इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम

इलाम:सूर्योदय नगरपालिका–१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाएका छन् ।

“पहिलो दिन आलु रोप्न १५ जना खेताला भनेको छु, एकैपटक सबै खेताला भेटिँदैनन् । हप्ता दिनसम्म रोपेर सकिन्छ”, गोदाममा राखिएको बीउ आलु देखाउँदै उनले भने, “पहिलेपहिले त सयौँ मन रोपेको हो । तर अहिले काम गर्ने युवा विदेशतिर गए, पल्लो गाउँतिर पुगेर खेताला भन्नुपर्छ ।”

सन्दकपुर, माईजोगमाई, देउमाई, सूर्योदयलगायत माथिल्लो लेकाली क्षेत्रका किसानको मुख्य नगदेबाली आलु हो । मकै र अन्य बाली मासिन थालेपछि किसानले आलुमात्र लगाउन थालेका छन् । आलुखेतीले नै घर चलाउने, बालबच्चा पढाउनेजस्ता सबै खर्च धान्दै आएको किसान बताउँछन् । “एक मन बराबर कम्तीमा सात मन फल्छ । ८० मन रोप्दा साढे पाँच सय मन हराउँदै”, बुढाथोकीले भने, “बेच्नेबेला दुई हजार प्रतिमन हुँदा पनि ११ लाखजतिको कारोबार आलुबाट हुन्छ, खर्च कटाएर पनि वर्षमा पाँच लाखसम्म आम्दानी गरिन्छ ।”

सडक सञ्जालको सहज पहुँच नपुगे पनि भारतीय सीमा क्षेत्र मानेभञ्ज्याङ बजार पुग्न थुम्केबाट पैदल डेढ घन्टा लाग्छ । उत्पादन भएको आलु बिक्री गर्न बजार अभाव नहुने भएकाले बर्सेनि ठूलोमात्रामा आलुखेती गरेर यहाँका किसानले मनग्य आम्दानी गरिरहेका छन् । जिल्लाको तल्लो क्षेत्रमा बीउ बिक्री गर्न र बाँकी मानेभञ्ज्याङ बजारमा लगेर फुट्टा आलु बेच्न सकिने भएकाले व्यावसायिक आलुखेती गरिरहेका हुन् ।

यतिबला रोपेको आलु असार, साउनमा उत्पादन हुन्छ । चिसो ठाउँ भएकाले घरको गोदाममा थन्क्याएर राखेको आलु कुहिने डर हुँदैन । “केही बजार लगेर साउनमै बिक्री गर्छौं, आधाजति भण्डारण गरेर राख्छौँ ।” किसान सीता क्षेत्रीले भनिन् । असोज, कात्तिकमा तल्लो क्षेत्रका किसान लेकमा पुगेर त्यही आलु बीउका रुपमा खरिद गर्छन् । बेचेर रहेको आलु लेकतिर यो याममा रोपिन्छ । यसरी आलुबाट किसानले आर्थिक उपार्जन गरिरहेका हुन् ।

आलुसहित कोपी, मुला, चिराइतोलगायतका कृषिउपज यहाँ धेरै उत्पादन हुन्छ । उत्पादित कृषिउपजको बजार मानेभञ्ज्याङ हो । बजार नजिकै भए पनि ढुवानीमा यातायात समस्या छ । “कच्ची सडक भरपर्दो छैन । दुःखले माटोरसाइकल चलाउन सकिए पनि गाडीमा आलु ढुवानी गर्न सकिँदैन”, बुढाथोकीले भने ।

यातायातको साधन घोडा हो । प्रायजसो सबैको घरमा घोडा पालिएको हुन्छ । उत्पादित कृषिउपजलाई बजार पु¥याउन र त्यहाँबाट घरका लागि आवश्यक नुन, तेल, चामल, गाईबस्तुको लागि अन्न घोडामा बोकाएर ल्याइन्छ । यो ठाउँ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने क्षेत्र हो । यहाँबाट श्रीअन्तुमा जस्तै सूर्योदय देखिन्छ । भारतसहित तेस्रो मुलुकसम्मका पर्यटक रेडपाण्डाको अध्ययन अवोलकन गर्न आइपुग्छन् ।

पर्यटकका लागि होमस्टे बनाइएको छ । सडक नहुँदा सबै कुरा खल्लो भएको स्थानीय बताउँछन् । आलुलगायत खेती गर्ने किसानलाई सडक अभावको तीतो महसुस हुन्छ । “वर्षामा पहिरो जान्छ, घोडा नै पुर्छ, बाटोमा चिप्लिएर भिरमा भारीसँगै खसिन्छ कि भन्ने चिन्ताले खेतीको उपलब्धि पनि दिक्क लाग्दो हुन्छ ।” तीर्थका छोरा रमन बुढाथोकीले भने, “हामी विकासमा पछि परेका छौँ, अन्तुले घाम बेचेको छ । त्यहाँ देशविदेशका पर्यटक आउँछन् । उत्तिकै घाम देखिने थुम्के पुग्न भने सामान्य सडक बनाइएन । अरु त अरु रेडपाण्डाको संरक्षण गर्ने, प्रचारप्रसार गर्ने कुरामा कसैको ध्यान छैन ।”

विशेषगरी जिल्लाको उच्च पहाडी भेगका किसानले आलुको व्यावसायिक खेती गर्ने गरेका छन् । आलुको नयाँनयाँ जात उत्पादन गर्ने उद्देश्यले सरकारले जौ बारीमा आलुु विकास केन्द्र स्थापना गरेको छ । विशेष गरेर एमएस, डेजिरे, बिटे, सेतो आलुु तथा झ्यालेलगायत जातका आलु उत्पादन हुुने गरेको छ ।

लेकाली क्षेत्रका अधिकांश किसानले आलुलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । इलाममा बढी उत्पादन भएकै कारण ‘सात अ’ मा पर्ने आलु पनि एक हो । हिउँ पर्ने जमिनमा समेत फस्टाउने आलु छ हजार ८१५ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा खेती गर्ने गरिएको छ ।

कृषि ज्ञानकेन्द्र इलामका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ हजार नौ सय ९६ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । सो क्षेत्रफलमा एक लाख १७ हजार आठ सय ८३ मेट्रिकटन उत्पादन भएको ज्ञानकेन्द्रका कर्मचारी रुजन खड्काले जानकारी दिए । उनका अनुसार आलुको उत्पादकत्व १६ दशमलव ८५ हेक्टर छ ।

सङ्घीय कार्यक्रमअन्तर्गत यस वर्ष इलाममा आलु ब्लक विकास कार्यक्रम छ । यसका लागि फिल्ड भेरिफिकेसन र अनुगमन भइरहेको खड्काले बताए । पचास प्रतिशत साझेदारीमा १५ लाख बजेटमा चाँडै आलुको ब्लक क्षेत्र निर्धारण गरिने खड्काले बताएक छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?