नुहुन्छ । उहाँ बडिगाडबाट रु चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको बताउनुहुन्छ ।

चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको हेमबहादुर उल्लेख गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा ?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनून ।”

केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले त सानाठूला कुनैले पनि बजार पाएको छैन । आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उहाँको भनाइ छ ।

बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने बस्तुका रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु बिक्री नै नहुने उहाँको भनाइ छ । डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ ।

विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उहाँको भनाइ छ ।

अचेल ठेकी पनि बिक्दैनन्

त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राख्नुभएको छ । दुई दिनअगाडि ठेकीहरु लिएर यहाँ आउनुभएका उहाँ आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउनुहुन्छ ।
उहाँले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राख्नुभएको छ । ठेकीसँगै मदानी पनि छन् । सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरुको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बनाउनुहुन्छ । पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ ।

अशोक भन्नुहुन्छ, “अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ ।” उहाँले रु दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरु बिक्रीमा राख्नुभएको छ । पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरु प्रयोगमा आउन छोडेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments