अनुदानले जगायो व्यावसायिक खेतीको आशा, तर मल बोक्ने सास्ती उस्तै

रसुवा ।

रसुवाको डाडागाउँका महिला दिदीबहिनीहरू यतिबेला एकातिर रासायनिक मलको गह्रुङ्गो भारी बोकेर घण्टौंको उकालो ओह्रालो गर्न बाध्य छन् भने अर्कोतिर स्थानीय सरकारको सहयोगले उनीहरुमा कृषिप्रति नयाँ उत्साह थपिएको छ। गाउँका अधिकांश युवाहरू रोजगारीका लागि सहर वा विदेश पलायन भएपछि घरधन्दादेखि खेतीपातीको सम्पूर्ण जिम्मेवारी महिलाहरूको काँधमा आइपरेको हो।

डाडागाउँमा परम्परागत रूपमा मकै, फापरका साथै नगदे बालीका रूपमा अकबरे खुर्सानी, अदुवा, बेसार जस्ता बालीको राम्रो उत्पादन हुँदै आएको छ। यही सम्भावनालाई मध्यनजर गर्दै उत्तरगया गाउँपालिकाले महिला किसानहरूलाई अकबरे खुर्सानी, अदुवा र बेसारको बीउमा अनुदान उपलब्ध गराएपछि उनीहरू यी बालीहरूको व्यावसायिक खेतीतर्फ थप आकर्षित भएका छन्। अनुदानले हौसला थपे पनि उत्पादनका लागि आवश्यक मल ढुवानीको समस्या भने ज्युँका त्युँ छ। गाउँसम्म सडक सञ्जाल पुगे पनि नियमित र सहज रूपमा यातायातका साधन नचल्दा मल बोक्न घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय महिलाहरू बताउँछन्।

 

पुरुष जनशक्तिको अभावमा मल ढुवानीदेखि खेतबारीको सम्पूर्ण काम महिलाहरूले नै धान्नुपर्दा उनीहरुको दैनिकी थप कष्टकर बनेको छ। यो दृश्यले ग्रामीण नेपालमा महिलाहरूले भोग्नुपरेको श्रमको दोहोरो बोझ, युवा पलायनको असर र सीमित स्रोतसाधनका बीच पनि अवसरको खोजीमा जुट्ने उनीहरुको अदम्य साहसलाई प्रष्ट्याउँछ। स्थानीय सरकारको सानो पहलले आशा जगाए पनि पूर्वाधार र सहज ढुवानीको अभाव पूर्ति हुन सके महिला किसानको जीवनस्तरमा उल्लेख्य सुधार आउने देखिन्छ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?