जङ्गली तरकारी निगुरो बेचेर घरखर्च

चितवन:चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निगुराेलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै आउनुभएको छ ।

विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निगुरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झर्नुभएकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आउनुभएको थियो । सोे काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उहाँ निगुरो बिक्री गर्न थाल्नुभएको हो । “दैनिकी चलाउनकै लागि भए पनि निगुरो बेच्नुपरेको छ”, उहाँले भन्नुभयो ।

दैनिक १५ देखि ३० मुट्ठासम्म निगुरो बिक्री हुने बताउँदै विकले यही कमाइले घर र छोरालाई पढाउने खर्च पुगेको बताउनुभयो । “घामपानी नभनी जङ्गलमा गएर निगुरो टिपेर ल्याउनु पर्छ, दुःख छ”, उहाँले भन्नुभयो, “दुःखै गरेर भए पनि आफ्नो दैनिकी सहज रुपमा चलेको छ ।” ५० वर्ष पुग्नुभएकी विकले जङ्गलमा निगुरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फर्किइन्न कि जस्तो अनुभूति हुने गरेको बताउनुभयो । “अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु”, उहाँले भन्नुभयो ।

मासिक रू. तीन सयको टिकट काटेर सामुदायिक वनमा निगुरो टिप्न जानुपर्ने विकले सुनाउनुभयो । उहाँले भन्नुभयो, “ज्यानको बाजी थापेर निगुरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।” रू. एक सयको निगुरो किन्दा रू. १० सम्म भए पनि घटाएर लैजाने गरेको उहाँको गुनासो छ ।

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसक्नु भएको छ । उहाँको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आउनुभएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्नुहुन्छ ।

“अहिले उमेर ढल्किँदै गयो । अरु काम गर्न सकिदैन् । दिनभरि सडक छेउमा निगुरो, सालको पात र टुसा बेच्छु”, उहाँले भन्नुभयो, “सके आफैँ जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।” आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उहाँको भनाइ थियो ।

उहाँले गुनासो पोख्नुभयो, “चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन् भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग रू. १० मा चित्त नबुझे फालेर हिँड्छन् ।” सरदरमा दैनिक रू. एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आउनुभएकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निगुरो बेच्ने गरेको सुनाउनुभयो ।

भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निगुरो बिक्री गर्दै आउनुभएको छ । विगत छ महिनाअघि देखि यो पेसामा लाग्नुभएका तामाङ आफैँ निगुरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउनुहुन्छ । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्‍यो ।”

पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निगुरो बिक्री गर्न नपाइने बताउनुभयो । उहाँले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताउनुभयो । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निगुरो टिप्नका लागि अनुमति दिइने गरेको उहाँको भनाइ थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?