म्याग्दीमा स्थानीय जातका धानको उत्पादन बढ्यो

चैतेधान

गलेश्वर (म्याग्दी): म्याग्दीको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले यस वर्ष १७ मुरी स्थानीय जातका गौरिया र गुडुरा धान भित्र्याउनुभयो । सोही गाउँपालिकाको वडा नं ५ छिसबाङका विकल सेनले पनि गत वर्षकोभन्दा दुई मुरी बढी गौरिया धान थन्क्याउनुभयो ।

पौडेल र सेनमात्रै होइन स्थानीय जातका धानखेती गरेका म्याग्दीका धेरै किसान यस वर्ष उत्पादन वृद्धि भएकामा खुसी छन् । यहाँका किसानले लगाएका गौरिया, गुडुरा, आँगा, ताकुमारे, जौधानलगायत सात थरी रैथाने धानको उत्पादन वृद्धि भएको किसानको भनाइ छ ।

रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उत्पादन नभएपछि किसानले बजारबाट उन्नत जातका बीउ किनेर लगाउँदै आएकामा पछिल्ला तीन वर्षयता स्थानीय जातका धानखेतीमा यहाँका किसानको आकर्षण बढेको हो ।

हाइब्रिड (उन्नत) जातका बीउको प्रयोग बढ्दै गएपछि स्थानीय तहले रैथाने बाली संरक्षण र प्रवद्र्धनमा किसानलाई प्रोत्साहित गर्न थालेपछि आकर्षण बढेको मङ्गला–५ छिसवाङका टेकबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार यहाँका अधिकांश किसानले रैथाने धान खेती गरेका छन् । यसअघि किसानले उन्नत जातको बीउ प्रयोग गर्न थालेपछि स्थानीय जातका बाली लोप हुँदै गएको थियो ।

“गाउँघरमा पहिलेदेखि नै लगाउँदै आएका बाली लोप हुँदै जान थालेपछि यी बालीहरुको संरक्षण गर्नुपर्छ भन्ने लागेर २० मुरे फाँटमा गौरिया र जेठोबुढो धान रोपेका थियौँ”, छिरबाङका कृषक दमन पुनले भन्नुभयो । उत्पादन थोरै भए पनि पोषिलो र स्वादिष्ट हुने, धान र चामल महँगो मूल्यमा बिक्री हुने, पराल पर्ने भएकाले तीन वर्षदेखि स्थानीय जातको बीउ प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।

उन्नत बाली थोरै जग्गामा खेती गरे पनि धेरै उत्पादन हुने, रैथाने बाली पाँचरसात मुरी फल्ने जग्गामा उन्नत ३०र३५ मुरी फल्ने हुँदा जिल्लाका धेरै किसान उन्नत जातको धान बढी लगाउने गरेका छन् । जिल्लामा उन्नत जातका नयाँनयाँ बीउ आउन थालेपछि रैथाने जातका धान लगाउनेको सङ्ख्या कम हुन थालेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग र किराको सङ्क्रमण बढेको किसानको भनाइ छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै गएको मङ्गला–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो । बजारमा उन्नत जातका बीउ आउन थालेपछि रैथाने बीउ किसानले बिस्तारै लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

“रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग गरेका छौँ”, पौडेलले भन्नुभयो, “धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ ।” उहाँका अनुसार उत्पादनमा कमी, बढ्दो जनसङ्ख्या, जग्गा घट्दोलगायत कारणले किसानले धेरै फल्ने जातका धानखेती गर्न थालेका हुन् ।

रैथाने धानका लागि गाई, भैँसीको मल प्रयोग गर्ने र नयाँ जातमा युरिया मलको भरमा उत्पादन हुने भएकाले खेती गर्न सहज हुने गरेको कृषक बताउँछन् । उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यका लागि धेरै राम्रो मानिए पनि त्यसको खेती गर्नेको सङ्ख्या कम हुँदै गएको छ । रैथाने बालीमा प्रोटिन, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम पाइने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

धानमात्रै होइन म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुनेक्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका मङ्गला–५ का वडा सदस्य भूमिसरा बूढाथोकीले बताउनुभयो ।

करिब एक दशकअघिदेखि जिल्लाका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायत धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

आयातित बीउबिजनको प्रयोग गर्नेक्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काक्रा, घिरौँलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकैलगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।

म्याग्दीमा दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदो र तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धानखेती हुने केन्द्रले जनाएको छ । गौरीया, गुडुरा जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?