कृषि प्रधान देशमा उल्टो गंगा: १० महिनामै भित्रियो ६४ करोडको कोदो

काठमाडौँ । नेपाल कृषि प्रधान देश भए तापनि चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा करिब ६४ करोड रुपैयाँभन्दा बढीको कोदो आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यो आश्चर्यजनक अवस्था देखाएको हो।

विभागका अनुसार, २०८१ साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा कूल ६४ करोड ३५ लाख २८ हजार रुपैयाँ बराबरको १२ हजार ८ सय ६० दशमलव २७ मेट्रिक टन कोदो विदेशबाट भित्रिएको छ। यस तथ्याङ्कले देशको कृषि उत्पादन र आत्मनिर्भरतामा गम्भीर प्रश्न खडा गरेको छ।

आयातित कोदोमध्ये अधिकांश खानका लागि प्रयोग हुने गरेको छ। तथ्याङ्कअनुसार, ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १२ हजार ८ सय ५६ दशमलव २० मेट्रिक टन कोदो आयात भएको छ। यसैगरी, बीउ प्रयोजनका लागि २ लाख २३ हजार रुपैयाँ मूल्यको ४ दशमलव ०७ मेट्रिक टन कोदो आयात भएको विभागले जनाएको छ।

उक्त परिमाणको कोदो आयात हुँदा सरकारले भन्सार शुल्कबापत ४ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

एकातिर सरकारले कृषि उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्ने नीति लिएको बताउँदै आएको छ भने अर्कोतिर कोदो जस्तो रैथाने बालीमा समेत परनिर्भरता बढ्दै जानु चिन्ताको विषय बनेको छ। यसले नेपालको खाद्य सुरक्षा र कृषि क्षेत्रको दिगो विकासमा चुनौती थपिएको सरोकारवालाहरू बताउँछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?